पछिल्ला सामग्री :
पूर्वराजा ज्ञानेन्द्रको २०५९ असोज १८ को शाही घोषणा...!

प्यारा देशबासीहरू,नेपाल र नेपालीको बृहत्तर हित नै हाम्रो लक्ष्य हो । नेपालको राजसंस्था सदा लोकसम्मतिबाट सञ्चालित भएको इतिहास साक्षी छ, प्रजातन्त्रप्रतिको हाम्रो प्रतिबद्धता हामीले बारम्बार दोहोर्‍याई आएका छौं । हामी यसका आदर्शबाट सदा अनुप्राणित रहिरहने कुरा देशबासीलाई आश्वस्त गराउन चाहन्छौ । नेपाली जनताको सर्वोत्तम हित र समुन्नतिका लागि सदा समर्पित रहने शाहवंशीय परम्पराअनुसार विक्रम संवत् २०४६ सालमा जनचाहनाअनरूप देशमा प्रजातान्त्रिक बहुदलीय व्यवस्था पुनःस्थापना भएको सबैमा विदितै छ । यस व्यवस्थाको १२ वर्षको अवाधिमा प्रजातन्त्रको सुदृढीकरणका लागि विभिन्न प्रयोग हुँद आएको कुरा सबैका सामु छर्लंगै छ । यसै क्रममा प्रधानमन्त्रीको सिफारिसमा हामीबाट जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिबक्सी आगामी कात्तिक २७ गते नयाँ प्रतिनिधिसभाका लागि निर्वाचन गर्ने मिति तोकिबक्सेका थियौं । निर्वाचन सम्पन्न गराउने अभिभारा बोकेको प्रधानमन्त्रीले विद्यमान विषम परिस्थितिलाई दृष्टिगत गर्दा तोकिएको मितिमा नयाँ प्रतिनिधिसभाका लागि निर्वाचन हुन सक्ने अवस्था नदेखिएबाट संविधानको धारा ५३ को उपधारा ४ को कार्यान्वयन गर्न बाधा अड्काउ फुकाउन हाम्रा हजुरमा जाहेर गरेबाट संवैधानिक गतिरोध वा रिक्तताको असहज अवस्था देखापरेको छ ।

राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी हामीमा भएकाले हामीबाट प्रयोग भइआएको राजकीयसत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधानको मर्म र भावनाअनुरूप संविधानको धारा २७ को उपधारा ३ लाई समेत विचार गरी संविधानबमोजिम निर्वाचन समयमै सम्पन्न गर्न असक्षम प्रधानमन्त्री शेरबहादुर देउवालाई पदमुक्त गरी मन्त्रिपरिषद् विघटन गर्न र आगामी कात्तिक २७ गते प्रतिनिधिसभाका लागि हुने निर्वाचनसमेत स्थगित गर्नुपर्ने स्थिति आइपरेको छ । तसर्थ नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२७ बमोजिम देहायका आदेश जारी गरिबक्सेका छौं ।

निर्धारित समयमा निर्वाचन गराउन असक्षम प्रधानमन्त्री शेरबहादुर देउवालाई आज २०५९ साल असोज १८ गतेदेखि पदमुक्त गरिबक्सी मन्त्रिपरिषद् विघटन गरिबक्सेका छौं । प्रतिनिधिसभाका लागि कात्तिक २७ गते हुने निर्वाचन स्थगित गरिबक्सेका छौं । अर्को व्यवस्था गर्न केही समय लाग्ने हुँदा सो व्यवस्था नभएसम्म नेपाल अधिराज्यको कार्यकारी अधिकार हामीमा निहित राखी मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं । नयाँ मन्त्रीपरिषद् गठन गर्न पाँच दिनभित्र स्वच्छ छवि भएका तथा आमनिर्वाचनमा उम्मेद्वार नहुने व्यक्तिको नाम सुझाव गरी पठाई राजनीतिक दलहरूबाट सहयोग हुनेछ भन्ने विश्वास हामीबाट लिइबक्सेका छौं ।

संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्रप्रतिको प्रतिबद्धता एवं निष्ठामा हामी आँच आउन दिने छैनौं । अब बन्ने सरकारले यथाशीघ्र शान्तिसुरक्षाको व्यवस्था मिलाई निर्वाचन सम्पन्न गराउनेछ । यस व्यवस्थाबाट जंगी, निजामती र कुनै पनि राष्ट्रसेवकले आफ्नो जिम्मेवारी, काम र कर्तब्यबाट विचलित हुन वा अतालिनुपर्दैन । सबैले आ-आफ्नो कर्तव्य पालन गर्नेछन् र साथै सबै देशबासीको सदिच्छाबाट नै देशमा सबै कुराको सुव्यवस्था हुनेछ भन्ने हामीबाट पूर्ण विश्वास लिएका छौं ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।
जय नेपाल
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.