एउटा कालो रात !(सत्य कथा )
यस्तै मङ्सिर अन्तिम तिरको समय हुँदो हो,महिनौ झरी बादलको बन्धनबाट मुक्त आकाशले घुम्टो उघारेर धर्तीभरि उज्यालो छरिरहेको थियो मेरा चंचल भावनाहरू यत्रतत्र छरिए जस्तै गरि| लामो समय मुसलधारे झरी बादल वर्षा र चट्यांग खेप्दै हिलोमैलो सँग संघर्षगरी लगाएको बालीनाली भकारीभरि थन्काएर कृषकहरू शरीरमा लागेका घाउ ,निलडामहरूमा मल्हम पट्टि गर्दै आराम गरिरहेका थिए गाउँघरतिर !साँझ बिहान चौरास्तामा भेला भई दु:ख सुखका कुराहरू गर्थे,भने कहिले यती मुरी धान फल्यो यति पाथी मकै फल्यो भन्दै गफ लडाउँथे बुढापाकाहरू कोहि सानो हुन नखोज्ने ,म छेउमा टुक्रुक्क बसेर जो बोल्छ उसैको मुखमा टुलुटुलु हेरिरहन्थे |
.
साँझको शितल मौसम निकै रमाइलो हुन्छ तराईमा त्यसमाथि बुढापाकाहरूका मिठामिठा (बकम्फुसे)गफ, एक किसिमको उमङ्ग छाइरहेको हुन्थ्यो चौरास्तामा अनि मेरो मनमा |फोहोरले भरिएका काँन ठाडा पारेर सुन्थेँ म बडो मज्जा आउथ्यो यस्ता गफ सुन्न | एकछिन बुढाहरूको कुरा सुन्थें फेरी सुलुक्क आइमाईको जत्थातिर पुग्थे सुलसुले चकचके स्वाभाबको जो थिए|
गाउँमा बिबाहको लहर चलेको थियो चारैतिर बज्ने बाजागाजाले गाउँमा रौनक छाएको थियो |साच्चै त्यहाँको माहोल सोह्रशृंगारमा सजिएकी दुलही झैँ धप्पक बलेको आभास हुन्थ्यो |मिर्मिरेमा तारा झर्न नपाउदै देखि मध्यरात सम्म घन्किने पिपलपाते डाँडा काटेर .........भन्ने गीतहरू सँगै मेरो मन पनि पिपलपात झैँ फिरफिर गरिरएको हुन्थ्यो हरसाँझ बिहान| खेतीपातीबाट निस्केपछी बिबाह भोज गर्दै दिनहरू बितिरहेका थिए |गाउँका दिदीबहिनीहरू डाँको छोडेर सारा गाउँलाई नै रूहाएर डोली चडी बिदाइको हात हल्लाउदै पराइघर जान्थे भने त्यसैगरी डाँको छोड्दै गाउँमा भाउजु काकी र माइजुहरू लगातार भित्रिने गर्थे !
.
हप्तामा २/३ पटक गाउँ डाँको छोडेर रूने गर्दथ्यो पिपलपाते गीत झैँ जोडजोडले चिच्याएर ,बर्खामा रूझेको धर्ति झैँ लछप्पै हुन्थ्यो गाउँघरको माहोल जब गीत बज्थे ,.......नरोई जाउ चेली बिदाई छ तिमी लाई भाईटिकामा भेट्न आउनु .........आइमाईहरू डाको छोडेर सारा गाउँनै थर्काउथे लोग्ने मान्छेहरू पिलपिल गर्थे तर मेरा आँखामा भने कहिले आँसु आएनन् पछाडी फर्केर आँखामा थुक लगाएर जानीनजानी जबरजस्ती मुख कालो बनाउन खोज्थें याद अझै ताजै छन् ति यादहरू मेरो मानसपटलमा धमिला तस्बिरहरू झैँ मलाई मेरा आँखालाई मन मस्तिष्कलाई पछयाइरहेछन अझै |
मालबाहक ट्रकको काँधमा चडेर जन्ती जान पाए राजा नै भइहालें ,जन्ति जान नपाए पनि धुलो उडाउँदै चौबाटोमा ड्याम्म पलेटी कसेर टपरीमा डढेको भात र घुडाँघुडाँ जन्तेबाख्राको झोल कुईनाबाट तुरूरू चुहाउँदै नखाई चित्तै बुज्दैनथ्यो सबै तिर भोज खाएर घर फर्कदा सुके पेटले मैनाचुली मात्र हेर्थ्यो आँखाले भुइँ देखिदैनथ्यो !स्वाँ स्वाँ गर्दै बल्लतल्ल घर आइपुग्थेँ त्यसमाथि आमाले मायाँ गरेर दिएका २ ओटा काँन बटारे (?)खान पाईहाल्थे,यतिभए के चाइयो र पेट राम्रैसँग भरिनथ्यो अनि नयाँ दुलहीझैँ सुक्सुक गर्दै कुना पस्नु प्रायः मेरो दिनचर्या बनेको थियो तर दिनभर हेरेका बेहुलीझै डाँको छोडेर रून भने नपाइने फेरी अर्को २ ओटा काँनबटारे पाइने डर हुन्थ्यो !.......:)
