पछिल्ला सामग्री :
कोइराला नाम फिर्ता लिन तयार : सुजाता


काठमाडौँ, २२ पुस/ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सहमतिको प्रधानमन्त्रीको रुपमा नाम दिनुभएका कांग्रेस सभापति सुशील कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा गरेकी छिन् ।
 
रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा उनले सभापति कोइराला कहिले पनि प्रधानमन्त्री पदको लागि इच्छुक नभएको स्पष्ट पार्दै नेकपा एमालेले दबाब दिएको कारण मात्र उमेदवारी प्रस्तुत गरेको बताइन् ।
 
नेतृ कोइरालाले नेपालको राजनीति एमाओवादी र काग्रेसको वरीपरी घुमेकोले यि दुई दल मिलेर नै मुलुकलाई निकास दिनु पर्ने सुझाव दिईन ।

कार्यक्रम प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार दवेन्द्र पौडेल सुनिलले अहिलेको सरकारलाई सहमतिको स्वरुप दिएर सबै वाधा फुकाएर निर्वाचनमा जानु नै अहिलेको लागि सबैभन्दा सहज उपाय भएको भन्दै पुस २५ गतेसम्म सहमति नभए संविधानसभाको पुन:स्थापनामा जानु पर्ने तर्क गरे ।

उनले भने, ‘धेरैको चाहना पनि पुन:स्थापना नै हो । फेरि यसले खर्च बचाएर मुलुकलाई निकास पनि दिन्छ ।’

नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले स्वतन्त्र व्यक्तिलाई नेतृत्व दिने र संविधानसभा पुन:स्थापनाको माओवादी प्रस्ताव बैशाखमा निर्वाचन नगराउने माओवादी रणनीति भएको आरोप लगाए ।
 
उनले भने, ‘दलीय व्यवस्थामा निर्दलीय प्रधानमन्त्री हुनै नसक्ने कुरा गरेर माओवादी निर्वाचन नगर्ने राणनीतिका साथ बढेको छ । दलीय व्यवस्थामा निर्दलीय समाधान हुनै सक्दैन ।’  ज्ञावलीले सहमति भएको भनिएको सात बुँदे सहमति नाटकमात्रै भएको भन्दै पार्टीमा होल्ड भएका प्रचण्डले मैले गर्न सकिन भनेर भन्नु सत्ता लम्ब्याउने रणनीति अन्र्तगत नै भनिएको दाबी समेत गरे ।

कार्यक्रममा नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले दलहरूवीच सहमति हुन नसके राष्ट्रपतिले जेठ १४ को संविधानसभा विघठन र नयाँ निर्वाचनको सरकारको घोषणालाई बदर गर्नु पर्ने बताए । उनले भने–त्यही कदमले संविधानका धेरै धारा निष्क्रिय बने यदि राष्ट्रपति संविधानको संरक्षक हो भने सरकारको कदम बदर गर्न सक्नु पर्छ ।
IP