पछिल्ला सामग्री :
रमजानको महत्त्व, एक परिचय

रमजान हिजरी (इस्लामी) क्यालेन्डरको नवौँ महिना हो । आठौँ महिनाको अन्तिम दिन सूर्यास्तसँगै पश्चिम आकाशमा चन्द्रमा देखिएपछि यो महिना सुरु हुन्छ । यस महिनाका विशेषताहरू अनेकन छन् जस मध्ये इस्लामका पाँच आधारस्तम्भमा तेस्रो अनिवार्य उपासना रोजा अर्थात् उपवास पनि हो । रमजानका महिनाभर बिहान सूर्योदयभन्दा पहिलेदेखि बेलुकी सूर्यास्त नभएमा खानपिन पूर्ण रूपले बर्जित छ ।

रोजा वास्तविक रुपमा केवल पेटका लागी मात्र नभएर मानवका सम्पूर्ण क्रियाकलाप संग सरोकार राख्ने विषय हो । न केवल हामी खानपिन लाई त्याग्दछौँ साथमा सम्पूर्ण गलत कार्य हरूबाट आफूलाई बचाएर राख्दछौँ । रोजाको समयमा कानले गलत कुरा सुन्नबाट, मुखले गलत कुुरा बोल्नबाट तथा हातहरूले गलत काम गर्नबाट समेत आफूलाई बचाउन आवश्यक छ । सेहरी (सुर्योदयपूर्व खाने खाना) खाँदै गर्दा यदि आजानको आवाज सुनेमा हामी खान छाडछौँ त्यस्तै जति नै स्वादिष्ट भोजन अगाडी भए पनि तथा जतिसुकै खाने इच्छा भएपनि सुर्यास्त नहुन्जेल सम्म केही पनि खाँदैनौँ । सबैका सामु मात्र नभइ कसैले नदेख्ने ठाँउमै गएर पनि अन्नको एक दाना वा पानीको एक थोपा समेत खानु या पिउनु हाम्रा लागी पूर्णत: अबैध हुन्छ । यो निश्चित समय बाहेकका समयमा अन्य दिनहरूमा जस्तै खानपिन गर्नुमा कुनै किसिमको रोकतोक हुँदैन ।

रोजाको निष्ठता र पूर्णतामा अल्लाह प्रतिको श्रद्धा, भक्ति र भयको हात छ । उनको सर्वव्यापकता एवं सर्वविज्ञतामा उपवासक पूर्ण रुपले विश्वस्त छ, मृत्यु पश्चातको जीवन र न्यायको दिनमा विश्वस्त छ । पवित्र कुरआनका आदेशहरू तथा सन्देष्टा मुहम्मद (सल्ल.) को जीवन पद्धतीको अनुसरण गर्न धैर्यताको अनुभूती गर्दै अल्लाहको प्रशन्नताका निमित्त आफ्ना सम्पूर्ण इच्छाहरूलाई रोक्ने शक्ति पनि रोजाको पूर्णताको कारक हो ।

प्रत्येक वर्ष ३० दिन सम्म चल्ने रोजालाई एक प्रशिक्षण शिविरको रुपमा समेत लिन सकिन्छ जहाँ बाट हामि प्रशिक्षित भएर वर्ष भरी आफ्नो जिन्दगीको यात्रामा तल्लिन हुन्छौँ अर्थात जिन्दगीको युद्ध मैदानमा होमिन्छौँ । यसले अल्लाह प्रतिको हाम्रो आस्थालाई अझ प्रगाढ पार्नुका साथै हामीलाई दु:ख र पिडा एवं अभावका समयमा पनि जिन्दगीलाई अगाडी बढाउने प्रेरणा दिन्छ । रमजानको महिनामा हामिले आफूलाई एक पूर्ण आज्ञाकारी (मुस्लिम) बनाउनका निमित्त आवश्यक सम्पूर्ण कुराहरूले पूर्ण गर्ने अवसर प्राप्त गर्दछौँ ।

