पछिल्ला सामग्री :
समृद्धिका लागि सकारात्मक सोच (रामचन्द्र लामिछाने)

अल्बर्ट आइन्स्टाइनको प्रख्यात भनाइ कुनै एक तहको ज्ञानको स्तरबाट सृजित समस्या त्यही तहको ज्ञानबाट समाधान हुन सक्दैन र समस्या समाधानका लागि नयाँ स्तरको ज्ञानको उचाइबाट सोच्नुपर्छ भन्ने भनाइ नेपाली राजनीतिमा जस्ताको त्यस्तै लागू भइरहेको छ । नेपालको दुई सय ४५ वर्षको पछिल्लो कालखण्डको इतिहास हेर्दा यस्तो लाग्छ, मानौँ नेपाली जनता सधैँ समस्या र अभावसँग मात्र साक्षात्कार गर्न जन्मेका हुन् । आजसम्म देश निर्माणमा राजनीतिक नेतृत्वको अग्रगामी भूमिकाको अनुभूति कहिल्यै प्रभावकारी हुन सकेन । संसारको कुनै पनि समाजमा एकै प्रकारको सामाजिक संरचना हुँदैन र विविधता समाजको अनिवार्य नियम पनि हो ।

जब समाजमा विविधता हुन्छ, तब विविध विचार, सोच र दर्शनबाट निर्देशित हुनु एकदम स्वाभाविक हो । विविध दर्शनबाट निर्देशित समाज वा संगठनबीच द्वन्द्व पनि समाजको अनिवार्य नियम हो । कुनै पनि गतिशील समाजको निर्माणमा द्वन्द्व अनिवार्य हुन्छ । यदि द्वन्द्वलाई समयमै व्यवस्थापन गर्न सकियो भने यसले समाजमा अग्रगामी र गतिशील शान्ति प्रवद्र्धन गर्छ भने द्वन्द्वलाई अनावाश्यक रूपमा चर्कन दियो भने यसका परिणाम विध्वंसात्मक हुन्छन् ।

नेपाली समाजले द्वन्द्वलाई समयमा नै समाधान गर्न नसक्दा चुकाउनुपरेको मूल्य नेपाली समाज र सारा संसारलाई थाहा भएकै हो र नेपाली राजनीतिका शीर्ष नेताहरूले पनि सायद भुल्नुभएको छैन होला । त्यसैले पनि उहाँहरूले आगामी दिनमा आफ्ना क्रियाकलाप र कार्यविधि तय गर्दा विगतका क्षति र त्यसले निम्त्याएको नकारात्मक दुष्परिणाम दोहोर्‍याउने मार्गमा यात्रा गर्न रहर नगर्नुहोला भनेर आश गर्न सकिन्छ ।
अहिले नेपालमा देखिएको असमझदारी र द्वन्द्वको कुनै पनि दार्शनिक र वैज्ञानिक कारण छैन । यो सिद्धान्तहीन द्वन्द्वको व्यवस्थापन गरी नयाँ समाज स्थापना गर्ने जिम्मा यिनै राजनीतिक पार्टीका नेताहरूको हो । बेतुकका सैद्धान्तिक खोल ओढेर आफूलाई अरूभन्दा फरक देखाउने नाममा देश र जनताको प्रगतिलाई अवरोध गर्न खोज्ने राजनीतिक पार्टीहरूलाई जनताले बिस्तारै पाखा लगाउँदै जानेछन्, ती निकट भविष्यमै प्रजापरिषद्को स्थानमा पुग्नेछन् भन्ने यसपालिको संविधानसभा निर्वाचनले निर्देशित गरेको छ ।

