पछिल्ला सामग्री :
करोडौँ खर्च गरे पनि गाडी गुडेन

रोशन भण्डारी, बैतडी/ एडिबीको ऋण सहयोगमा जिल्लाका दुर्गम क्षेत्रमा सडक निर्माणमा संलग्न ड्रिलिपले करौडौँ खर्च गरे पनि त्यसको प्रभावकारिता भने शून्य देखिएको छ ।

पुचौँडी तथा पञ्चेश्वर सडकमा करौडौँ रकम ‘पानीझैँ बगाएको’ ड्रिलिपका ती योजनामा ‘आर्थिक अनियमितता’ हुँदा त्यसको प्रतिफल स्थानीयले उपभोग गर्न नपाएको गुनासो गरेका छन् । ती दुई सडकमा भmन्डै ४० करोड रकम खर्च हुँदा पनि पाँच किलोमिटरमा समेत गाडी गुड्न सकेको छैन । स्थानीय अहिले पनि पैदलै आउजाउ गर्न बाध्य छन् । राजनीतिक दल तथा कर्मचारीको मिलेमतोमा आर्थिक चलखेल हुँदा त्यसको प्रत्यक्ष फाइदा स्थानीयले नपाएको गुनासो गरे ।

ग्रामीण क्षेत्रमा पूर्वाधार विकासको माध्यमवाट गरिबी न्यूनीकरण गर्ने उद्देश्यले पाँच वर्षअघि जिल्लामा सञ्चालित ड्रिलिप कार्यक्रमले जिल्लाका अति दुर्गम ठाउँका दुईवटा सडक खन्ने जिम्मा लिए पनि पाँच किलोमिटरमा समेत गाडी नगुडेको हुँदा स्थानीय निराश बनेका छन् ।

जिल्लाकै बहुचर्चित पञ्चेश्वर तथा दुर्गम पुर्चौडी सडकमा हात हालेको ड्रिलिपले कर्मचारी तथा केही कांग्रेस, एमाले तथा माओवादी नेताहरूलाई समेत लाखौँ रुपैयाँ बाँडेर अनियमितता गरेको स्थानीयको दाबी छ ।

सडक डिभिजनले बनाएका सडक पनि आफूले बनाएको दाबी गर्दै आएको ड्रिलिपको उक्त कामलाई सडकका कर्मचारीले ‘गैरजिम्मेवार काम’को संज्ञा दिएका छन् । जिल्लाका अति दुर्गम पञ्चेश्वर र पुर्चौडी क्षेत्रलाई लक्षित गरी सडक पुर्‍याउने उद्देश्यले जिल्लामा ०६२/६३ देखि यो प्रोजेक्ट लागू भएको थियो ।

पञ्चेश्वरको सलेना–मैलौलीखण्डको १५ किलोमिटरमा ड्रिलिपले ०६२/६३ यता मात्रै झन्डै २० करोड खर्च गरिसकेको छ भने श्रीभावर हाट सडकखण्डको १५ किलोमिटरमा पनि २० करोड बढी खर्च गरिसकेको ड्रिलिप स्रोतले जनाएको छ ।

श्रीभावर हाट सडकखण्डको सुईलेक भटनाको १५ किलोमिटरमा एक किलोमिटरमा पनि गाडी गुडेको छैन । त्यस्तै पाटन पञ्चेश्वरको सलेना मेलौलीखण्डमा सडक डिभिजन कार्यालय पाटनले आफ्नो खर्चमा डोजर लगाएर यस वर्ष मात्रै पाँच किलोमिटरमा गाडी गुडाएको छ ।

पाटन सडक डिभिजन कार्यालयका सबइन्जिनियर लक्ष्मण जोशीका अनुसार ड्रिलिपले खनेको उक्त सडकखण्डमा डिभिजनले यस वर्ष आफ्नै लागतमा पाँच किलोमिटर गाडी गुडाएको बताए ।

दुई दशकअघि निर्माण थालिएको पाटन–पञ्चेश्वर सडकको कुल लम्बाइ ६३ किलोमिटर रहे पनि डिभिजनले केन्द्रबाट प्राप्त सरकारी अनुदानमा प्रत्येक वर्ष कछुवा गतिमा काम गर्दै आएको छ । सबइन्जिनियर जोशीले भने केन्द्रवाट थोरै रकम प्राप्त हुनुले सडकले गति लिन नसकेको बताए । ड्रिलिपले पाँच वर्षमा खर्चेको रकममा ६३ किलोमिटर सडक खन्न सकिने उनले दाबी गरे । जबकि पाटनदेखि पञ्चेश्वरसम्म जम्मा लम्बाइ ६३ किलोमिटर मात्रै हो ।

ग्रामण जीविकोपार्जन उत्थानका लागि एडिबीबाट प्राप्त सहयोग रकम कर्मचारीको मिलेमतोमा सिद्धिने गरेको उनले आरोप लगाए । यस्तै पूर्व जिल्ला विकास समिति सभापति परमानन्द भट्टले पनि जिल्लामा आएको ऋण सहयोगमा समेत खेलबाड भएकोप्रति आपत्ति जनाएका छन् ।

स्थानीयले प्राप्त ऋण सहयोगमा जिल्ला विकास समिति, ड्रिलिप कर्मचारी एवं राजनीतिक दलका नेताका लागि कमाउने माध्यम बनेको छ । ड्रिलिपले प्रत्येक वर्ष स्थानीय उपभोक्ता समिति र कोटेसनमार्फत काम गर्दै आएको छ । उपभोक्तामार्फत गर्ने काममा गत वर्ष सलेना मेलौली सडकखण्डमा एक करोडका औजार किनेको बिल देखाएर कर्मचारीले भुक्तानी लिएका थिए ।

उपभोक्तामार्फत गर्ने कार्यमा हाजिर बढी देखाएरसमेत कर्मचारीले रकम असुल्ने गरेको स्थानीयले आरोप लगाएका छन् । दुर्गास्थानका जगदीश शर्माले, १५ जनाको हाजिर भए पनि ३० जनाको बनाएर प्राविधिक एवं कर्मचारीले रकम खाने गरेको आरोप लगाए । गत वर्ष मात्रै सलेना–मेलौली सडकखण्डमा औजार खर्चबापत् एक करोड, उपभोक्तामार्फत दुई करोड, ग्याबिन खरिदमा दुई करोड र ठेक्कामार्फत लाखौँ खर्चेको ड्रिलिपले लक्ष्यअनुसार काम नगरेपछि स्थानीय आक्रोशित भएका छन् ।

स्थानीय तारा चन्दले एडिबीको सडकमा व्यपापक अनियमितता भएको बताए । उनले भने, ‘कामै नगरी बिल भरपाई देखाएर रकम खाने काम भइरहेको छ ।’ ड्रिलिपका लेखापाल विष्णुदत्त भट्टले आफूले प्राविधिकको सिफारिसमा भुक्तानी गरेको बताउँदै आफू दोषबाट पन्छिन खोजेका छन् ।

ड्रिलिपका इन्जिनियर नारायण केसीले पनि अनियमितताबारे अनविज्ञता जनाए । उनले भने, ‘तत्कालीन इन्जिनियरले गरे मलाई थाह छैन ।’ आफैँ कार्यक्रमको जिम्मा लिएका उनले यसरी पन्छिदै गैरजिम्मवेरिपन देखाएका हुन् । ‘मेरो कार्यकालमा त्यस्तो भएको छैन्,’ उनले भने, ‘पहिलाको कुरा मलाई थाहा भएन ।’
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.