पछिल्ला सामग्री :
ब्युटिपार्लरहरू विषपुरुषका सम्पर्क केन्द्र !

“ल ! मलाई तिम्ले लाटी सम्झेका छौ कि क्या हो ?” सोफाको खुम्चिएको कुसन मिलाउँदै उसले भनी, “अमृता र मृदुला दिज्यूबाट तिम्रो क्षमताका बारेमा सब कुरा थाहा पाइसकेकी छु ।”
सुवास हाँसिरह्यो, टेलिभिजनको दृश्य हेर्दै । यद्यपि उसलाई आफूले विस्थापित गरेका र गर्नुपर्ने ती हिरो, गायक र मोडलहरू को–को रहेछन् भनेर जान्ने तीब्र जिज्ञासा उत्पन्न भइरहेको थियो ।
“भनेपछि तिमी मेरो माध्यमबाट कमिसन हात पार्ने गछ्र्यौ ?” उसले हाँसीहाँसी सोध्यो । तर त्यो हाँसोमा कटाक्ष मिसिएको थियो ।
तर उसले कटाक्ष थाहा पाइहाली । रिसाउँदै भनी, “कस्तो कुरा गर्छौ यार तिमी पनि ? तिमी मेरो साथी होइनौ ? एउटै छानामुनि बसेर तिमीसँग त्यस्तो गर्छु जस्तो लाग्छ ? कमिसन खानका लागि यो सहरमा अरू छँदैछन् नि, मैले तिम्रै माध्यमबाटै कमिसन खानुपर्छ....? के मलाई तिमीले व्युटिपार्लरका नखरमाउलीहरूजस्तै ठानेका छौ कि क्या हो ?”
ऊ छक्क पर्‍यो । व्युटिपार्लर चलाउनेहरूका बारेमा उसले नयाँ जानकारी पाएको थियो । जिज्ञासु पारामा सोध्यो, “व्युटिपार्लर चलाउनेहरूले पनि कमिशन एजेन्टको काम गर्छन् र ?” खासमा ऊ कुराको प्रसङ्ग अन्यत्र मोड्न चाहन्थ्यो, जेनीको रिस कम गराउनका लागि ।
“कस्तो बच्चाजस्तो कुरा गर्छौ यार तिमी ? काठमाडौंका नाम चलेका अधिकांश व्युटिपार्लरहरूको धन्दा नै त्यही हो । पार्लरको काम मात्रै गरेर त कति नै कमाइ हुन्छ र तिनेरको ? कतिलाई त सटरको भाडा तिर्न पनि पुग्दैन होला ।” उसले जोशिँदै भनी, “काठमाडौंमा बस्दै मात्र जाऊ न, यहाँका ‘मै हुँ’ भन्नेहरू क–कसले के गर्छन् भन्ने कुरा सबै थाहा पाउँछौ ।”
जेनी रिमोट समाएर टिभीको दृश्य परिवर्तन गर्न थाली । सुवास छक्क परिरह्यो ।
“पार्लर चलाउनेहरू त अधिकांश विवाहितजस्ता देखिन्छन् । तिनेरले त्यो काम गर्छन् होला त ?” केहीबेरपछि उसले अविश्वासको बल्छी फ्याँक्यो ।
“काठमाडौंका सम्भ्रान्त देखिन मन पराउने अधिकांश आइमाईका लोग्नेबाहेकका दुई–तीनवटा ब्वाइफ्रेन्ड हुन्छन् । अधबैंसे उमेरमा, बुढेसकालमा ब्वाइफ्रेण्ड बनाउने त फेसन नै भएको छ । यस्तो फेसन आउनुमा पार्लर चलाउनेहरूको मुख्य योगदान छ । उनीहरूले आफू कहाँ श्रृंगारका लागि आउनेहरूसँग नजानिदो पाराले पट्याउँछन् र व्वाइफ्रेन्ड भए नभएको कुरा पत्ता लगाउँछन् । छैन रहेछ भने बनाउनका लागि लोभ्याउँछन् । व्वाइफ्रेन्डबिनाको जिन्दगी बेकार हो भन्ने महसुस गराउँछन् ।” कपाल बाँधेको रबर फुस्काएर पुन: बाँध्दै उसले भनी, “अनि बनाउन पाए हुन्थ्यो भनेर रहर गर्न थालेपछि आफैँले सम्पर्क गराइदिनेसम्मको काम गर्छन् ।”
“यो त कामकाजी महिलाहरू माथि गम्भीर आरोप भयो यार ।” उसले आँखा जुधाएरै भन्यो, “पितृसत्तात्मक संस्कारमा सदिऔँदेखि जकडिएका महिलाहरू भर्खरभर्खर घर बाहिर निस्कन थालेका छन्, आत्मनिर्भरताको बाटो समात्न थालेका छन्, तिनेरुमाथि नै तिमीजस्तो सचेत र अग्रगामी महिलाले यस्तो गम्भीर आरोप लगाउन मिल्छ ?” बोल्दै गर्दा उसको अनुहारमा गम्भीरभाव प्रकट भएको थियो । त्यो बेला उसलाई सर्पले नै सर्पको खुट्टा देख्छ भन्ने लोकोक्तिको यादै आएको थिएन ।