सनिबारको दिन थियो गाउँमा २ ओटा बिबाह थिए म आमाका काँनबटारे खाँदाखाँदा हैरान भएको थिए! आज पनि घरबाट निस्किस भने घरफर्केर आउन पाउदैनस भन्ने हुकुम भएकोले म घरमै बसे माथ्लो घरमा बिबाहको रमाइलो थियो बाजा झ्याम झ्याम बजिरहेका थिए|मेरो मन असाध्यै रोएको थियो बिहेमा जान रमाइलो गर्न जन्ते बाख्रो खान नपाएर ,अरू केटाकेटी झैँ मलाई पनि रमाउन मन थियो साथीहरू सँग उफ्रिन हल्ला गर्न मन थियो तर अहँ जान पाईन मैले मनभरि नानाथरि कुरा खेल्थे सबैका आमा बाले जान दिन्छन मेरा बाआमा कति नजाती म मनमनै रिसाउथे मनमनै नमिठा गालि गर्थे|
.
हुनत जहिले अरू को भोजभतेरमा जानु राम्रो थिएन बुबाआमाको सोचपनि आफ्नो ठाउँमा सहि थियो तर मेरो बालमस्तिष्कमा ति ज्ञान कहाँ भरिएको थियो र यस्तै ५ बर्षको थिए होला त्यो बेलामा ,दिनभर आमा बा लाई गालि गर्दै झ्यालको चेप बाट बिहे हेर्ने असफल चेस्टा गरिरहे आँखा तन्काएर!,मान्छेहरू कमिलाजस्ता देखिन्थे !थोत्रे माईकबाट .......... पिपलपाते डाँडा काटेर भनेको मधुरो सुनिन्थ्यो त्यो गीतसँगै त्यो गीत जस्तै चिच्याएर मेरोमन धेरै रोएको थियो त्यो दिन बाटोभरि खेलिरहेका दौतरीहरू देख्दा डाहले भित्रभित्रै जलेको थिए म संझन्छु अझै मन चसक्क दुख्न खोज्छ !
घाम ओर्लियो पल्लो डाँडाबाट बिस्तारै कालरात्रि संघारमा आइपुगेको थियो !यो मन सारै बेचैनथियो रोऊँरोऊँ हासौं हासौं जस्तो कुन्नि कस्तो कस्तो यतिबेला सम्म आमाका आँखा छल्न नपाउदा सारै नमिठो लागेको थियो बिहे हेर्ने र भोजखाने रहरले अब हरेश खाइसकेका थिए मनमा एकतमासले छटपटीका बादलहरू मडारीरहेका थिए मानौ आँखाबाट केहि बेर मै ठुलो वर्षा हुने सम्भावना थियो!
.
बेलुकीको यस्तै ८ बजेको हुदो हो पल्लाघरे माईली दिदी र अरू पनि २ जना गाउँका दिदीहरू आएर आमालाई बेहुली हेर्न जाउँ भन्दैथिए ,भाई सानो थियो एकछिन पख है माईली म बाबु सुताउछु अनि जाउँला यसका बा पनि आइपुग्छन् कि त्यतिबेला सम्ममा भन्दै आमा भाईलाई सुताउन तिर लाग्नुभयो गाउँका दिदीहरू भाई सुत्ने खाटको छेवैमा बसेर कस्ती होलिन् बेहुली भन्दै बेहुला बेहुलीका कुरा गर्नथाले बा भने जन्त जानुभएको थियो दिदी र बहिनी आमाकै छेउमा मलाई पनि लगे हुन्थ्यो नि भने झैँ गरेर टुलुटुलु आमाको मुख हेरिरहेका थिए |
त्यतिबेला गाउँमा बिजुली बत्तिको सुबिधा थिएन,| दिदीले चलाउँने टोप्रे कलमको लागि ५ रुपयाँमा किनेको मसीको बट्टा खाली भएपछि सुनपाटको सलेदो हालेर टुकी बनाई बाल्ने प्रचलन थियो गाउँघरमा |हाम्रो घरमा पनि गोडाचारेक टुकीहरूले दिनदिनै थोत्रे रेल झैँ कालो धुवाँ पुत्पुताउदै अँध्यारो कोठामा बढो दु:खले मधुरो रातो प्रकास छर्दथे यहिँ प्रकाशमा हामीले बा आमाको अगाडी हुञ्जेल लेख्ने पढ्ने नाटक गर्थ्यौ भने आँखापछि बागचल बुद्धिचाल र ताल परे गुच्छा र आसपास पनि भ्याउँथ्यौ | यसै मधुर प्रकाशमा आमाले घरलिपपोत तथा अरू बाँकी काम गर्नुहुन्थ्यो यि टुकिहरूका नाम हामीले जनकपुरे रेल ,गोरखपुरे रेल अनि यस्तै के के राखेका थियौं !
