पछिल्ला सामग्री :
सुप्रसिद्ध साहित्यकार पारिजात...!

सुप्रसिद्ध साहित्यकार पारिजातको जन्म वि.सं. १९९४ वैशाख महिनामा लिंगिया चिया बगान (दार्जिलिङ) मा भएको थियो । पिताको नाम डा. के. एस. वाइबा र माताको नाम अमृत मोक्तान थियो । उहाँ माता-पिताको तेस्रो सन्तान हुनुहुन्थ्यो ।

लामाहरूको उहाँको छेकुडोल्मा नाम राखिदिएका थिए । उहाँको अर्को नाम विष्णुकुमारी वाइबा हो । तर साहित्यमा उहाँ पारिजात नामले चिनिनुभयो । सानैमा आमाको माया-ममताबाट बञ्चित पारिजात अध्ययनलाई अगाडि बढाउने उद्देश्यले वि।सं. २०११ सालमा काठमाडौँ आउनुभयो । विद्यालयस्तरको अध्ययन दार्जिलिङमा नै पूरा गर्नुभएकी पारिजातले पद्मकन्या कलेज (तत्कालीन पाटन विश्वविद्यालयअन्तर्गतमा) भर्ना भई मानविकी तथा समाजशास्त्रमा स्नातक गर्नुभयो ।

२०१६ सालमा स्नातकोत्तर (अंग्रेजी विषमा) गर्न थालेपनि तीन वर्षसम्म शिक्षण पेशामा संलग्न भई मदन मेमोरियल हाइस्कूलमा पढाउनुभयो । स्नातकोत्तर तह पूरा गर्न सक्नु भएन । शरीर कुँजिने रोगका कारण शिक्षण छाडी लेखन र स्वाध्ययन थाल्नुभयो ।पारिजातका प्रकाशित कृतिहरू - आकांक्षा (कविता संग्रह, २०१४), शिरीषको फूल (उपन्यास, २०२२), महत्ताहीन (उपन्यास, २०२५), आदिम देश (कथासंग्रह, २०२५), बैँसको मान्छे (उपन्यास, २०२९), तोरीबारी, बाटा र सपनाहरू (उपन्यास, २०३२), सडक र प्रतिभा (कथासंग्रह, २०३२), अन्तर्मुखी (उपन्यास, २०३५), उसले रोजेको बाटो (उपन्यास, २०३५-'बेदना' पत्रिकामा प्रकाशित), पर्खालभित्र र पर्खाबाहिर (उपन्यास, २०३२ मा लेखिएको र २०३५ मा प्रकाशित), अनिंदो पहाडसँगै (उपन्यास, २०३९), साल्गीको बलात्कृत आँसु (कथा संग्रह, २०४३), धूपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण, २०४३), पारिजातका कविताहरू (२०४४, ईश्वर बरालद्वारा सम्पादित), एउटा चित्रमय सुरुवात (संस्मरण, २०४५), परिभाषित आँखाहरू (उपन्यास, २०४६), बोनी (उपन्यास, २०४८), आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू, २०४८), बधशाला आउँदा जाँदा (कथासंग्रह, २०४९), वैशाख वर्तमान (कविता संग्रह, २०५०- मुत्युपछि प्रकाशित), अध्ययन र संघर्ष (संस्मरण, २०५१-मृत्युपश्चात प्रकाशित) आदि हुन् । २०२२ सालमा उहाँले शिरीषको फुल उपन्यासका लागि मदन पुरस्कार, २०३९ सालमा गंकी-बसुन्धरा पुरस्कार, २०५० सालमा बैंशालु वर्तमान कवितासंग्रहका निम्ति सर्वश्रेष्ठ पाण्डुलिपी पुरस्कार पाउनुभयो ।

२०४८ सालमा त्रिभुवन विश्वविद्यालय सभा सदस्यमा मनोनित, २०४८ सालमा त्रि.वि. द्वारा, २०४९ सालमा नेपाल तामाङ घेदुङ संघद्वारा, २०४९ मा 'जनमत' साहित्यिक मासिकद्वारा अभिनन्दित हुनुभयो । उहाँको उपन्यास शिरीषको फूलको अंग्रेजी अनुवाद ब्लु मिमोसा अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रममा समाविष्ट छ । पारिजात २०५२ साल वैशाख ५ गते काठमाडौँमा दिवंगत हुनुभयो ।
IP

1 comments

Write Down Your Responses

Thanks for Your comment.