पछिल्ला सामग्री :
यात्रामा निदाउन मजा लाग्छ

एकपटक कार कुदाइरहेको बेला पछाडि बसेको भन्ठानेर भुसुक्कै निदाएँछु । अगाडिको स्कुटर हावामा उडेपछि पो झस्केँ !
दौडेर उसको गोडामाथि लडेको स्कुटी उठाएँ ।
“ला..., मेरो अनुहारको सत्तेनास भयो होला !” रूँदै कराई ।
विष खाएझैँ नीलो भएको थियो अनुहार । डरले ।
‘कराउन सक्ने केटी पक्कै जिउँदो हुनुको प्रमाण हो ।’ सोचेर ढुक्क भएँ ।
‘यति राम्री केटी धन्न बाँचिछ !’ मनमा चल्यो ।
“फूल सकुशल छ !” अनुहार हेरेर भनेँ ।
“फूल ! कस्तो फूल ?” छक्क परी । गाडीले उसको स्कुटी उडाउने मै हो भन्ने थाहा लागेकाले रिसाएकी पनि थिई क्यार ।
“तिम्रो अनुहार ।”
“ऐरया नि आमा ! मेरो खुट्टा भाँचियो ! मरेँ । दुख्यो । ऐरया... !”
अनुहार जोगिएको थाहा पाएपछि खुट्टा भाँचियो कि भनेर रोई । खुबै पो रोई !
तमासे गुरूर्र आए ।
“आँखा छैन ?” पहिलो खस्रो स्वर आयो ।
“छन् ।” खस्रो स्वरतिर हेरेर भनेँ ।
“अनि किन हानेको ?” दोस्रो खस्रो स्वर जुरूक्क चढ्यो ममाथि ।
“निदाएछु ।”
“साला, गाडी कुदाउँदा निदाउने !” तेस्रो खस्रो स्वर उक्लियो मेरो टाउकोमा ।
भकुर्ने सुरसार पो गर्न थाले !
‘ऐरया...’
केटी खुट्टा दुखेर रोइरहेकी छे !
“खै छोड्नुस् ।” खस्रो बोल्न मुख तिखारिरहेको अर्कोलाई ठेलेँ । र, ठिटीलाई च्याप्प समाएर उठाएँ । बच्चालाई बोकेझैँ ।
तमासे छक्क परे ।
‘केटी त कति हलुका हुँदा रहेछन् !’ बोकेर गाडीमा लाँदै गर्दा सोचेँ ।
“जसलाई विवाद गर्न मन छ, हस्पिटल आउनू !” टाउको घुमाएर भनेँ ।
गाडीमा हुलेँ ।
हस्पिटलमा भर्ना गरेर उसका बाबाममीलाई फोन गरेँ ।
जस्मिन ।
हो, यही थियो ठिटीको नाम ।
साँच्चै जस्मिनझैँ सुन्दर थिई । मगमग बास्ना आउने ।
बाटुलो अनुहारमा सबैभन्दा आकर्षक थियो, उसले लाएको जुत्ताको हिलजस्तो चुच्चिँदै गएको नाक । र, त्यसमा लाएको नत्थी ।
म दैनिक पुग्थेँ उसलाई भेट्न हस्पिटल । फूलहरु लिएर ।
उसको सुन्दर अनुहार धपक्कै बल्थ्यो मलाई देखेर... । होइन होइन । फूल देखेर । मलाई देखेर पनि खुसी हुन्थी ।
“मेरो खुट्टा लागेन भने तिमीले मलाई बिहे गर्नुपर्छ ।” ऊ भनिरहन्थी ।
“खुट्टा लागे पनि गरौँला नि ।” जिस्क्याउँथेँ ।
“अहँ, मेरो ब्वाइप्रेmन्ड छ । खुट्टा लागे नगर्ने ।” अनि खितिति... ।
मकैका दानाझैँ पङ्क्ति मिलेका उसका दाँत हीराझैँ चम्कन्थे । आँखा झुक्थे । मानौँ, सुन्दर नाटक सकिएर पर्दा लाग्यो ।
