पछिल्ला सामग्री :
विद्यालय भवनको निर्माणमा पारदर्शी

नेस्वससेको सहयोगमा
उदयपुर, फागुन १९/
आयोजनाहरूमा हुने अनियमितताले ठूलो चर्चा पाइरहेको बेला उदयपुरमा निर्माण गरिएको एक विद्यालयमा भने पारदर्शिताकै कारण आम सहभागीता जुटेको भन्दै कार्यक्रममा अतिथी र सहभागीहरूले प्रशंसा गरेका छन् ।

उदयपुरको बसाहा-१ स्थित अमलचौरीमा नवनिर्मित जनज्योति प्राथमिक विद्यालयको ६ कोठे विद्यालय भवनको आइतबार एक समारोहका बीच प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले उदघाटन गरे । उनले आयोजनाको लागत अनुसारको काम र सार्वजनिक लेखा परीक्षणले आफू प्रभावित भएको भन्दै तत्काल विद्यालयको अर्को भवन मर्मतका लागि शिक्षा समितिबाट योजना दिने बचनसमेत दिए ।

समुदाय सहयोग कार्यक्रमको १० लाख, बसाहा गाविसको ५० हजार र चालिसे देविथान सामुदायिक वनको ४० हजार तथा उपभोक्ताबाट सङ्कलित १ लाख ५० हजार गरी करिव १२ लाखको लागतमा दुइवटा विद्यालय भवन निर्माण गरिएको थियो । उदघाटन कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी अर्जुनकुमार थापाले योजना प्राप्त गर्नुभन्दा कार्यन्वयन प्रभावकारी हुनुपर्ने बताउँदै विद्यालय भवनको निर्माणमा गरिएको पारदर्शिताले जिविसलाई समेत पाठ सिकाएको बताए ।

सोही कार्यक्रमका जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राइले शिक्षाको उन्नतिका लागि सबै अभिभावकहरूलाई एकजुट भएर लाग्न आग्रह गर्दै भवन निर्माणमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरे । अधिकांश दलित विद्यार्थीहरू रहेको उक्त विद्यालयमा हाल ३ सय ९८ जना विद्यार्थीहरू अध्यायनरत छन् ।

कार्यक्रममा विद्यालय निर्माण तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने कर्णबहादुर राइ, कुमार खड्का, गजेन्द्रबहादुर राइ, नरबहादुर राइ, डम्बरबहादुर खड्का र मानबहादुर विकलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो । सहयोगी संस्था समुदाय सहयोग कार्यक्रमलाई भने कदरपत्र प्रदान गरिएको थियो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.