प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राष्ट्रका नाममा दोस्रो सम्बोधन...!

आठ राजनीतिक दलको सहमतिमा मधेसको आन्दोलनका क्रममा उठाइएका जायज मागहरू पूरा गर्न सरकार प्रतिबद्ध छ ।
संविधानसभाको निर्वाचन आगामी २०६४ जेठमा गर्ने हामी सबैको साझा सङ्कल्प हो । यसका लागि समान जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ ।
मधेसको जनसङ्ख्या प्रतिशतका आधारमा निर्वाचन क्षेत्र बढाइनेछ । साथै, त्यति नै सङ्ख्यामा समानुपातिक निर्वाचन प्राणालीबाट प्रतिनिधित्व हुने सङ्ख्या पनि बढाइनेछ । यसै गरी सङ्घीय लोकतान्त्रिक राज्य प्रणाली निर्माण गरी शासन प्रणालीमा मधेसी, दलित, आदिवासी, जनजाति, महिला, पिछडिएको क्षेत्र र वर्गलगायत सबै जनताको सहभागिता गराइनेछ । सङ्घीय राज्य प्रणाली र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी विषयहरू अविलम्ब अन्तरिम संविधानमा संशोधन गरी आवश्यक व्यवस्था मिलाइनेछ ।
मुलुकको राज्य संरचनाका सबै अङ्गहरूमा मधेसी, दलित, आदिवासी जनजाति, महिला, मजदुर, किसान, पिछडिएका वर्ग र क्षेत्र सबैलाई समानुपातिक समावेशीका आधारमा सहभागी गराइनेछ । नागरिकता प्रमाणपत्र वितरणको कार्य पूरा गरिनेछ । यसका लागि म सबै राजनीतिक दल नागरिक समाज एवं सम्पूर्ण जनसमुदायबाट सहयोगको अपेक्षा गर्दछु ।
मधेसी जनताले विगतका सबै जनआन्दोलनहरूमा सक्रिय एवं गौरवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । अहिले पनि आफ्ना मागहरूसहित आन्दोलनरत मधेसी जनताको भावनाको म सम्मान गर्दछु । अहिलेको आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका नागरिकहरू र सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, आगजनी, तोडफोड, लुटपाटजस्ता हिंसात्मक घटनाहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु । घाइतेहरूको समुचित उपचारको व्यवस्था मिलाउनाका साथै जिउधनको नोक्सानी र क्षति भएका परिवारहरूलाई उचित राहत सहयोगको व्यवस्था सरकारले मिलाउनेछ ।
अन्त्यमा, सबै आन्दोलनरत पक्षसाग आन्दोलन फिर्ता लिन अपिल गर्दछु तथा शान्तिपूर्ण वातावरणमा वार्ता र संवादका माध्यमबाट आ-आफ्ना माग एवं समस्याहरूको समाधान खोज्न म अनुरोध गर्दछु । मुलुकमा परम्परादेखि चलिआएका सामाजिक सदभाव, सहिष्णुता र मेलमिलाप कायम राखी लोकतन्त्रको संस्थागत स्थायित्वका निमित्त शान्तिपूर्ण वातावरणमा संविधानसभाको निर्वाचनको अभियानमा सहभागी हुन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्दछु ।
जय नेपाल
२०६३ माघ २४
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.