बलात्कृत गर्नेको पहिचान
नयाँदिल्ली, ६ बैसाख/ दिल्लीमा नेपाली युवती बलत्कार घटनामा संलग्नमध्ये दुईजनाको पहिचान भएको छ ।
दुवै नेपाली नागरिक रहेको र दिल्लीस्थित नेपालीहरूसँगको समन्वयमा प्रहरीले खोजी तीव्र पारेको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभयो । पाण्डेले युवतीको उपचार भइरहेको सफ्दरजंग अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बुझेका छन् ।
उहाँ बलात्कार भएको पुष्टि भएको उल्लेख गर्दै युवतीको चिन्ताजनक अवस्थामा उपचार भइरहेको जानकारी दिनुभयो । सिन्धुपाल्चोक घर भएकी युवतीमाथि बुधबार राति बलात्कार भएको थियो । साउथ एक्स्टेन्सननजिकैबाट अपहरणपछि बलात्कार भएको थियो ।
युवती बिहीबार बिहान नयाँदिल्लीस्थित नानकपुराको फ्लाइओभरमा अर्धनग्न अवस्थामा भेटिएकी थिइन् । घटनामा संलग्नमध्ये दुई नेपाली नै भएको जानकारी पीडित युवतीले दिएपछि खोजी तीव्र भएको हो । तीनजना संलग्न भनिए पनि अर्का एकजनाबारे स्पष्ट भएको छैन ।
भारतमा बलात्कारको घटना बढेपछि त्यसविरुद्ध कडा कानुनसमेत तर्जुमा गरिँदै छ । गत वर्षको अन्तमा एक युवती सामूहिक बलात्कारपछि मरणासन्न हुने गरी आक्रमणमा परेकी थिइन् । उनको सिंगापुरमा उपचारको क्रममा मृत्यु भएपछि महिलामाथि हुने हिंसाविरुद्ध आन्दोलन उठ्यो ।
दिल्ली महिलाका लागि असुरक्षित मानिन्छ । भारतका अन्य सहरहरूमा पनि बलात्कारका घटना बढ्दो छ । नेपाली महिलाहरूसमेत बलात्कृत भएका छन् । गत वर्ष नेपाली विद्यार्थी भारतमा बलात्कृत भएकी थिइन् ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.