पछिल्ला सामग्री :
अस्पतालको जग्गामा गैरसरकारी संस्थाको रजाइँ

शम्भुराज रेग्मी
बाँके, मङसिर २७/नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालको जग्गा दस वर्षदेखि गैरसरकारी संस्थाहरूले कब्जा गरी आफ्नो व्यवसाय सञ्चालन गरी रजाइँ गर्दै आइरहेका छन् ।

एनसार्क नामक गैर सरकारी संस्थाले अस्पतालको पश्चिम-दक्षिण तिरको जग्गामा दुइतले भवन बनाएको छ । एनजीओ सञ्चालनका लागि सरकारी जग्गा अतिक्रमण गरेको उक्त संस्थाले नजिकै सटर बनाएर निजी औषधि पसलसमेत गरेको छ । अस्पतालको जग्गामा जबजस्ती कब्जा गरेर घर बनाएपछि संस्थालाई अस्पतालले घर खालि गर्नका लागि लिखित पत्रको समेत बेवास्ता गर्दै आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्यामसुन्दर यादवले सरकारी जग्गामा एनजीओले घर बनाएर व्यापार गर्न नपाइँने बताए । उनले भने- 'पत्र पठाएर खालि गर्न भन्दासमेत संस्थाले अटेर गरेको छ ।

पेशागत चिकित्सक सङ्घले पनि अस्पतालको भवानमा नियन्त्रण जमाएको छ । उसले अस्पतालका ६ ओटा सटर भाडामा लगाएको छ । सङ्घले १० वर्षभन्दा अघिदेखि सरकारी कोठा नियन्त्रण लिई १ लाख ८६ हजार ९ सय ९४ रुपैयाँमा भाडामा लगाएको अस्पताले जनाएको छ । यसले पनि खालि गर्न मानेको छैन । अस्पताल विकास सञ्चालन समितिका अध्यक्ष वेदप्रकाश आचार्यले भने- 'कोठा छाडन नमाने पनि २०५६ सालदेखि उठेको भाडाको आधा रकम सङ्घले अस्पताललाई बुझाउँने गरेको छ ।

त्यसैगरी मानवीय सेवाका लागि सञ्चालित रेडक्रसले समेत जग्गा कब्जा गरी दुइतले भवन बनाई होटल र अन्य व्यापार व्यवसायका लागि भाडामा दिएको अस्पतालले खुलासा गरेको छ । उक्त घरमा त्रिदेव गेष्ट हाउसलगायत अन्य होटलहरू सञ्चालनमा रहेका छन् । सरकारी जग्गा माथिको गैरकानूनी नियन्त्रण हटाउन अस्पतालले पटक-पटक यी निकायहरूलाई म्याद दिँदै आएको छ । रेडक्रसको रक्तसञ्चार केन्द्रलाई असर नपर्ने गरी अरु घर कोठा खालि गर्न ३५ दिने पूर्जी काटेको हो । अध्यक्ष आचार्यले भने-उसले पनि अटेर गरेको छ । उनले कति जमिन कब्जा गरेका छन् भन्ने तथ्याङ्क लिन बाँकी रहेको बताए ।

गएको शनिबार(२०६५/०८/२१ गते) बसेको सञ्चालन समितिको बैठकले यी सबै गैरसरकारी संस्थाले सरकारी जग्गामा बनाएका व्यापारिक भवन खाली गर्ने मङ्सिर महिना भित्रको पुनः म्याद तोकेको छ । अतिक्रमण र कब्जा हटाउन अन्तिम म्याद तोक्ने निर्णयमा प्रमुख जिल्ला अधिकारी गणेश खत्रीले समेत सहमति गरेकाले वर्षौदेखि सरकारी स्वामित्व माथिको नियन्त्रण हटाउन सकिने अपेक्षा अस्पतालले गरेको छ । अब पत्र काट्दैनौ खालि नगरे भवानमा ताला ठोक्छौ समतिका अध्यक्ष आचार्यले भने ।

तर, अस्पतालको भवन खालि गर्नु भन्ने पछिल्लो निर्णयलाई रेडक्रसले नमान्ने भएको छ । हामीले नाफा कमाएर खाएका छैनौ । रेडक्रस बाँके शाखाकी अध्यक्ष नर्वदा खनालले भनिन्- ब्लड ब्याङ्क चलाउन रगत पैसाले नपुग्ने हुदा भवन बनाएर भाडामा लगाएको हो । उनले नगरपालिका र नगर विकास समितिको जग्गामा भवन बनाएको दाबी गरिन । अनुमति लिएरै बनाएको हो उनले भनिन्- 'हामी त्यहाँबाट निस्कदैनौ ।' अस्पतालले भने यी सबै संस्थाले कब्जा गरेको जग्गा आफ्नै भएको जनाएको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.