अपडेट :: पत्रकार हत्या अभियोग लागेकालाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको आदेश I
दैलेख, २१ पुस/ आठ वर्षअघि हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेका मध्ये माओवादीका एक नेतालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत दैलेखले अनुमति दिएको छ ।

द्वारी गाविस–१ निवासी नेकपा–माओवादीका जिल्ला सदस्य लक्षीराम घर्तीमगरलाई जिल्ला सरकारी वकिल कार्यायलले बयान लिएपछि थप अनुसन्धानका पाँच दिनको म्याद दिइएको हो । पत्रकार थापापत्नी लक्ष्मीले ०६५ भदौ १२ गते घटनामा संलग्न आठजनाविरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।
चार वर्षअघि दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले हिजो (शनिबार) जयबहादुर शाही, लछीराम घर्ती, वीरबहादुर केसी, नीरक घर्ती र हरिलाल पुनमगरलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
किटानी जाहेरीमा नाम उल्लेख भएका अन्य तीनजना केशव खड्का, बमबहादुर खड्का ‘मुक्ति’ र बमबहादुर खड्का ‘अरुण’ भने फरार रहेको प्रहरीले जनाएको छ ।
थापाको तत्कालीन माओवादी कार्यकर्ताले ०६१ साउन २७ गते नेपाल राष्ट्रिय निम्न माविमा लगेर निर्घात कुटपिट गरी हत्या गरेका थिए ।
दैलेखको सुरक्षा व्यवस्था कडा
यसैबीच पत्रकार थापाको हत्यामा संलग्न केही आरोपीलाई प्रहरीले हिजो पक्राउ गरेपछि आज दैलेखको सुरक्षा व्यवस्था कडा पारिएको छ । तत्कालीन माओवादीबाट हत्या भएको आठ वर्षपछि प्रहरीले पाँच आरोपीलाई हिजो पक्राउ गरेको थियो । सेलाइसकेको घटनालाई प्रहरीले बल्झाएको भन्दै एकीकृत माओवादी र नेकपा–माओवादीले घटनाको विरोध गर्न थालेपछि सुर्खेतबाट थप प्रहरी बल मगाएर दैलेख प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको हो ।
हत्याका अन्य आरोपी बमबहादुर खड्का मुक्ति, बमबहादुर खड्का अरुण र केशव खड्कालाई पनि तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउनुपर्ने माग गर्दै स्थानीयले हिजो दिनभर जिल्ला प्रहरी कार्यालय दैलेखअगाडि प्रदर्शन गरेका थिए ।
दोहोरो प्रदर्शन र झडप हुनसक्ने भन्दै आज सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । ०६१ साउन १७ गते तत्कालीन माओवादीका कार्यकर्ताले पत्रकार थापाको हत्या गरेका थिए । नेपाल पत्रकार महासंघ शाखा कार्यालय दैलेखको पहल र मानवअधिकारवादीको सक्रियतामा ०६४ भदौमा थापाको शव उत्खनन् गरेर पीडित परिवारलाई जिम्मा लगाइएको थियो ।
![]() |


