पछिल्ला सामग्री :
यसरी शान्त भयो अपराधको राजधानी

11
नारायणी अञ्चल प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालको पुख्र्यौली थातथलो तनहुँ भए पनि काठमाडौंका रैथाने हुन् । लैनचौरस्थित शान्ति विद्यागृहबाट ०३८ सालमा प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेका खनालले त्रिविबाट जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । उनले सरकार–माओवादीको निर्णायक वार्ता तथा मधेस आन्दोलनको वार्ताको कुशलतापूर्वक सुरक्षा जिम्मेवारी सम्हालेका थिए । काठमाडौं आएका बेला खनालसँग नारायणी अञ्चलमा अपराध नियन्त्रणमा उनले खेलेको भूमिका तथा प्रहरीको छविबारे गरिएको कुराकानी :-
गुन्डासँग मुकाबिला
०४६ सालमा खुला प्रतिस्पर्धाबाट नेपाल प्रहरीको इन्सपेक्टरबाट सेवा प्रवेश गरेँ । प्रहरी एकेडेमीको १४ महिनाको तालिमपछि म ट्रेनरका रूपमा छानिएँ । अहिलेको महाराजगन्जको प्रहरी एकेडेमीलाई उतिवेला ट्रेनिङ सेन्टर भनिन्थ्यो । फिल्डको अनुभवसँगै ०४८ सालमा त्यसवेलाको सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिने बारामा सरुवा भएँ । उतिवेला सो ठाउँमा गुन्डागर्दी, डाँकाको बिगबिगी निकै थियो । तस्करी नियन्त्रण गर्न र अलि डर देखाउन सक्ने व्यक्ति चाहियो भन्दै मलाई वीरगन्ज पठाइएको थियो । एकै ठाउँमा हतियारधारी डाँकाले नौजनाको हत्या गरेपछि म त्यहाँ गएर उसलाई ढालेँ ।
अपराधको राजधानी’ गएपछि
वीरगन्जलाई क्राइमको क्यापिटल भन्ने गरिन्थ्यो । अहिले झन्डै शून्यको अवस्थामा छ । म गएपछि अपराधको माहोलै नियन्त्रण भएको भन्नुपर्छ । यो क्षेत्र शान्त समाजका रूपमा परिवर्तन भएको छ । कति अपराधी प्रहरीको कारबाहीमा मारिए, कति समातिए । समग्रमा भन्ने हो भने नारायणी अञ्चलभरिकै अझै विशेष गरेर बारा, पर्सा र रौतहटमा आमूल परिवर्तन नै भएको छ, जुन त्यहाँका स्थानीयले पनि महसुस गरेका छन् ।

प्रहरीमा राम्रो को–अर्डिनेसन गरी ३०–३२ जना मान्छे मारेको नियन्त्रण नै लिन नसक्ने फरार अपराधीहरूलाई पनि पनि मेरै कमान्डमा नियन्त्रण गर्ने सफलता मिल्यो । नारायणी अञ्चल बसाइका क्रममा धेरै अपराधीलाई कानुनी दायरामा ल्याउन सफल भएँ ।
वीरगन्ज जाँदाजाँदै एउटा बच्चा अपहरणमा परेको थियो । करिब एक साताको समयमा बच्चा फिर्ता ल्यायौँ । जवाफी कारबाहीमा दुई अपहरणकारी ढले । त्यस्तै, भारतीय डाँकाको ठूलो गिरोह रौतहटमा बस्थ्यो । देख्दै डरलाग्दा ती प्रहरी कारबाहीमा ढले । त्यस्तै अन्य गुन्डा पनि नियन्त्रणमा आए । गुन्डागर्दी साफै भयो । नेपालमा भित्रिने अपराधको मुहान वीरगन्जलाई मानिन्छ, मुहान साफ भएपछि राजधानीमा पनि अपराधका घटनामा न्यूनीकरण आयो ।
सामाजिक कार्यमा जनताको साथ