रमजानको रोजा सम्पूर्ण बयश्क पुरुष तथा महिलाहरूमाथी अनिवार्य छ । गर्भवती तथा सुत्केरी महिलाहरू तथा शारिरीक एवं मानसिक रुपले अशक्त व्यक्तिका निमित्त भने यसमा छुट छ तर आफू तन्दुरुस्त भइसकेपछि पुन: छुटेको समयको रोजालाई पूर्ण गर्नु पर्दछ । स्मरण रहोस रोजा अवधीभर खानपिन मात्र नभइ, धुम्रपान एवं शारिरीक सम्पर्क, झै झगडा तथा अनावश्यक बहश समेत पूर्ण रुपले बर्जित छन् ।

रमजानको एक महिनाको अवधिलाई ३ भागमा बांडिएको छ । प्रथम १० रातहरू रहमत (कृपा) का रातहरूको रुपमा उल्लेखित छन् जसमा अल्लाहको असिम कृपाबाट हामी लाभान्वित हुन्छौँ भने बिचका १० रातहरू मग्फिरत (माफी) का रातहरूको रुपमा रहेका छन् । यस अनुसार हामी रमजानका २० दिनहरूमा अल्लाहको कृपाले आफ्ना सम्पूर्ण कर्महरूबाट माफी प्राप्त गर्दछा्रैं । यसैगरी अन्तिमका १० रातहरूको स्थान अत्यन्तै उल्लेखनिय छ किनकी यिनै रातहरूमा अल्लाहले मनुष्यलाई क्षमा गर्दै नर्कबाट मोक्ष प्रदान गरेर स्वर्ग प्रवेशको अनुमति प्रदान गर्दछन् भन्ने कुराको यथेष्ठ प्रमाणहरू इस्लामीक ग्रन्थहरूमा सविस्तार वर्णित छन् ।

रमजान महिनाको रोजाको समाप्तीका साथमा एक अर्का सँग खुशी साट्दै हर्षोल्लास पूर्वक ईदउल फित्र मनाइन्छ ।

रमजान महिनाका विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
१. पवित्र कुरआनको अवतण: यो महिनामा नै अल्लाहले आफ्ना सन्देष्टा मुहम्मद (सल्ल.) माथी कुरआनको अवतरण प्रारम्भ गरेका थिए । पवित्र कुरआनमा उल्लेख छ “रमजानको महिना त्यो हो जसमा कुरआन अवतरित भएको थियो ।” (कुरआन, सुरह बकरह, आयात १८५)
२. यो महिना एकान्तबासको महिना हो । इब्न उमरका अनुसार अल्लाहका सन्देष्टा मुहम्मद (सल्ल.) रमजानको महिनाका कमसेकम १० दिनको एकान्तबासमा रहनु हुन्थ्यो ।
३. यो महिना उदारताले भरिपूर्ण महिना हो । गरिबलाई दान नदिए सम्म एक महिना लामो रोजा पूर्ण भएको मानिदैन । इब्न अब्बासका अनुसार सन्देष्टा मुहम्मद (सल्ल.) रमजानको महिनामा अत्यन्तै उदार हुनुहुन्थ्यो ।
४. यो महिना अनिवार्य रोजा (उपवास)को महिना हो । कुरआनमा उल्लेख भए अनुसार “जसले पनि यो महिना लाई प्राप्त गर्दछ, उसका लागी रोजा राख्न अनिवार्य छ । (कुरआन, सुरह बकरह, आयात १८५)
मुख्यत: रमजान लाई रोजा राख्ने महिना भनेर मात्र चिन्ने गरिन्छ यहाँ सम्म कि रमजान र रोजालाई पर्यायका रुपमा हेर्ने परिपाटी छ जो गलत हो । जबकी रोजा, रमजानका महिनामा गरिने अन्य कार्यहरू जस्तै एक कार्य हो । अल्लाहले हामी सम्पूर्ण मानव जातीलाई सत्मार्गमा हिँडने प्रेरणा प्रदान गरुन् । आमिन ।

लेखक नेपाली मुस्लिम समाज कतारका प्रवक्ता, एसोसिएसन अफ न्यु फेमेलिजका महासचिव तथा मुस्लिम संघ नेपाल जनसम्पर्क समिति कतारका महासचिव हुन् ।
– आशिफ अहमद चापागाईं, दोहा कतार
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.