पछिल्ला सामग्री :
‘इमानदार भए बागमतीको सभ्यता फर्किन्छ’

पूर्वविज्ञान, प्रविधि तथा वातावरणमन्त्री, नेकपा संयुक्तका सहअध्यक्ष गणेश साहको पछिल्लो समय फरक पहिचान बनेको छ । उहाँ बागमती सरसफाइ अभियानमा लागिरहनुभएको छ । भरखरै वातावरण दिवसका अवसरमा उहाँकै अगुवाइमा बागमतीमा २५ वटा माछाका भुरासमेत छाडिएको छ । उहाँले बागमतीमा माछाका भुरा छाडे पनि केही वातावरणविदले माछाका भुरा बाँच्ने अवस्थाको पानी बागमतीमा नभएको भन्दै केही आलोचनासमेत खेप्नुपर्‍यो । राजनीतिकसँगसँगै वातावरणको क्षेत्रमा सक्रिय शाहसँग नेपालवाणी नेटवर्कका लागि शम्भु रेग्मीले गरेको कुराकानीको अंश ।

तपाईं आजभोलि बागमती संरक्षणमा निकै लाग्नुभएको छ, यसका लागि के गर्दै हुनुहुन्छ ?
बागमती हाम्रो सभ्यता र संस्कृतिको प्रतीक भएकाले यसको संरक्षण आवश्यक छ । तसर्थ म यसको संरक्षण गर्ने अभियानमा संलग्न भएको हुँ । सफा नदी शान्तिको प्रतीक हो । त्यसैले मैले विगत दुई वर्षदेखि रिभर अफ ग्रिन क्याम्पेनिङ (रोप)अन्तर्गत बागमती पुनस्र्थापनका लागि निम्न कार्य गरिरहेको छु ।
१. बागमती सफाइ, संरक्षण तथा पुनस्र्थापनमा संलग्न विभिन्न गैरसरकारी संस्थाबीच सहकार्य गर्ने, एक संस्थाले अरू संस्थालाई सघाउने, त्यसैअन्तर्गत यस वर्ष अन्तर्राष्ट्रिय पानी दिवसको उपलक्ष्यमा विभिन्न संस्थाहरूसँग मिलेर ‘नेपाल वाटर डे २०१३’ विभिन्न कार्य गरी सफल भयो ।
२. बागमती पुनस्र्थापनाका लागि आवश्यक प्राविधिक जनशक्तिको अवश्यकता पर्ने भएकाले युवा वैज्ञानिक र प्राविधिकहरूलाई पानी संरक्षण, सरसफाइसम्बन्धी प्राविधिक गोष्ठी, सेमिनार, सम्मेलन गरी युवा वैज्ञानिक एवं प्राविधधिको सक्षमता अभिवृद्धि गर्ने ।
३. समय–समयमा सम्बिन्धत निकायको बागमती समस्याबारे ध्यानाकर्षण गर्ने ।

तपाईं विज्ञान, प्रविधि तथा वातावरणमन्त्री रहँदा वातावरण संरक्षणका लागि कस्ता कार्य गर्नुभयो ?

वातावरण संरक्षणका लागि भएका निकायहरूको परिचालन र आवश्यक पर्ने अन्य निकायको गठन कार्यलाई प्राथमिकता दिइएको थियो ।
त्यसअन्तर्गत, वातावरण संरक्षण परिषद्लाई सक्रिय बनाउने वातावरण संरक्षण ऐनअनुसारको कारबाहीका लागि वातावरण निरीक्षक, इन्सपेक्टर पठाउने ।
वातावरण विभागको गठन प्रक्रियालाई अगाडि बढाएको र अहिले वातावरण विभाग गठन भएको छ ।
नीतिअन्तर्गत उपत्यकामा वायु प्रदषणका लागि पेट्रोलियम पदार्थको र नदी प्रदूषणका लागि घरजगा पास गर्दा ट्याक्स लगाइयो । यो ट्याक्स अहिले करिब चार अर्ब पुगेको छ । र सो रकम वायु प्रदूषण र नदी प्रदूषण नियन्त्रणमा खर्चु गर्नुपर्छ ।

वातावरण संरक्षणसम्बन्धी नीतिबारे तपाईको भनाइ के छ ?
हामीकहाँ वातावरण संरक्षणसम्बन्धी नीति पर्याप्त छजस्तो लाग्दैन । भएका नीतिको कार्यान्वयन गर्ने निकायको अभाव छ । नीति निर्धारणमा विज्ञ एवं प्राज्ञको पर्याप्त सहभागिता छैन । नीतिको स्वामित्व पनि लिइने गरेको छैन । त्यसैले समयअनुसार विज्ञ, प्राज्ञको सहभागितामा नीति निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।

वातावरण संरक्षणका निम्ति भनेर विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाले थुप्रै कार्यक्रम गर्ने गरेको पाइन्छ, तर पनि उल्लेख्य सफलता भने हासिल गर्न सकिरहेको अवस्था छैन किन होला ?
विभिन्न निकायले कार्यक्रम गरेका छन् तर, ती प्रयास पर्याप्त छैन । साथै कार्यक्रमबीच तालमेल छैन । अत: कार्यक्रम गर्नेले सम्बन्धित निकायसँग छलफल गर्ने आवश्यक कायक्रम गरेमा हामी केही सफलता पाउन सक्नेछौँ ।

बागमती नदीको हालको अवस्थाको जिम्मेवार कसलाई ठान्नुहुन्छ ? सरकार, राजनीतिक पार्टी, आमनागरिक वा अन्य कोही ?
हामी सबै जिम्मेवार छौँ । तर, प्रमुख रूपमा केन्द्रीय सरकारका साथै महानगरपालिका यसका लागि बढी जिम्मेवार छ । यसको साथसाथै राजनीतिक पार्टीले पनि यस कार्यक्रममा आफ्ना कार्यकर्ता संलग्न नगराएकाले तिनी पनि यसबाट पन्छिन मिल्दैन । आम रूपमा हामी सबै नागरिक जिम्मेवार छौँ ।

बागमतीको सरसफाइका लागि थुप्रै वैदेशिक सहायता, गैरसरकारी संघ–संस्थाहरूले लगानी गरेको छ, तर आमनागरिकको गुनासो बागमतीमा पैसा मात्रै बग्यो, सफा पानी बगेन । यसमा तपाईंको भनाइ के छ ?
नदी संरक्षण र सफाइ पैसाले मात्रै हुँदैन भन्ने कुराको प्रमाणका रूपमा लिनुपर्छ । नदी संरक्षण र सफाइ यो हाम्रो संस्कृति, व्यवहार र नदीप्रति हाम्रो दृष्टिकोणमा भर पर्छ । त्यसैले उपत्यकावासीलाई आफ्नो नदी सफा गर्न आफैँ लगानी गर्नुपर्छ । मलाई पूर्ण आशा र विश्वास छ । कि हामी सबै इमानदारीपूर्वक लाग्यो भने यसको जीवन मात्र होइन सभ्यता पनि फर्किन सक्छ । र फर्काउनुपर्छ यसका लागि बागमती सभ्यताको कार्यान्वयन आवश्यक छ । जसमा
१. मुहानमा पानी नरोकेर फोहरविना बग्न दिने
२. वर्षाको पानी संकलन
३. फोहोरको व्यवस्थापन गर्नुपर्ने
४. नदी संरक्षणका लागि बेग्लै ऐनको तर्जुमा गर्नेलगायतका वैज्ञानिक गतिविधि बनाएर हामी बाग्मतीलाई पुनर्जिवन दिन सक्छौँ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.