आफूलाई जुनसुकै वादको अनुयायी भने पनि कुनै पनि राजनीतिक दलको सिद्धान्त कार्यान्वयनको व्यावहारिक पक्षमा खासै तात्विक अन्तर भने छैन । अझ भनौँ, नेपाली राजनीतिक पार्टीहरूले आफ्ना महाधिवेशन र आन्तरिक बैठकमा जे–जस्ता दस्तावेज प्रस्तुत गरे पनि, ती दस्तावेज कार्यान्वयन गर्ने पात्रको सोचाइ, गराइ र जीवन पद्धतिमा खासै तात्विक भिन्नता छैन । जसले गर्दा तमाम नेपालीमा राजनीतिप्रति नै नैराश्य छाएको छ भने राजनीतिक नेता र पार्टीप्रति वितृष्णा र घृणा पैदा गरिदिएको छ । तर, विडम्बना के छ भने जबसम्म राजनीति सम्मानित र नेताहरू विश्वासिला हुँदैनन्, कुनै पनि देशका जनता, समुदाय तथा सिंगो देश शान्ति र समृद्धितर्फ बढ्न सक्दैन भन्ने दुनियाँका विकसित देशका इतिहासबाट प्रमाणित भएको छ ।

नेपाल र नेपालीको समृद्धिका लागि सम्मानित राजनीति र विश्वासिला राजनीतिकर्मी अनिवार्य सर्त हो । राजनीतिलाई सम्मानित र नेतालाई विश्वासिलो बनाउने कार्यको नेतृत्व स्वयं राजनीतिक पार्टीका नेताले नै गर्नुपर्छ र कर्मचारी, नागरिक समाज तथा जनसमुदायले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । यो समय राजनीतिलाई सम्मानित बनाउने र नेताको गुमेको विश्वास आर्जन गर्ने उचित अवसरका रूपमा सदुपयोग गर्न सक्नुपर्छ । त्यसका लागि अल्बर्ट आइन्स्टाइनले भनेझैँ सबै राजनीतिज्ञले बदलिँदो परिस्थितिअनुसार आफ्नो ज्ञान स्तरमा वृद्धि गरी विश्वस्तरका नेताकै हाराहारीमा आफ्ना दृष्टिकोण निर्माण गर्न सक्नुपर्छ भने महात्मा गान्धीले भनेझैँ सुन्दर भविष्यका लागि परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्छ ।
नेपाली राजनीतिमा हाबी रहेको समस्या केलाउने र त्यही समस्याको केन्द्रमा रहेर भविष्यको दृष्टिकोण बनाउने प्रचलनले गर्दा आफूभित्र असीमित क्षमता, योग्यता र सीप हुँदाहुँदै पनि नेपाली राजनीतिज्ञले भविष्य निर्माणको नेतृत्व गर्न सकिरहेका छैनन् । उनीहरूभित्र रहेको असीमित सम्भावना एकअर्कालाई दोषारोपण गर्नमै मात्र सीमित रहेको छ । जसले विश्वका कतिपय समाज राजनीतिक नेतृत्वको कारण द्रूतदर गतिमा सकारात्मक रूपान्तरण भइरहँदा पनि नेपाली समाज भने यथास्थिति र पछौटेपनमै रमाइरहेको छ । नेपालको सकारात्मक रूपान्तरण गर्ने अठोट लिएका राजनीतिक पार्टीहरूले सकारात्मक रूपान्तरणको भरपर्दो विधि र तरिका थाहा नपाउँदा पनि पुरानै सोच र शैलीको सिकार हुनुपरेको छ, जसले गर्दा उनीहरूले आफ्नो चाहनाअनुसारको भूमिका निर्वाह गर्न सकिरहेका छैनन् ।

