पछिल्ला सामग्री :
नारायणी उपक्षेत्रीय अस्पतालमा चरम लापरवाही


हिमालीयुवा डेक्सवीरगञ्ज, माघ १३/नारायणी उपक्षेत्रीय अस्पतालको अवस्था दिनदिनै खस्किदै गइरहेको छ । अस्पताल पूरै राजनीतिक क्षेत्रमा परिणत भएको छ भने डाक्टर, कर्मचारी, चिकित्सक र अस्पताल व्यवस्थापन समितिको चरम लापरवाहीका कारण सो अस्पतालले बिरामीहरूको विश्वास गुमाउँदै गइरहेको छ ।

अस्पतालमा कुनै पनि डाक्टर, चिकित्सकहरू समयमा नआउने, आए पनि काम नगर्ने, हाजिर गरेर निजी क्लिनिकमा बसेर रकम कमाउन तल्लिन रहेका छन् । प्रसूति शाखामा रहेका केही डाक्टरहरूले कमिशनको आधारमा प्रेसकिप्सनमा औषधि लेख्ने गरेका छन् । एउटा डाक्टरले लेखेको औषधि अन्य कुनै डाक्टरले बुझ्दैनन् ।

उनीहरूले भनेकै स्थानबाट औषधि नलिए अन्य ठाउँमा हतपति नपाइने र मेडिकलले समेत के औषधि लेखेको सो पनि बुझ्न नसक्ने गरी कोड अक्षरमा लेखेका हुन्छन्- वीरगञ्ज, मुर्ली- १५ निवासी अशोक साहले भने- अस्पतालमा भिडियो एक्सरे सेवा भए पनि त्यहाँ रहेका डाक्टरहरूले कमिशनका लागि निजी क्लिनिकमा बढी महङ्गोमा भिडियो एक्सरे गर्न लगाउँछन् ।

महिलाहरूको प्रसूति उपचारमा पनि चरम लापरवाही भइरहेको छ । पहिले नेपाल र भारतको रक्सौललगायत बिहारको विभिन्न गाउँबाट प्रसूति सेवाको लागि महिला आउने गर्दथे भने हाल वीरगञ्जलगायत नेपालका अन्य स्थानबाट आएका बिरामीहरू भारत, रक्सौलस्थित डङ्कन अस्पतालमा जानुपर्छ- वीरगञ्ज-१४ निवासी सनम लामाले भन्छन्- अस्पतालमा दक्ष डा., चिकित्सकहरूको अभाव छ ।

सुडेनीहरूलाई छोरा जन्मिए २ सय रुपैयाँ र छोरी जन्मिए १ सय रुपैयाँ नदिए बच्चाको मुखै हेर्नै दिदैनन्- एक गरिब महिलाले भनिन् -हुनेखानेले पो देला, हामीजस्तो गरिब मान्छेले कहाँबाट ल्याउने । बिरामीको हेरचाह गर्ने कुरुवा बस्ने बेञ्च कतै छैन । औषधि राख्ने टेबलको पनि त्यस्तै अवस्था छ । वार्डहरूमा रहेको मरकरी, ट्युवलाइट, चीमहरू बिग्रेर अस्पताल नै मलिन भएको छ ।

अस्पतालमा सरसफाइको स्थिति पनि त्यस्तै छ । अस्पतालमा रहेको शौचालयमा कतै चुकुल छैन, फोहोर त यति हुन्छ कि त्यसको दूर्गन्ध वार्डहरूमा फैलिएर बसि नसक्नु भएको एक बिरामी कुरुवा पर्सा, इनरुवा मनियारी निवासी नरेश सिंहले भने- अस्पतालमा यति लामखुट्टे छन् राति सुत्ने बेला मच्छरधुप, म्याट प्रयोग गर्नुपर्छ तर त्यसले पनि काम गर्दैन । ब्लड, युरिनलगायत अन्य टेस्ट गर्न दिइयो भने समयमै गर्दैनन्, २/३ दिन लगाउने गर्छन्- बारा, निजगढ, बागदेव निवासी एक शिक्षकले भन्छन्- यसबाट हामी बाहिरको मान्छेलाई गाह्रो पर्ने गरेको छ । अस्पतालको पश्चिममा रहेको दुइ कोठे शवघरको अवस्था पनि त्यस्तै छ । भुइँमै शव फालिएको हुन्छ । रगत, मासुको टुक्राहरू वरिपरि छरिएरहेको देख्न पाइन्छ ।
शवको पोष्टमार्टम डाक्टरले हैन आफूले नै गर्ने गरेको त्यहाँ कार्यरत एक परिचरले नाम उल्लेख नगर्ने शर्तमा बताए । त्यसैगरी वाताअनुकूल कोठाको व्यवस्था नहुँदा शवघरको दूर्गन्ध वरिपरि बस्ने गाउँ, टोलमा फैलिरहेकोसमेत बेलाबखत आवाज उठ्ने गरेको पाइन्छ । वीरगञ्जमा हुनेखाने वर्गले सो अस्पतालमा उपचार गराउनै नआएको अस्पतालमा कार्यरत एक कर्मचारीले भने- वीरगञ्जमा निजी क्लिनिक र अस्पतालमा राम्रो उपचार हुन्छ ।

अस्पताल वरिपरि चोर, पाकेटमार, दूर्व्यसनी र दलालहरूको बिगबिगी छ । काउन्टरबाट दिनहुँ बिरामी जचाउन आउने व्यक्तिहरूको पाकेटमारले पैसा चोरी हुने गरेको वडा प्रहरी कार्यालय, विर्तामा उजुरी परेको स्थानीय एक पीडित व्यक्तिले बताए ।

अस्पताल हाताभित्र पार्किङ गरिएको साइकलहरू चोरिने क्रम पनि बढिरहेको छ । केही दिन अघि मध्यरातमा एक चोरले सो अस्पतालमा पसेर बिरामीहरूको सरसामान र मोबाइल चोरी लगेका थिए । अस्पतालको पश्चिमपट्टी रहेको चापाकल कति औँ पटक चोरी भइसकेको छ । पानीटङ्की माथि बसेर दूर्व्यसनीहरूले लागूऔषध सेवन गरिरहेका देखिन्छन् । यसरी दिनपरदिन यस अस्पतालको ब्रि्रदो अवस्था हुँदासमेत अस्पताल प्रशासन एवम् विकास समितिसमेतले कुनै चासो दिएको पाइँदैन । यसतर्फ समयमा नै सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.