पछिल्ला सामग्री :
निर्धक्क मतदान गरौँ : चलचित्रकर्मी

सूर्यचन्द्र बस्नेत, काठमाडौँ/ नेपाली सिनेमा जगत्की नायिका करिश्मा मानन्धरलाई प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सोध्नुभयो, “तपाईंको नाम मतदाता नामावलीमा छ कि छैन ?”

“मैले अन्तिम दिन फोटो खिँचाएर मतदाता नामावलीमा नाम लेखँे, जीवनमा पहिलो चोटि मङ्सिर ४ मा भोट हाल्दैछु,” नेपाली रजतपटकी सदाबहार नायिका करिश्माले भन्नुभयो । चलचित्र निर्देशक समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा नायिका करिश्माले देश, विकास, जनता र पिछडिएका वर्गका लागि एक भोटले पनि असर पार्ने बताउँदै थप्नुभयोे, “प्लिज भोट हाल्नुस् है अधिकार र अवसर नगुमाउनुस्,” नायिका करिश्माले भन्नुभयो ।
“मतदान दान मात्र होइन कर्तव्य र अधिकार पनि हो, यो कुरा बोध गरेर व्यक्तिगत लोभलालचमा नपरी युवाले राम्रो उम्मेवदार छानेर भोट दिनुपर्छ,” अर्की नायिका निशा अधिकारी भन्नुहुन्छ । उहाँले युवालाई घोषणापत्र पढ्न र निडर भएर भोट दिन आग्रह गर्नुभयो । गीतसङ्गीतका साधक शम्भुजित बास्कोटाले आफ्नी ९४ वर्षीया आमाले पनि यस पटक तस्बिर खिँचाएर मत खसाल्ने इच्छा राख्नुभएको प्रसङ्ग सुनाउँदै यसले निर्वाचनमा उत्साह आएको पुष्टि हुन्छ भन्नुभयो । “यो उत्साहमा इँटा थप्न हामी पनि भोट खसाल्न जानुपर्छ,” उहाँले भन्नुभयो ।
यस पटकको चुनावको प्रचारमा नायिका रेखा थापालगायत कलाकार एनेकपा(माओवादी)को प्रचारमा व्यस्त हुनुहुन्छ । नायक भुवन केसी नेकपा (एमाले)र नीर शाह जस्ता कलाकार नेपाली काँग्रेसका प्रचारमा देखिनुभएको छ । गायक सञ्जय श्रेष्ठ र निर्माता उद्धव पौडेल राप्रपा नेपाल पार्टीबाट उम्मेदवार नै हुनुभएको छ । चुनावमा कलाकारको कुनै न कुनै रुपमा संलग्नता र सहभागिताका यी केही उदाहरण हुन् ।