इतिहास साक्षी छ, हाल राजनीतिमा लागेका व्यक्तित्वहरू हिजो जुनसुकै पृष्ठभूमिबाट आएको भए पनि यदि उहाँहरूले चाहनुभयो भने आगामी दिनमा आफूले चाहेअनुसारको नयाँ परिचय बनाउन सक्नुहुन्छ । व्यक्ति आफ्नो पहिचानको निर्माता आफैँ हो र उसँग आफूले चाहेअनुसारको पहिचान बनाउन सक्ने क्षमता ऊभित्रै हुन्छ । त्यसका लागि उसले आफूमा अन्तर्निहित क्षमता पहिचान गरी ती क्षमताको प्रस्फुटन गराउन सक्नुपर्छ भने आगामी दिनमा नेपाली समाजमा शान्ति प्रवद्र्धन र समृद्धि निर्माणमा के–कस्ता योगदान, कसरी दिन सकिन्छ भन्ने दृष्टिकोण पनि निर्माण गर्न सक्नुपर्छ । यस प्रकारको व्यक्तित्व निर्माण गर्न आफ्नो सोच र दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन सक्नुपर्छ र भविष्य केन्द्रित सोच र दृष्टिकोण निर्माण गर्न सक्नुपर्छ । नेपाली समाजलाई आमूल रूपान्तरण गर्ने हो भने हाम्रा नेताले आफ्नो सोचमा आमूल परिवर्तन गर्न सक्नुपर्छ र अहिले हाबी रहेको विगतमुखी र समस्या केलाउने सोचमा आमूल रूपान्तरण गरी भविष्यकेन्द्रित प्रशंसनीय सोचको विकास गर्न सक्नुपर्छ । प्रशंसनीय खोज व्यक्ति संघ–संस्था, समाज वा देशकै सकारात्मक रूपान्तरण गर्ने विधि हो ।

यो विधि सन् १९८८ मा अमेरिकाको केस वेस्टर्न विश्वविद्यालयमा प्रतिपादित भएको थियो भने हाल यो पद्धति संसारभरका सकारात्मक रूपान्तरणका लागि काम गर्ने संघ–संस्थामा व्यापक प्रयोग भइरहेको छ, जसले सकारात्मक रूपान्तरणमा क्रान्तिकारी फड्को मार्न सहयोग गरेको छ । यस पद्धतिअनुसार काम गर्दा विगतका सफलताको तार्किक रूपमा लेखाजोखा गरिन्छ र के कति कारण ती सफलता प्राप्त भएका थिए, ती सफलता प्राप्त हुनुमा के कस्ता परिवेश सहयोगी थिए, त्यसमा संलग्न व्यक्तिले के कस्ता सकारात्मक योगदान दिएका थिए, ती व्यक्तिमा के कस्ता गुण र क्षमता छन् भन्ने समग्र लेखाजोखा गरिन्छ । यसो गर्दा समाजका सबै तह र तप्काका व्यक्तिको योगदानको कदर हुनुका साथै पहिचान पनि स्थापित हुन्छ भने सम्बन्धित व्यक्तिमा जोस, जाँगर, उत्साह तथा उमंग वृद्धि हुन्छ । यसबाट भविष्यमा अझ बढी सकारात्मक प्रतिफल प्राप्त हुन्छन् । विगतका आधारमा दोषारोपण नगरी प्रशंसा गरिने वा सकारात्मक पृष्ठपोषण गरिने हुँदा नयाँ भविष्य निर्माणतर्फ व्यक्तिलाई उत्साहित बनाउँछ र त्यही उत्साह कायम भएकै अवस्थामा भविष्यको साझा परिकल्पना गराइन्छ । वास्तवमा नयाँ सकारात्मक भविष्यको निर्माण गर्न तर्कसहितको परिकल्पना महत्त्वपूर्ण आधार हुन्छ र यदि आइन्स्टाइनकै भाषामा भन्ने हो भने ज्ञानभन्दा परिकल्पना गर्ने क्षमता शक्तिशाली हुन्छ । भविष्यप्रति साझा परिकल्पना हुने हुँदा सबै परिकल्पनाकारको सक्रिय सहभागितामा सिर्जनशील रूपमा आफूले चाहेका भविष्य परिकल्पना गरिन्छ र यस प्रक्रियामा सबैको सहभागिता हुन्छ, जसले पूर्ण समावेशीकरणको प्रत्याभूति गराउँछ, सबैमा नयाँ उत्साह, उमंग, जोस र जाँगर बढाउँछ ।

