पछिल्ला सामग्री :
हाम्रो पसिना फिर्ता गर : नेकोन पीडित कर्मचारी I



 काठमाडौँ, २२ पुस/ नेकोन एयरका पीडित पूर्वकर्मचारीहरूले कम्पनीले आफूहरूलाई दिन बाँकी रकम तत्काल दिनुपर्ने बताएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरी पीडित कर्मचारीहरूले नेकोन एयरले काम गरेको पैसासमेत नदिएर गरिबको पसिना लुटेको बताए । तल्लोतहका कर्मचारीको एक वर्ष र माथिल्लो तहका कार्मचारी झन्डै दुई वर्षको तलब तथा भत्ता कम्पनीले नदिएको कर्मचारीहरूको भनाइ छ । तलब भत्ता, सञ्चयकोष, घरबिदालगायत गरी मासिक ३५ सयका दरले एक वर्षको रकम आफूहरूलाई उपलब्ध गराइदिन उनीहरूले सबैसँग आग्रह गरेका छन् ।

 तलब–भत्ता दिनका लागि कम्पनीलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नगरेको नेकोन एयर पीडित संर्घष समितिका अध्यक्ष वासुदेवप्रसाद उपाध्यायले बताउनुभयो । नेकोन एयरसँग लिन बाँकी तलबभत्ता मगिदिनका लागि प्रधानमन्त्री लगाएर अरू मन्त्रालयमा गए पनि कसैले वास्ता नगरेको पीडित कर्मचारीको गुनासो छ । प्रधानमन्त्री बाबुराम भट्टराइले तीन दिनभित्र रकम उपलब्ध गराइदिने वचन दिए पनि नौ महिना बितिसक्दा पनि कुनै उपलब्धि नभएको उनीहरूको भनाइ छ ।

 आफ्नो मिहिनेत उपलब्ध गराइदिनका लागि सिडिओदेखि सबै निकायसम्म पुग्दासमेत कुनै सुनुवाइ नभएपछि अन्तिम विकल्प स्वरूप पत्रकार सम्मेलन गरिएको पीडित कर्मचारी गोविन्दप्रसाद बस्ताकोटीले वताउनुभयो । नौ वर्षदेखि आफ्नो तलब पाउनका लागि संर्घष गरिरहे पनि अहिलेसम्म एक रुपैयाँ पाउन नसकेको कर्मचारीले बताएका छन् । माओवादीको सरकार आएपछि रकम पाउने आशा जागे पनि अहिले त्यो आशा विलिन भएको पीडित कर्मचारी कोमल रायमाझीले बताउनुभयो । 

‘माओवादीले मजदुरका पक्षमा केही गर्छ भन्ने लागेको थियो र भोट पनि उसैलाई दियौँ, तर अहिले हामीलाई दु:ख पर्दा हेरेको छैन ।’ रायमाझीले भन्नुभयो ।’ २५६ कर्मचारीलाई दिनुपर्ने झन्डै ६ करोड रकम नेकोन एयरले नदिएको उहाँको भनाइ छ । आफूले काम गरेवापतको पारिश्रमिक माग्न जादा नेकोनका प्रमुख दुई सञ्चालक दीपमणि राजभण्डारी र मुकुन्दभक्त श्रेष्ठले एक–अर्काप्रति सोझ्याउने र आफू बच्न खोज्ने गरेको पीडित कर्मचारीको गुनासो छ । अझ मुकुन्दभक्त श्रेष्ठले त प्रहरी प्रशासन नै बोलाएर जेल हालिदिने धम्कीसमेत दिएको पीडित कर्मचारी रामकृण्ण चौहानले बताउनुभयो ।

 श्रम विभागमा रिट हालेर श्रम विभागले पीडित कर्मचारीलाई पारिश्रमिक देऊ भनेर फैसला गरे पनि आफूहरूले तलब पाउन नसकेको उहाँको गुनासो छ । ‘नेपालमा हुने खानेहरूले मात्र न्याय पाउँछन्, साना र निमुखा जति नै पीडित बन्नुपरे पनि न्याय दिने निकाय रहेनछ,’ चौहानले आक्रोश पोख्नुभयो । ०४९ सालमा स्थापना भएको नेकोन एयर विविध कारण देखाउँदै ०६१ साउन ३० गते बन्द भएको थियो ।
IP