निर्माता राजकुमार राई कलाकार र सेलिब्रेटीको कामको अरुले सिको गर्ने मात्र नभै उनीहरू मार्गनिर्देशक पनि हुने भएकाले चुनावका लागि उनीहरूको योगदान हुनुपर्ने बताउनुहुन्छ । “कलाकार विभिन्न रङ्गमा रङ्गिए पनि (विभिन्न पार्टीको झन्डामा रहे पनि) चलचित्र क्षेत्रको हक अधिकार स्थापित गर्न मतदानमा सहभागी हुनुपर्छ,” निर्माता राईले भन्नुभयो ।
नायक राजेश हमालको कपालको स्टाइल होस् कि नायिका करिश्माको लवाइ, अरुका लागि सिको गर्ने विषय हुन् –वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा भन्नुहुन्छ । चलचित्र अनौठो, शक्तिशाली र प्रभावकारी माध्यम हो । कलाकारका कुरा सिक्ने चलचित्रविधा छिटो र प्रभावकारी माध्यम हो । “सेलिब्रेटीले सभा, सङ्गीत, नाटक वा कार्यक्रममार्फत भोट दिन प्रेरित गराँै, चुनावका दिन घरमा नबसाँै कलाकार,” निर्देशक शर्मा थप्नुहुन्छ ।
नेता पनि यस्तै रहेछन् संविधान पनि नबन्ने रहेछ भनी निरास भएर बस्न नहुने वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालको भनाइ छ । धेरै पटक मत हालेर हरेस नखाएको र अघिल्लो पटक खुट्टा भाँच्चिदा पनि मत हालेको स्मरणसहित उहाँ थप्नुहुन्छ, “संविधान र राष्ट्र बनाउने उम्मेदार छानेर भोट हालाँै ।”
भोट खसाल्न तीन दिन मात्रै बाँकी छ । हिमाल, पहाड तराईमा मजदुर, वकिल, पत्रकार, इञ्जिनियर, किसानदेखि कलाकार सबै निर्वाचनको ‘मुड’मा छन् । निर्वाचनको सँघारमा उभिएको देश निर्वाचनमय नबन्ने कुरै भएन । दल, उम्मेदवार, सरकार र आयोग निर्वाचनमै दत्तचित्त छन् । यस पटकको निर्वाचनका लागि २४० निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीसहित करिब साढे चार लाख जनशक्ति परिचालित छन् ।
देशका दश हजार १३ मतदानस्थलका १८ हजार ४३८ मतदान केन्द्रमा एक करोड २१ लाख ४७ हजार ८६५ मतदाता मतदानको प्रतीक्षामा छन् । कार्यक्षेत्रमा १८ हजार ४३८ मतदान अधिकृत ६८ प्रकारका निर्वाचन सामग्री लिएर मतदानको क्षण कुर्दैछन् ।
फेरि निर्वाचन बहिष्कार, हिंसा, आगजनी र निर्वाचनमा केही दलको असन्तुष्टिको कुरा पनि सँगसँगै चलेको छ । चार वर्ष लगाएतापनि अघिल्लो संविधानसभाले संविधान दिन नसकी भङ्ग भयो । राजनीतिक सङ्क्रमणकाल लम्बिदै गएको बेला राजनीतिक र संवैधानिक सङ्कटको समाधान दिन निर्वाचन पनि बाध्यता र अनिवार्य बन्दै गएको आवाज पनि उत्तिकै छ ।
देशको संविधान बन्न लाग्दा एउटा पक्ष असन्तुष्ट छ र असाध्यै असहज, प्रतिकूल एवम् चुनौतीपूर्ण अवस्थामा मुलुक उभिएकोे बुझाइ अहिलेका सर्वाधिक चर्चित महानायक राजेश हमालको छ तर पनि चुनावले नै यो देशको अग्रगामी बाटो देखाउने भएकाले सबै कुराको निकास चुनाव हो भन्नुहुन्छ उहाँ । “सम्पूर्ण देश दलहरूको सहमतिका साथ चुनाव हुन गइरहेको छैन तर राजनीतिलाई निकास दिन जुनसुकै प्रतिकूलतामा चुनावमा जानैपर्छ, देशको अग्रगामी भविष्यको निकास नै चुनाव हो,” हमाल थप्नुहुन्छ ।
कलाकारका कुरा सुनेपछि प्रमुख निर्वाचन आयुक्त उप्रेती चलचित्रका पर्दामा समाजलाई सन्देश दिन सक्ने कलाकारसँग तीन दिन बाँकी रहेको निर्वाचनको वातावरणलाई आकाश जमिनको रुपमा तताउन सक्ने खुबी रहेको बताउनुहुन्छ । “त्यो खुबीलाई उपयोग गर्न म आग्रह गर्छु, मतदानको दिन गाउँ, टोल, बस्तीका मतदाता सबै उर्लेर सबै लोकतन्त्रको विचार लिएर निस्केपछि लोकतन्त्रले जित्छ,” प्रमुख आयुक्त उप्रेतीले भन्नुभयो ।
गायिका कुन्ती मोक्तान, कलाकार दीपक गिरी, निर्देशक उज्ज्वल घिमिरे, दिनेश डिसी, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष मनोज केसी र नेपाल चलचित्र कलाकार महासङ्घका महासचिव रामकेशर बोगटीले चुनावप्रतिको प्रतिबद्धता वाचन गर्दै लोकतान्त्रिकीकरण, नागरिकको अधिकार र देशको मूल कानुन बनाउने काम भएकाले सबैले चुनावमा भाग लिनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन प्रतिबद्धता वाचन गर्दै युवा पुस्ताका गायक राजेशपायल राईले आफूले पटक पटक मतदान गरेको बताउँदै संविधान बनाउन यो संविधानसभाको चुनावलाई अन्तिम पटक बनाउनुपर्नेमा जोड दिनुभयो । “मैले मतदान गरेँ पटक पटक तर यसचोटि संविधानसभाका लागि भोट गरौँ अन्तिम पटक, त्यसैले संविधान र देश बनाउने सक्षम उम्मेदवार छान्न चुनावमा सहभागी होऊँ”, गायक राईको निष्कर्ष थियो । रासस
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.