एक दिन जस्मिनको ब्वाइफ्रेन्डसँग पनि भेट भयो ।
जिङग्रिङ्ग कपाल, ससाना कुइरे आँखा भएको त्यो केटो लावारिस थियो । उसको आवारा अनुहारले यही भन्थ्यो । गालाको भित्तामा एउटा बडेमानको कालो दाग थियो । मधेसमा गरिबको छाप्राको माटाले लिपेको भित्तामा गोबर सुकाएझैँ । उसको मुखबाट भट्टीको भाषा फुत्तफुत्त निस्किरहन्थ्यो । सर्पको जिब्रोजस्तो ।
मलाई देखेर ऊ निभेको अगुल्टो हुन्थ्यो, पतपती धूवाँ उडेको, कालो । मैले ल्याएका फूलका गुच्छाको सधैँ केही न केही कम्प्लेन गथ्र्यो । तर, आफू भने एक थुँगा पनि कहिल्यै ल्याउँदैनथ्यो ।
‘एउटी केटीले मन पराएर प्रेम गर्ने कुरा यसमा के होला ?’ त्यस आवारा अनुहारको प्रेमीलाई देखेपछि म सधैँ घोत्लिन्थेँ ।
जस्मिनको प्रेमीको अनुहार विसङ्तिको उत्कृष्ट उदाहरण लाग्यो मलाई ।
प्रेम गर्ने केटामा केटीहरु के हेर्छन्, मैले कहिल्यै बुझिनँ । अहिलेसम्म पनि रहस्यै छ ।
“तिम्रो ब्वाइफ्रेन्ड र तिमी त बकुल्लो र बकुल्लाको छायाजस्तै रहेछौ ।” एक दिन मैले जस्मिनलाई भनेँ ।
“हिहिहि ।” पङ्क्ति मिलेका दाँत टिलिक्क टल्के ।
हाँस्ता बच्चाझैँ लाग्थी । सत्र–अठार वर्षभन्दा बढ्ता थिइन पनि ।
बोली, “पहिलो पटक मैले मेरो ब्वाइफ्रेन्ड भनेर चिनाउँदा ममीले झन्डै बमिट गर्नुभएको ।” मुख छोपेर बेस्सरी हाँसी । निकै बेर । लाज पनि मान्दै थिई ।
फेरि भनी, “तर, ऊ मलाई प्रेम गर्छ । त्यसैले मैले रुप नहेरेकी ।” हाँसेकी हाँस्यै ।
“खै देखिँदैन त प्रेम ।” ओठ लेप्य्राएपछि कुम उचाल्दै भनेँ ।
“देखाउँदैन ऊ ।”
“प्रेम देखाउने होइन, देखिनुपर्छ ।”
“मतलब ?”
“यदि कोही तिमीलाई प्रेम गर्छ भने उसले नचाहेर पनि त्यो देखिन्छ । घना अँधेरी रातमा तिमी कोठामा बत्ती बाल र सारा झ्यालढोका लगाऊ, के बाहिरबाट थाहा हुँदैन भित्र बत्ती बलेको छ भनेर ?”
“त्यसो त थाहा हुन्छ ।”
“हो..., हृदयमा प्रेम छ भने त्यो बाहिर देखिन्छ । आँखामा । अनि हाउभाउ र व्यवहारमा ।”
“तर ऊ आफूलाई सात्र्र र कामुको चेलो ठान्छ । अस्तित्ववादी । औपचारिकता नरूचाउने ।”
“वादी नै भए यो पुष्कर लोहनीवादी हो । तर, यो केही वादी होइन । ‘गिन्सबर्ग’ को अवैध सन्तानजस्तो लाग्छ । केके तान्छ, कताकता जान्छ, यसो जासुसी गर्नु । जीवन नर्क बनाइदेला ।”
एक महिना हस्पिटल बसेपछि ऊ ठीक भई ।
ममीले हस्पिटलको सबै खर्च बेहोरेर जस्मिनलाई नयाँ स्कुटर किनिदिनुभयो । र, उसको परिवारलाई एक लाख रूपैयाँ पनि दिनुभयो ।
चकित !
