पछिल्ला सामग्री :
फेसबुकाय: नम:

उल्का माथि अचम्म छ, मनै मन गुन्छु
छक्कै पार्ने दुनियाँको यौटा कुरा भन्छु
प्रविधिको विकास हो नराम्रो त हैन
लाखौँ लाख मानिसको खोस्यो यसले चैन ।

इल्लिँदै र छिल्लिँदैछन् फेसबुकमा नानी
फ्याट फ्याट गर्दै च्याट गर्छन् कुराकानी
हेरिसाध्य कहाँ छन् र तस्बिरका पोज
लट्टो लागि हेर्छन् केटा उनैलाई मोज ।

‘वाल‘ भरि पोखिएछन् मनभित्रका कुरा
पढ्दापढ्दै मनैभित्र धसिएछन् छुरा
ठिटाठिटी मात्रै हैन बुढाबुढी पनि
झुत्ती खेल्छन् रमाएर त्यै ‘वाल’का मुनि ।

अफिसमा कर्मचारी, काम गोली मारो
भ्याई नभ्याई हानिरेछन् ‘म्यासेज’को तारो
गालीदेखि चाकरीको तेलसम्म घस्यो
सिर्जना र श्रम सबै यसैभित्र फास्यो ।

‘फेसबुक’ कहाँ रह्यो ? बन्यो ‘फासबुक’
जो कसैका मुटुभित्र यसकै ढुकढुक
लौ न, प्रभु यस्तो विधि किन पार्छौ सकस
धड्कन बनी बसेको छ ‘म्यासेज’को बाकस ।

गजल भन्दै फोहर फजल ‘स्टास’मा भर
मन परोस् कि नपरोस् क्लिक्क ‘लाइक’ गर
उस्ले उस्लाई, उस्ले उस्लाई ‘शेयर’ गरेहुन्छ
‘कमेन्ट’मा वाक्क ट्यार्र पार्दै छेरे हुन्छ ।

एकातिर नाता जोड्यो, अर्कातिर तोड्यो
यै बुकले कति कति परिवारै फोड्यो
फेसबुकमा डा.प्रा.देखि पाप्रासम्म सम
पूजा गर्ने नयाँ मन्त्र ‘फेसबुकाय नम:’

नरनाथ लुइँटेल
कलङ्की, काठमाडौं
narnath@gmail.comIP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.