विद्याको ‘नीलो तृष्णा’ सार्वजनिक
काठमाडौं/ कथाकार विद्या सापकोटाको पहिलो कथा संग्रह ‘नीलो तृष्णा’को प्रिन्टबुक र ई–बुक शनिबार सार्वजनिक भएको छ ।
राजधानीको मिक्किज फ्यामिली रेस्टुरेन्टमा साहित्यकार हरि अधिकारी, किशोर पहाडी, प्रतीक ढकाल, नयनराज पाण्डे, दीपककुमार खड्का र करुण थापाले संयुक्त रूपमा संग्रहको प्रिन्टबुक सार्वजनिक गरेका हुन् । संग्रहको ई–बुक साहित्यकार अधिकारीले सार्वजनिक गरेका थिए ।
कथाकारसमेत रहेका समीक्षक हरि अधिकारीले विद्याको कथामा सकारात्मक सोच आदर्शवादी होइन, व्यवहारिक ढंगले आएको बताए । नयाँ पुस्ताले भोगिरहेको समयको जटिलतालाई विद्याले राम्ररी समेटेको भन्दै अधिकारीले नगर जीवनको अधिकांश विषय उनको कथामा आएको दाबी गरे । उनले भने, ‘उनी सहरी जीवनको वास्तविकताप्रति सचेत छिन् । उनको कथामा सहरीकरणले आजका मानिसबीच बनेको असहज सम्बन्धलाई राम्ररी उतारिएको छि ।’
कार्यक्रममा साहित्यकार दीपककुमार खड्काले अहिलेको समय लेखकका लागि स्वर्णयुगको प्रवेशद्वार भएको बताए । नेपालमा ३२ लाख पाठक रहेको दाबी गर्दै उनले लेखक त्यसमध्ये एक प्रतिशत पाठकमा मात्रै पुगे पनि निकै सफल हुने धारणा व्यक्त गरे । त्यसका लागि लेखकले गुणस्तरीयतामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । सापकोटाको कथा सम्पादनमा समेत संलग्न खड्काले उनी राम्रो सम्भावना रहेको कथाकार भएको बताए ।
कार्यक्रमका सभापतिसमेत रहेका साहित्यकार प्रतीक ढकालले अक्षरको समष्टि नै विद्या हो भन्दै विद्याले आफूलाई अक्षरमा अभिव्यक्त गरेकोमा खुसी व्यक्त गरेका थिए ।
सापकोटाको कथा संग्रहको प्रिन्टबुक शब्दहार क्रियसनले प्रकाशन गरेको हो भने पाण्डुलिपि बुक्सले इबुकको व्यवस्थापन गरेको छ ।
![]() |






0 comments
Write Down Your Responses
Thanks for Your comment.