.
हो यि मध्यकै एक बुढी भैसकेकी टुकीको साहारामा मैले त्यो रात माथ्ला घरे ठुल्दाईको बिहे चिहाउने असफल चेस्टा गरे |दायाँ बायाँ सबैतिर घुमाइफिराइ हेरे एउटा आँखा बन्द गरीगरी सिस ताकेर हेरें तर अहँ बिहे देखिएन |अनि २ हातले टुकीलाई माथि उचालेर बिहे हेर्ने कोशिस गरे मलाई थाहा थिएन की बा ले डोरी बाटेर छोडेको सुनपात माथि आगो (टुकी) कुरिरहेको थियो त्यो रात !हो त्यहिँ रातले औंशीको निस्पट्ट अँध्यारो हाम्रो जिन्दगीभरि घोप्ट्याएर गएको थियो |
.
यहि सानो टुकीको माध्यमबाट आफ्नै हातले हाम्रो सानो घर-संसार ध्वस्त बनाएको थिएँ |आफ्नै हातले आफ्नो घर जलाएर ठुलो आगो बालेर पल्ला घरको बिहेको उत्सव मनाएको थिएँ,आमा बुबा अनि भाईबहिनीको मुटु फुटेर निस्किने चित्कार र आँशु मिलाएर भोज खाएको थिएँ जुन भोज खाने सायद म मात्र हुँ यो दुनियामा जुन भोजले म जिन्दगीभरको लागी एकैचोटी अघाएकोछु |
.
. जिन्दगीको सबै भन्दा ठुलो र बिर्सनै नसकिने भोज थियो उत्सव थियो |जसलाई चाहेर पनि अन्तिम स्वाश सम्म भुल्न सक्दिन भएको एउटा झुप्रो घर पनि आगो लगाएर परिवारलाई दिएको सबै भन्दा ठुलो उपहार थियो! जसले मेरो परिवारको मुटुमा सुरक्षित ठाउँ पाएको छ ,किनकी गरीबको घर जल्नु भनेको उसको मन जल्नु हो पुरा जिन्दगी जल्नु हो संसार ध्वस्त हुनु हो !हुन त अन्जानमा यसो भयो तथापी म आफुले आफुलाई कहिले माफ गर्न सक्दिन यो घटनाले मलाई अझै उतिकै सताउछ !
..
हो मैले टुकीको सहारामा बिहे हेर्ने असफल चेस्टा गरें त्यो दिन टुकीको सहारामा मैले आफ्नै घर जलाएको छु मेरो परिवारको खुशि लुटेर घर सँगै पोलेर खाएको छु अनि सबैका आँखा बाट उर्लंदो श्रावणको भेल र चित्कार मुछिएको खूनको आँशु बगाएको छु सारा खुशि लुटेको छु दुखिरहने ठुलो घाउ दिएको छु संसार जलाएर खरानी बनाएको छु !त्यसपछी कहिले आफुले आफुलाई माफ गर्न सकेको छैन र सायदै सकौंला !
.
अन्त्यमा अनुरोध यहिँ रहन्छ की बालबालिकाहरू उत्सुक अनि जिद्धी स्वभावका हुन्छन्, यसर्थ उनीहरुका हरेक क्रियाकलाप र चालचलनमा ध्यान दिने गरौ उनका हर चाहनाहरूलाई बुझ्ने र मनन् गर्न कोशिस गरौ ताकि अन्जानमै या जानेर पनि जिद्धी भएर कुनै गलत काम नगरून यो लेखकले झैँ !!मानौ तपाईले एकछिन उसलाई चुप गराउन सक्नुहुन्छ गालि गरेर फकाएर उ सानो छ डराउँछ मान्छ मान्नु उसको बाध्यता हो किन की उ सानो छ तर उ भित्रको उत्सुकता र चाहना भित्रभित्रै बिद्रोही बनिरहेको हुन्छ अनि उ गल्ति गर्न पुग्छ सचेत बनौ र बनाऔ !
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.