पछिल्ला सामग्री :
राष्ट्रपति सक्रिय बन्दै, दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौँ, २४ पुस/ आफूले दिएको समयसीमाभित्र दलहरूबीच सहमति हुने छाँट नदेखेपछि राष्ट्रपति डा. रामवरण यादवले दलका नेताहरूसँगको छुट्टाछुट्टै भेटवार्तालाई तीव्रता दिनुभएको छ ।

सहमतीय सरकार गठन गर्न दलहरूलाई पछिल्लोपटक दिएको पाँच दिनको समयसीमा सकिन २४ घन्टा मात्रै बाँकी रहँदा पनि दलहरू औपचारिक छलफलमा समेत नजुटेपछि राष्ट्रपतिले भेटवार्तालाई तीव्रता दिनुभएको हो ।

हिजो प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतसँग भेट गर्नुभएका राष्ट्रपतिले आज एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीलगायतसँग छलफल गर्नुभएको छ ।

आज बिहान शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई तत्काल सहमति गरी मुलुकलाई निकास दिन आग्रह गर्नुभएको छ । एकीकृत माओवादी ठूलो दल भएकाले सहमतिका लागि प्रमुख भूमिका माओवादीकै भएको उहाँको भनाइ छ ।

राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दलहरूलाई दिएको समयसीमा सकिँनै लाग्दा राष्ट्रपति यादले दलहरूबीच छलफल नै नभएको गुनासो गर्नुभएको स्रोतले जनाएको छ । जवाफमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले दलहरूबीच सकारात्मक रूपमा छलफल अघि बढिरहेकाले भोलिसम्ममा सहमति हुने जानकारी गराउनुभएको थियो ।

यसैबीच, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले तीन दलको हालीमुहालीका कारण देशले निकास पाउन नसकेको बताउनुभएको छ । राष्ट्रपति यादवलाई भेट्न बिहान शीतलनिवास पुग्नुभएका अध्यक्ष थापाले मधेसी मोर्चा र तीन दलले अब देशलाई निकास दिन नसक्ने भन्दै सम्पूर्ण दलहरूसँग परामर्श गरी निकास खोज्न राष्ट्रपतिसँग आग्रह गर्नुभएको हो ।

यस्तै, मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले राष्ट्रिय मुद्दालाई चार दलको निजी विषय नभएकाले राष्ट्रपतिले असफल मुलुक हुनबाट बचाउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक निकासका लागि तत्काल बलियो कदम चाल्नुपर्ने बताउनुभयो ।
IP