पछिल्ला सामग्री :
‘बालबालिकाका सामग्री विवेकपूर्ण ढङ्गले प्रस्तुत गरिनुपर्छ’

काठमाडौँ /  सञ्चारमाध्यमले बालबालिका विषयमा सामग्री सम्प्रेषण गर्दा विवेकपूर्ण ढङ्गले विशेष सतर्कता अपनाइनुपर्नेमा विज्ञले जोड दिएका छन् ।

सेभ द चिल्ड्रेनको सहयोगमा बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान (सिजप) ले  नगरकोटमा २० र २१ जेठमा आयोजना गरेको दुईदिने ‘बालमैत्री समाचार लेखन’ कार्यशालाका प्रशिक्षकले घटना केन्द्रितमात्र नभई खोजमूलक र राज्यलाई उत्तरदायी बनाउने किसिमका बालबालिकासम्बन्धी समाचारलाई महत्व दिनुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सहप्राध्यापक कुन्दन अर्यालले समाचारलाई आकर्षक र बिकाउ बनाउने नाममा बालबालिकामाथि गम्भीर किसिमका असर पर्ने ठेगाना तथा तस्बिर समाचारमा प्रयोग गर्न नहुने सुझाव दिनुभयो । काठमाडौँ स्कुल अफ लका सहप्राध्यापक मिलन धरेलले बालबालिकासम्बन्धी समाचार लेख्दा सरोकारवाला सबै पक्षको धारणा समेट्नुपर्ने बताउनुभयो ।

सिजपका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले बालअधिकार, सन्धि, ऐन, कानुन र विश्वव्यापी मान्यताका अवधारणालाई ख्याल गरेर विषयवस्तु प्रस्तुत गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विभिन्न सञ्चारमाध्यमका करिब २० सञ्चारकर्मीको सहभागिता रहेको कार्यशालामा बालमैत्री समाचार लेखन, बालअधिकार महासन्धि र समाचार सङ्कलन, पत्रकार आचारसंहिता, बालमैत्री समाचारका विषयवस्तु, खोजमूलक समाचार र त्यसका लागि चाहिने विविध आयामका विषयमा अभिमुखीकरण गराइएको थियो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.