पछिल्ला सामग्री :
हत्यारालाई पक्राउ गर्दा प्रधानमन्त्रीको टाउको दुखाई



पत्रकार थापा हत्या प्रकरण ::
काठमाडौँ, २४ पुस/ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मानवअधिकारवादीको आडमा डेकेन्द्रराज थापाको हत्याका आरोपितलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।


१४ वर्ष अघि राज्यद्वारा वेपत्ता पारिएका गोरखाका राजेन्द्र ढकालबारे छोरी मन्जिलाले लेखेको पुस्तकको आज (मंगलबार) राजधानीमा विमोचन गर्दै प्रधानमन्त्री भट्टराईले द्वन्द्वकालका घटनामा मुद्दा नचलाउने विस्तृत शान्ति सम्झौताको मर्मविपरीत मानवअधिकारवादीको उक्साहटमा पक्राउ गरिएको भन्दै आपत्ति जनाउनुभएको हो ।


थापाको हत्याका आरोपीलाई पक्राउ गरिनुमा राज्यको कुनै संलग्नता नभएको प्रधानमन्त्रीको दाबी छ । प्रधानमन्त्री भट्टराईले द्वन्द्वकालमा घटेका घटनालाई मध्यननर गर्दै सरकारले बेपत्ता छानबिन र सत्यनिरुपण आयोग बनाउने तयारी गरी राष्ट्रपतिलाई सिफारिस गरे पनि स्वीकृत नगरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।


प्रधानमन्त्री भट्टराईले आफू सरकारको नेतृत्वकर्ता भए पनि चाहेजस्तो काम गर्न नसकेको बताउनुभयो ।


यसैबीच थापाको हत्या अभियोगमा पक्राउ परेकामाथि अनुसन्धान गर्न प्रशासनले ढिलाइ गरेको भन्दै दैलेखका पत्रकारहरूले आज जिल्ला प्रहरी कार्यालय दैलेखमा धर्ना दिएका छन् । पुनरावेदन अदालत सुर्खेतले अनुसन्धान प्रक्रिया अघि बढाउन दुवै कार्यालयका नाममा परमादेश जारी गरे पनि अनुसन्धान प्रक्रियामा ढिलाइ भएको भन्दै पत्रकारहरूले धर्ना दिएका हुन् ।


गएको पुस २० गते प्रहरीले किटानी जाहेरीमा उल्लेख भएका अभियुक्त लक्षीराम घर्तीमगरलाई पक्राउ गरिएको थियो । लक्षीरामको बयानै आधारमा अन्य चारजना हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो ।
IP