पछिल्ला सामग्री :
बल्ल पाक्यो तीनदलीय खिचडी

काठमाडौं/ संविधानसभाको निर्वाचनको पाँच सातापछि राजनीतिक दलहरू सहमतिमा पुगेका छन् । दलहरूबीच जारी राजनीतिक विवाद समाधान गर्ने गरी चारबुँदे सहमति भएको छ ।

बबरमहलस्थित शान्ति कोषको सचिवालयमा बसेको प्रमुख दलहरूको बैठकले बिहान भएको ४ बुदे सहमतिलाई औपचारिकता दिएको छ । चारबुँदे सहमतिमा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, फोरम नेपालका वरिष्ठ उपाध्यक्ष भरतविमल यादव र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।

दलहरूबीच निर्वाचनको निष्पक्षताबारे छानबिन गर्न संविधानसभाबाट छानबिन समिति गठन गर्ने सहमति भएको छ । यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, ६ महिनाभित्रै संविधानको मस्यौदा तयार पारी एक वर्ष भित्रमा संविधान जारी गर्ने विषयमा पनि दलहरू सहमतिमा पुगेका छन् ।

यसअघि प्रमुख ३ दलको बैठकले ४ बुदे सहमति तयार पारेपनि त्यसलाई औपचारिकता दिन अन्य दलहरूलाई समेत समेटेर पुन: बैठक बसेको थियो । दलहरूबीच उच्चस्तरीय राजनीतिक समितिलाई निरन्तरता दिने सहमति पनि भएको छ । सहमति भएसंगै समानुपातिक तर्फका सभाषदहरूको टुंगो लगाउन दलहरूले निर्वाचन आयोगसंग पुस १५ गतेसम्मको समयसीमा माग गर्ने निर्णय गरेका छन् ।

एकीकृत माओवादीले आफूले उठाएका सवालमा अन्य दलहरूले सहमति जनाएकोप्रति खुसी व्यक्त गरेको छ । निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि माओवादी संविधानसभामै नजाने बताउँदै आएको थियो । अन्य दलसँग मिलेर शान्तिप्रक्रिया र संविधान निर्माणको विषय टुंगाउन प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति राचन्द्र पौडेलले सहमतिसँगै संविधान निर्माणको बाटो खुलेको बताउनुभयो । सहमतिले सबैललाई एक ठाउँ उभ्याएको उल्लेख गर्नुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.