“कस्तो कुरा गछौँ यार ! भएको कुरा कुरा भन्नलाई पनि केको डर ।” उसले रहस्य खोली, “खासमा मैले बिरालीहरूलाई पे–पार्टनर उपलब्ध गराइदिने काम सिकेको नै तिनेरुबाटै त हो नि ।”
सुवास छक्क पर्‍यो । निकैबेरसम्म त्यहाँ टिभी मात्रै एक्लै बोलिरह्यो ।
“एउटा कुरा । तिमीले गर्ने यो कामका बारेमा तिम्रो पत्रिकाको सम्पादकलाई थाहा छैन ?” निकैबेरपछि उसले सोध्यो ।
“त्यसलाई यस्ता कुरामा चासो नै छैन ।” उसले निर्धक्कसँग भनी, ”भ्रष्टाचार र अनियमिताका बारेमा हामी रिपोर्टरहरूले मरीमरी खोजेर ल्याएका हरेक समाचारमा ब्ल्याकमेलिङ गर्ने अनि प्रेसपासको आडमा ठेक्कापट्टा र तस्करीमा सहयोग पुर्‍याएर कमिसन हात पार्ने त्यो स्वाँठलाई त्यस्ता कुरा थाहा पाउने फुर्सद पनि छैन ।”
“तिम्रो आफ्नै सम्पादक पनि त्यस्तो ?” उसले विश्वास गर्न सकेन, किनकि उसलाई पत्रकारहरू असाध्यै आदरणीय लाग्थे । सधैँ अरूको खबरदारी गर्ने हुँदा यसलाई राज्यको एकमात्र निष्कलङ्कित अङ्ग सम्झेको थियो उसले ।
“मेरो सम्पादक मात्रै किन ? यो देशमा हुने बद्मासीको मामलामा ऊ भुसुनो बराबर पनि होइन । डाकाहरूका अघिल्तिर दुलेचोरजस्तो मात्रै हो ।” उसले ढुक्कसँग भनी, “हाम्रो देशका चर्चित भनिएका, बारम्बार टिभीमा अनुहार देखिनेहरूमध्ये अधिकांश बाहिर देखिएजस्ता छैनन् । इमानी भनिएकाहरू नै सबैभन्दा ठूला बेइमान छन् । मन्त्री पदमा पुगेकाहरू नै अपराध र तस्करीका अगुवा छन् । गृहमन्त्री नै खुलेआम रातोचन्दनको तस्करी गर्छन् । पुलिसले स्कर्टिङ गर्ने गाडीमा गैँडाको खाग, बाघको छाला, हाड आदिको ओसारपसार हुन्छ । चेलीबेटी बेचबिखन नियन्त्रणमा लागेर चर्चा कमाएकाहरू नै बेचबिखनका नाइके छन् । कमिसन नमिल्दा मात्रै बाटामा समात्ने गर्छन् । व्यापारीहरू कर्मचारीसँगको मिलेमतोमा खुलेआम राजश्व छल्छन् । न्यायालयमा बस्ने न्यायाधीशहरूले आफ्ना कर्मचारीमार्फत् कसरी घुस खान्छन् भन्ने सप्रमाण समाचार छापिँदा पनि कसैलाई कारवाही हुँदैन । जनतालाई निरीह ठान्ने लाज पचेका नकचराहरूको देश हो यो । अझ पत्रकारहरू त असी प्रतिशत बढी फटाहा छन् ।”
“त्यसको आधार चैँ के ?” सुवासले उसका कुरा पत्याउने छाँट देखाएन । उसको अनुहारतिर हेर्दै भन्यो, “प्रमाणविना आरोप लगाउन पाइन्छ र ?”
लगत्तै उसले टि–टेबुलमुनि रहेको केही महिनाअघि छापिएको हिमाल खबरपत्रिका निकाली र सुवासको सामु राखिदिई ।
छक्क पर्‍यो ऊ । “न्यायालयमा खुलेआम भ्रष्टाचार” शीर्षकको समाचारमा अदालतका कर्मचारीले कसरी घुस माग्छन् भन्ने कुराको संवादसमेत थियो ।
त्यै बेला उसको कोठमा मोबाइल बज्न थाल्यो ।
मोबाइलको आवाजको समेत बेवास्ता गर्दै ऊ फेरि बोल्न थाली, “साँच्चै भन्छौ भने यहाँका हरेक मान्छेको बाहिर देखिने अनुहारभित्र बेग्लै रहस्यमय अनुहार छोपिएको छ । बस्दै जाऊ न, सबै कुरा थाहा पाउँछौ..... ।”
लगत्तै ऊ आफ्नो कोठाभित्र पसी, फोन उठाउन ।
सुवास भने उसका कुरा पत्याऊ कि नपत्याऊ भयो । किनकि पत्याउनका लागि उसका सामू तथ्य प्रमाण थिएनन् । नपत्याऊ भने जेनीले आफ्नो अनुभव सुनाएकी थिई ।
ऊ बसेकै ठाउँमा सोचमग्न भइरह्यो ।

(कृष्ण अविरलको प्रकाशोन्मूख उपन्यास विषपुरुषको अंश)
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.