पछिल्ला सामग्री :
बागमती सफाइमा सरकारी अधिकारी

काठमाडौँ / बागमती नदी सरसफाइ तथा संरक्षण अभियान २०६९ अन्तर्गत सरकारी अधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूले बागमती नदी सफाइ गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटा, सहरी विकास मन्त्रालयका सचिव किशोर थापा, फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रकी निर्देशक डा. सुमित्रा अमात्य, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्यसचिव इन्जिनियर गजेन्द्र ठाकुर, पूर्ववातावरणमन्त्री गणेश साह, नागरिक अगुवा डा. किशोर राजभण्डारी, एनआरएन अमेरिकाका अध्यक्ष प्रह्लाद केसीलगायत सयौँ मानिसले शनिबार बागमती सरसफाइ गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जनचेतना फैलाउन आवश्यक भएको बताए । बागमतीको फोहोरको विषयमा राजनीति गर्ने नेताहरूले सोच्न आवश्यक भएको उनले औल्याए । बागमतीमा सुधार हुन समय लागे पनि सम्भव भएको उनले बताए ।

पशुपति क्षेत्र सफा राख्न राज्यले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । बागमती सफा राख्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्रोत–साधन दिन सरकार तयार रहेको बताए । एक चरण बागमती नदी सफा भइसकेको भन्दै उनले अर्काे चरणमा आवश्यक ठाउँमा नयाँ योजना ल्याएर भए पनि बागमतीलाई सफा गर्ने बताए ।

पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले बागमतीलाई सफाइ राज्यले गरेन भनेर राज्यप्रति परनिर्भरता हुने अवस्थाले गर्दा समस्या समाधान हुन नसकेको बताए । ‘बागमती सफाइमा पर निर्भरता भयो,’ उनले भने, ‘नेपालको सबैभन्दा ठूलो स्रोत पानी हो, यसको सदुपयोग गर्नसक्नुपर्छ, यो नागरिको दायित्व पनि हो ।’ नदी सफाइका लागि यथोचित बजेट ल्याउन र त्यसलाई पारदर्शी बनाउन उनले सरकारलाई सुझाब दिए । नेपालको सबैभन्दा ठूलो स्रोत पानी भएकाले त्यसलाई सफा राख्न आवश्यक भएको उनले बताए ।

फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रकी निर्देशक डा. अमात्यले ०६८ फोहोर मैला व्यवस्थापन ऐन बनिसकेकाले जथाभावी फोहोर फाल्नेलाई कारवाही हुने बताइन । एनआरएन अमेरिकाका अध्यक्ष प्रल्हाद केसी र एनआरएन ग्लोबलका उपाध्यक्ष रामेश्वर शाहले अमेरिकामा बसे पनि बागमती सफा गर्ने दायित्व नेपालीको हुने बताए । व्यापारमा मात्र नभई बागमती सफाइमा समेत सहभागिता जनाउने केसी र शाहले प्रतिबद्धता जनाए । एनआरएनका उपाध्यक्ष नेपालको विकासका लागि सहयोग गर्न तयार रहेको उनीहरूले बताए ।

हजारौँ युवा स्वयंसेवकहरूलाई बागमतीमा उपस्थित गराएर जनचेतना फैलाउन थालेको आयोजक ग्लोबल पिस एसोसिएसनका अध्यक्ष डा. किशोर राजभण्डारीले जानकारी दिए । कुनै वेला बागमतीको पानीले नुहाएको र अहिलेको अवस्था देखेर दु:ख लागेपछि सफाइको अभियानमा होमिएको उनले स्मरण गरे ।

यस वर्षभित्र बागमती नदीलाई फोहोर मैलाबाट भौतिक रूपमा सफा राख्ने शहरी विकास मन्त्रालयको कार्ययोजनामा सहयोग पुर्‍याउन ग्लोबल पिस एसोसिएसन नेपालले गुह्येश्वरी क्षेत्र र तीनकुनेदेखि शंखमूलसम्मको बागमती क्षेत्र सफा गर्ने जानकारी पनि दिए ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.