पछिल्ला सामग्री :
५० रुपैयाँको लोभ देखाएर बालिका बलात्कार

दोलखा/ दोलखाको दुर्गम झ्याकु गाविसमा १२ वर्षीया बालिकालाई ५० रुपैयाँ दिएर पटकपटक बलात्कार गरेको खुलेको छ । लामीडाँडा-७ घर भई झ्याकु बस्ने ५३ वर्षीय पुण्यप्रसाद ढुंगेलले बालिकालाई बलात्कार गरेका हुन् ।

उनले बालिकालाई ५० रुपैयाँ दिएर पहिलोपटक गत १७ फागुनमा बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनले १७ चैतमा आफू बसेको घरमा नै ल्याएर बलात्कार गरेका थिए । तर, त्यतिवेला स्थानीयले उनलाई रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएपछि पटकपटक बलात्कार गर्ने गरेको खुलेको हो ।

ढुंगेल झ्याकु गाविसमा पुरोहित काम गर्छन् । प्रहरीले ढुंगेललाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । ढुंगेलले प्रहरीसँगको बयानमा आफ्नो अपराध स्वीकार गरिसकेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

दोलखामा गत साउनयता मात्र चार बालिका बलात्कृत भएका छन् । चारैजना १२ वर्षमुनिका छन् । पछिल्लो तीन महिनायता मात्रै तीन बालिका बलात्कारको सिकार भएका छन् । दुई बालिका आफन्तबाटै बलात्कृत भएका छन् । अन्य दुई छिमेकी र पुरोहितबाट बलात्कृत भए ।

उत्तरी दुर्गम सुरी गाविसकी एक सात वषर्ीया बालिका १९ माघमा बलात्कारको सिकार भएकी थिइन् । ती बालिकालाई अभिभावक नभएको अवस्थामा फकाईफुल्याई स्थानीय किशोरले बलात्कार गरेका थिए । प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले बालिका बलात्कारको अभियोग लागेका सुरी-७ का १५ वर्षीय सुभाष तामाङलाई पक्राउ गरी अनुषन्धान सुरु गरिएको जानकारी दिए । कक्षा ५ मा पढ्ने ती किशोरले ७ वर्षीया बालिकालाई बलात्कार गरेपछि स्थानीयले गाउँमै मुद्दा मिलाउने प्रयास गरेका थिए ।

त्यस्तै, २५ माघमा भीमेश्वर नगरपालिका-११ की चार वर्षीया बालिका नाताले मामा पर्नेबाट बलात्कृत भएकी थिइन् । सो घटनाका अभियुक्त सोही ठाउँका १९ वर्षीय गुम्बे भनिने दिवाकर चर्माकार (सार्की) अदालतको आदेशबमोजिम अहिले पुर्पक्षका लागि थुनामा छन् । मामाघर आएकी चार वर्षीया बालिकालाई बाख्रा चराउन जाऔँ भनी लगेर बलात्कार गरेको दोलखा प्रहरीले जनाएको छ ।

चर्माकारले बजारबाट अश्लील चलचित्रको भिडियो लगेर हेरेको र त्यसपछि यौनइच्छा पूरा गर्न बालिकालाई बाख्रा हेर्न जाऔँ भनी जंगलमा लगेर जबर्जस्ती गरेको प्रहरीलाई बयान दिएका थिए । यस्तै, ३१ साउनमा जिल्लाको दक्षिणी मालु गाविसमा स्थानीय २१ वर्षीय युवकबाट ९ वर्षीया बालिका बलात्कृत भएकी थिइन् ।

बलात्कारको सिकार भएका पीडित बालिका सामान्य परिवारका हुन् । पीडित बालिकाका अभिभावकको आर्थिक अवस्था कमजोर भएका कारण पीडकलाई कानुनी दायरामा ल्याउनसमेत कठिनाइ भएको गुनासो छ ।  बलात्कृत भएका बालिकामा मानसिक रूपमा गम्भीर असर परे पनि आवश्यक उपचार र काउन्सेलिङसमेत हुन सकेको छैन ।
Nayapatrika
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.