ऊ मात्र होइन, उसको परिवार पनि ।
अलि दिन फोन गरी ।
अनि त्यो पनि छुट्यो ।
एउटा अन्तरालमा जस्मिनसँग मेरो फेरि भेट भयो ।
न्युरोडमा गाडी पार्किङ गरिरहेको थिएँ । जस्मिनलाई देखेँ ।
उसका आँखावरिपरि कालो देखेर म तर्सें ।
सस्ता लुगा लगाएकी थिई । मैला पनि । अलि कठोर बनेर भन्ने हो भने सडककी केटीजस्ती ।
उसले पनि मलाई देखी ।
हानेको काँड भएर मतिर आई ।
“तिमीले त्यस छायासँग बिहेसिहे गर्‍यौ कि कसो ?” आँखा जुध्नेबित्तिकै सोधिहालेँ ।
छेउमा आइपुगेकै थिइन ।
“कसरी थाहा पाउनुभयो ?” स्वाँक्क सिँगान तानेर भनी ।
“तिम्रो हुलियाले यसै भन्छ, चिच्च्याएर ।”
“हो ।”
“अनि ?”
“अहिले छुटिसक्यो ।”
“तर गिन्सबर्गको अवैध सन्तानले तिमीलाई त्यो सब सिकाएरै छोड्यो । सायद आजको डोज मिलेको छैन । तिम्रो अवस्थाले यसै भन्छ ।”
“हो ।” रून थाली ।
अहिले ऊ मबाट अरु केही होइन, एक डोज चाहन्थी ।
“म तिमीलाई आजको डोजका लागि मात्र पैसा दिन्छु ।”
आँखा झिमझिम पार्दै टाउको हल्लाई ।
फेरि भनेँ, “तिमी मेरोमा आऊ । म ममीलाई भनेर तिम्रो उपचार गराउनेछु ।” मैले वालेट झिकेर एक हजार दिएँ ।
कुलतले उसलाई गाँजिसकेको थियो ।
“मलाई घरबाट पनि निकाल्दे !” डाको छोडेर रून पो थाली !
मानिसहरु हामीतिर टाउको घुमाउन थाले ।
“यो सबै तिम्रो निर्णय कुशलताको अभावको परिणाम हो ।”
हुन त म यस्तो उपदेशसुपदेश लिनदिन मन पराउने मानिस त होइन, तर बोली फुट्तै गयो ।
“केही बिग्रेको छैन । तिमी आउनू । तिमीलाई अस्तित्वले फेरि एक पटक अवसर दिएको छ । निर्णय कुशलता देखाउन सक्यौ भने जस्मिन फेरि फुल्नेछ ।”
ऊ ट्वाँ परेर आँसु बगाइरहेकी थिई ।
मैले फेरि भनेँ, “मेरी ममी महान् हुनुहुन्छ । किन कि उहाँ डिकन्स्ट्रक्सनमा नभएर रिकन्स्ट्रक्सनमा विश्वास गर्नुहुन्छ । विनिर्माणमा होइन, पुनर्निर्माणमा ।”
मैले उसका गालामा हात राखेँ ।
क्रिम नलगाएर खस्रेका थिए ।
उसले आँसुको भेल बगाई ।
‘यी गाला फेरि मुलायम हुनेछन् । र, यी कलेँटी परेका ओठहरुमा फेरि गुलाबी कोमलता फर्किनेछ ।’ मैले सोचेँ ।
वास्तवमा उसको यस्तो हाल देखेर म आफैँलाई रून मन लागेको थियो ।
आँखा रसिला हुन थालेका थिए ।
थामेँ ।
“मलाई भोक पनि लागेको छ ।” मेरो हात च्याप्प समाएर भनी, “धेरै दिन भयो नखाको ।”