सबैका सिर्जनशीलता समेटेर साझा परिकल्पना तयार गरिन्छ, जसले गर्दा त्यस्तो परिकल्पनामा सबैको स्वामित्व, पहिचान तथा अपनत्व झल्किन्छ र त्यसको प्राप्तिका लागि सबै प्रतिबद्ध भएर एकअर्कालाई सम्मानसाथ हातेमालो गर्दै अगाडि बढ्ने वातावरण सिर्जना हुन्छ । यसरी गरिएको परिकल्पना प्राप्त गर्न के कस्ता नीति, नियम र रणनीति आवश्यक पर्छन् भन्नेबारे पनि सहभागितामूलक छलफल गरेर खाका तयार गरिन्छ, जसले गर्दा सबै सहभागी भई काम गर्न हौसला प्राप्त हुन्छ । यसबाट नयाँ भविष्य निर्माण हामी सबैको जिम्मेवारी हो भन्ने भावना विकास हुन्छ । नेता, कर्मचारी तथा राजनीतिज्ञलाई दोषारोपण गर्ने परम्परा अन्त्य हुन्छ । सामूहिक रूपमा खाका बनाएपछि कसले के गर्ने, कसले के काममा योगदान दिन सक्छ र कति समयमा कार्यान्वयन गरी सकिन्छ भन्ने कार्ययोजना पनि सामूहिक रूपमा तयार गरिन्छ र सोमुताबिक काम गर्ने तयारी गरिन्छ र यसरी काम गर्दा यस कामको समापनसँगसँगै नयाँ भविष्य निर्माण गरिएको हुन्छ । यस पद्धतिमुताबिक काम गर्दा समाजमा शान्ति निर्माण र सामाजिक समावेशीकरणमा महत्त्वपूर्ण योगदान पुग्छ । काम गर्ने सबैलाई प्रशंसा गरिन्छ, सबैको दृष्टिकोणका आधारमा नयाँ परिकल्पना तयार गरिन्छ, त्यस्तो परिकल्पना प्राप्तिको महसुस गरी साकार पार्ने नीति तथ रणनीति तयार गरिन्छ ।

अनि, सोहीमुताबिक कार्य योजना बनाएर कार्यान्वयन गरिन्छ । यो सिंगो प्रक्रियामा कसैको आलोचना तथा कसैमाथि दोषारोपण गरिँदैन । हाँसीहाँसी उत्साहवद्र्धक रूपमा सम्पूर्णको सहभागितामा सबैलाई मान्य हुनेगरी कार्य सम्पादन गर्न सकिन्छ । यस प्रक्रियामा प्रवेश गरिसकेपछि को ठूलो, को सानो भन्ने भावना हुँदैन । सबैको समान अस्तित्व र आवश्यकता महसुस हुन्छ र सबैले सबैलाई सम्मान व्यक्त गर्छन् । त्यसबाट एउटा नयाँ सामाजिक संस्कार र नयाँ सामाजिक वास्तविकता निर्माण गर्न सहयोग पुग्छ । के तीक्तता, आलोचना र दोषारोपणले भरिएको नेपाली राजनीतिमा यो पद्धति प्रवेश गराएर, सबैको सम्मानजनक सहभागितामा नयाँ नेपालको नयाँ संविधान बनाएर, समावेशी नयाँ नेपाल निर्माण गरी समृद्ध नेपालको आधार तयार गर्दै राजनीति एक सम्मानित र पवित्र पेसा हो भन्ने मान्यता स्थापित गराउन नेपाली राजनीतिक क्षेत्र तयार होला त ?
साभार : नयाँ पत्रिकाबाट


IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.