आन्दोलनको स्वरूप मोडियो : कविरामको शव राजधानी ल्याइँदै
रुकुम, २४ पुस/ एक साताअघि हत्या गरीएका रुकुमको दुली गाउँ कार्यसमितिका सभापति कविराम खत्रीको शव काठमाडौँ ल्याइने भएको छ ।
खत्रीको हत्या गरिएको भन्दै एक सातादेखि आन्दोलित नेपाली कांग्रेस रुकुमले आन्दोलन गर्दै आएको थियो । खत्रीको शव आज साँझ गाडीबाट काठमाडौँ ल्याउन लागिएको नेपाली कांग्रेस रुकुम जिल्ला सभापति मानबहादुर नेपालीले जानकारी दिनुभयो ।
उहाँ खत्रीको शवलाई काठमाडौँ ल्याएर सिंहदरबारअगाडि राखेर आन्दोलन गर्ने बताउनुभयो । हत्याको विरोधमा राजधानी केन्द्रित आन्दोलन सुरु गर्न जिल्लातहमा आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
गत पुस १६ गते दुली–५ को राम्री जंगलमा खत्री मृत फेला परेदेखि कांग्रेस आन्दोलनमा उत्रिएको छ । नेपाली कांग्रेस रुकुमले जिल्ला तहका आन्दोलनका सबै कार्यक्रम स्थगित गरी राजधानी केन्द्रित आन्दोलन गर्नेसमेत जनाएको छ ।
कांग्रेसले फरक आस्थाका आधारमा मारिनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने, नागरिकको जीउधनको सुरक्षा हुनुपर्ने, मृतक खत्रीका हत्यारालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, खत्रीलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्नेलगायतका माग राखेर आन्दोलन सुरु गरेको हो ।
एकीकृत नेकपा माओवादीको निर्देशनमा सभापति खत्रीको हत्या भएको कांग्रेसको दाबी छ । यता एमाओवादीले भने खत्री हत्यामा आफ्नो कुनै संलग्नता नभएको भन्दै हत्याको पुष्टि गरेर देखाउन कांग्रेसलाई चुनौती दिँदै आएको छ ।
![]() |