अब भने मेरा आँखा पनि बर्सिए ।
रोक्ने विचारले तल्लो ओठ टोकेँ । अहँ, सकिनँ । तपतप चुहिए केही थोपा आँसु ।
वास्तवमै म रोएँ उसका लागि ।
“यो हजारले पक्कै पनि तिमीलाई पुग्दैन, किन कि, एक डोज योभन्दा कममा पक्कै नआउला । हिँड ।” हाँसेँ ।
तमासा हुन लागि सक्या रैछ ।
मानिसहरु चारैतिरबाट हामीतिर दृष्टिको झटारो हानिरहेका थिए । सिधै । भद्र आँखाहरु भने लुकीलुकी ।
हामी क्याफे गयौँ ।
उसले उदेक लाग्ने गरी खाई । भोकाएको हुँडारले झैँ ।
मैले हेरेँ । हेरिरहेँ ।
“आइसक्रिम खान्छु ।” मुख पुछेर भनी ।
मगाएँ ।
आइसक्रिम आउँदै गर्दा एउटा ठूलो ‘ढ्याउ’ गरी ।
आयो ।
खायौँ, दुवैले ।
छुट्टियौँ ।
जाने बेलामा आँखा जुधे ।
मैले उसका आँखामा आशाको जूनकीरी बलेको देखेँ ।
‘जस्मिन फुल्छ ।’ सोचेँ ।
“जस्मिन फेरि फुल्छ ।” हिँड्ने बेलामा उसका गालामा हात राखेर भनेँ ।
ऊ हाँसी ।
मैले सबै घटना ममीलाई बताएँ ।
जस्मिनको कथा सुनेर उहाँ भावविह्वल हुनुभयो ।
भोलिपल्ट साँच्चि नै जस्मिन आई ।
ममीले उसको उपचारको व्यवस्था मिलाउनुभयो । रिह्याबमा राखेर ।
वर्ष दिन लाग्यो जस्मिनलाई पूरै अफिमको नशाबाट मुक्त हुन ।
पुरानै रुप र रङमा घर फर्केकी जस्मिनलाई पाएर उनका बाबुआमा मेरी ममीको खुट्टामा छाँद हालेर रोए । ‘ओइलायो’ भनेको फूल फेरि फुलेको देखेर उनीहरुमा भावनाको आँधीबेरी उठ्यो ।
“जस्मिनलाई प्रेम दिनुस् ।” मेरी महान् ममीले जस्मिनका बाबुआमालाई भन्नुभयो, “प्रेमकी भोकी छ यो केटी ।”
जस्मिनका बाबुआमा रोएका रोयै ।
फेरि भन्नुभयो, “याद राखौँ, केही वर्षहरु बिग्रेर, केही असफलताहरु छोएर, केही बाधाहरुसँग कुस्ती खेलेर, एकादुएक पटक गलत बाटाहरु हिँडेर जिन्दगी समाप्त हुँदैन । जहाँ तपाईं अब सारा कुरा सकियो भनेर जिन्दगीलाई बेवारिसे छोडेर भाग्न खोज्नुहुन्छ, त्यहाँबाट फेरि उठ्न सकिन्छ । माथि । धेरै माथि । म मृत्युका सुललित गीत गाउनुभन्दा नसधिएकै स्वरमा भए पनि जीवनका गीत गाउन मन पराउँछु । प्रेम र प्रेरणा दिनुहोस्, प्रतिभाहरु फुल्ने छन् । यिनलाई माया दिनुस् । जस्मिन फेरि फुल्नेछ ।” जस्मिनलाई धाप मार्नुभयो ।
आज जस्मिन पढिरहेकी छिन् ।
पुण्यप्रसाद प्रसाईको प्रकाशोन्मुख उपन्यास युद्धका डोबहरुबाट

IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.