पछिल्ला सामग्री :
मदिराले टिल्ल भएका अहेबले जाँच्दा बिरामी बेहोस

शिखरजंग श्रेष्ठ, सोलुखुम्बु/ जिल्ला अस्पताल फाप्लुमा अत्यधिक मदिरा सेवन गरी अहेबले बिरामी जाँच गरेपछि बिरामीका आफन्त अस्पतालप्रति आक्रोशित भएका छन् ।

आइतबार दिउँसो अस्पतालमा कार्यररत अहेब सम्मर राईले मदिरा सेवन गरी अस्पतालमा भर्ना भएका बिरामीलाई स्वास्थ्य जाँच गर्न गएपछि बिरामी सिर्जना तामाङ रक्सीको गन्धले उल्टै बेहोस भएको उनको दाजु डाकबहादुर तामाङले बताउनुभयो । सोलुखुम्बुको एक मात्र जिल्ला अस्पताल फाप्लुमा कार्यररत चिकित्सकहरू व्यक्तिगत कामको सिलसिलामा जिल्लाबाहिर गएपछि दुईजना अहेबको भरमा सिंगो अस्पताल सञ्चालन भइरहेको छ ।

सोलुखुम्बुको लोखिम–७ मूलखर्क स्थायी ठेगाना भएकी सिर्जना तामाङलाई एक्कासि टाउको दु:ख्ने, रिँगाटा लाग्ने तथा बान्ता आउनेजस्ता समस्याले सताउन थालेपछि सदरमुकाम सल्लेरीबाट आइतबार राति १२ बजे अस्पताल पुर्‍याइएको थियो ।

दिनभर नै मात्तिएर समयसमयमा जाँच गराउन आएपछि अहेब राईलाई बिरामीका आफन्तहरूले बिरामीलाई जाँच गर्न दिएका थिएनन् । अहेब राईले अन्य बिरामीहरूलाई पनि जाँच गरिरहेकाले अस्पतालमा भर्ना भएका अन्य ६ जना बिरामी तथा आफन्तहरू समेत निक्कै डराएका छन् ।

अर्का अहेब टंक नारायण श्रेष्ठले आफ्नो कार्य समय पुरा गरी घर फर्किएपछि राईले मदिरा सेवन गरी आउने गरेको अर्का बिरामीका आफन्त सागर राईले गुनासो गरेका छन् । तीनजना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा दरबन्दीका डाक्टर नभए पनि हालसम्म करारका डाक्टरले सेवा दिँदै आएका थिए ।

तर, अहिले अस्पतालमा एउटै डाक्टर पनि छैनन् । सरकारले स्वास्थ्य क्षेत्रमा खुलाएको विभिन्न पदहरूमा लोकसेवाको परीक्षा दिन र तयारी गर्न भन्दै डाक्टरहरू काठमाडौं हिँडेपछि अस्पताल डाक्टरविहीन हुन पुगेको हो । त्यसैले अस्पतालमा हाल हेल्थ असिस्टेन्ट, अहेब, सिएमए र स्टाफ नर्सले बिरामीको स्वास्थ्य जाँच, उपचार र रेखदेख गरिरहेका छन् ।

यता अस्पतालको आन्तरिक व्यवस्थापनको निमित्त जिम्मेवारी पाएका हेल्थ असिसटेन्ट रामसुन्दर शाहले अहेबले मदिरा सेवन गरी बिरामी जाँचेको थाहै नपाएको दाबी गरे । दिउँसै ड्युटीको समयमा आवासगृहमा सुतिरहेका भटिएका शाहले यसरी लाचरीपन प्रकट गरेपछि अस्पताल प्रशासन पूर्ण अव्यवस्थित रूपमा सञ्चालन भइरहेको छ भन्ने प्रस्ट भएको छ ।

यता जिल्ला स्वास्थ्य कार्यलयका कार्यलय प्रमुख तथा अन्य अधिकृतहरूसमेत जिल्लामा नभएपछि अस्पतालका कर्मचारीहरूले बढी स्वतन्त्र भएको महसुस गर्दा यस्तो घटना भएको सरोकारवालाहरूले जनाएका छन् ।
साभार : नेपालवाणी
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.