यस्तै वीरगन्ज नगर तुल र ब्यानरले कुरूपै भएको थियो । बाँसका गेटले गर्दा सहरको रूपै अस्तव्यस्त थियो । ६०र७० वटा गेट फालियो । सडकको अतिक्रमण हटाइयो । सडक च्यापेका ठूलाठूला होर्डिङबोर्ड हटाइयो । कन्टेनर राखेर सहरको सफाइ अभियान थालियो । सार्वजनिक जग्गा अतिक्रमण भएका सबैलाई आइरन गेटसँग जोडियो । ‘गेटवे अफ नेपाल’मा सात घन्टासम्म ट्राफिक जाम हुन्थ्यो । इमेज खत्तम थियो । मैले सडक विभागसँग सहकार्य गरेर सडक मर्मत गर्ने, पिच गर्ने, ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन गर्ने कामको नेतृत्व लिएँ ।
सडक दुर्घटना न्यूनीकरणदेखि हाइवेमा गएर जनतालाई जागरण हुने काम हाइवे–किनारमा पाल टाँगेरै भए पनि गराएँ । परिणाम राम्रो निस्किएको छ । बालविवाह, दाइजो प्रथा, सामाजिक अपराधका विरुद्धमा अभियान नै चलाइयो । बारा, पर्सा, रौतहटमा हजारौँको जनसहभागितामा कार्यक्रम सम्पन्न भए । यसले समाजमा सकारात्मक सन्देश गयो । सामाजिक कुरीतिविरुद्ध राजनीतिक पार्टीहरूले पनि सार्वजनिक कमिटमेन्ट गरे । प्रहरीका करोडौँ पर्ने भवन पनि जनता आफैँले स्वस्स्फूर्त रूपमा बनाइदिएको अवस्था पनि छ ।
कतिपय संस्थागत गिरोहबाटै तस्करी भए भन्ने गुनासा थिए । ती सबै भत्काइयो । भन्सारबाट भित्रिँदा होस् वा बाहिर जाँदा, सबै गैरकानुनी ट्रक समातियो । अपराधको जालो तोडियो । अपराधीको भागाभाग छ । लागुऔषधका रूपमा प्रयोग हुने गाँजाखेती निमिटयान्न भयो । यातायात कार्यालयमार्फत नचाहिने किसिमले सवारीचालक लाइसेन्स जारी गरियो भन्ने गुनासो आएपछि त्यहाँ छापा हान्न लगाएँ । सात कर्मचारी बर्खास्त भए । भन्सारमा पनि सोहीअनुरूप काम भयो । एक डेढ दशकदेखि मैँ हुँ भन्ने तस्करलाई पनि ठेगान लगाइयो, जसले गर्दा राजधानीमा भित्रिने हतियार ठप्प भएको छ ।
नारायणीमा मुस्कानसहितको सेवा
मुस्कानसहितको सेवा नारायणी अञ्चलमा सकारात्मक छ । हामीले गरेको नेतृत्वमा उहाँहरू सन्तुष्ट हुनुहुन्छ । अरू मिडियामा पनि देख्न सकिन्छ । यदि प्रहरी संगठनभित्र पनि केही कमिकमजोरी देखिए हामीले तत्काल त्यसलाई रोक्ने पहल गरेका छौँ । तस्करहरूसँग साँठगाँठ हुनेलाई हामीले कारबाही गर्‍यौँ । गुन्डासँग सम्बन्ध भएकालाई पनि कारबाही गर्‍यौँ । हामीले संस्था शुद्धीकरणका लागि काम गर्‍यौँ । राम्रा काम गर्ने प्रहरी पुरस्कृत भएका छन् । जसमा बारा जिल्लाको कहलिएको फैजान अहमद सार्पसुटरलाई गोली हान्दा–हान्दै मेरै मातहतकै प्रहरीले समातेको हो । आफू गोली लागेर गुन्डा समात्न प्रहरी सफल भएको कारणलाई पनि जनताले सकारात्मक रूपमा लिएको हामीले महसुस गरेका छौँ ।
आर्थिक प्रलोभन
केही मन्त्रीले आर्थिक प्रलोभन पठाएकाउदाहरणहरू पनि छन् । जनकपुरमा बस्दा आफ्नै डिएसपी लगाएर एसपीलाई कसरी हुन्छ खुवाउनुपर्‍यो भने । काठमाडौं परिसरमै रहँदा पनि प्रलोभन देखाइयो । त्यहीँ रिगरेसन सेन्टरका हाकिमलाई नै थुनिदिएँ मैले । त्यतिखेरका घटना हेर्दा एक चन्द थरका थिए, एक पुष्करलाल भन्ने थिए । निकै आर्थिक प्रलोभन देखाए । अहिलेसम्म एकदिन पनि कसैसँग गलत नियतले रेस्टुरेन्ट गएर खाएको छैन ।
प्रहरी कस्तो बन्ने ?
पहिले जनमानसमा प्रहरी बन्न धेरै पढ्नुपर्दैन भन्ने मानसिकता थियो । वास्तवमा प्रहरी धेरै अध्ययनशील हुनुपर्छ । कसैलाई लाठी वा बन्दुक नै हान्नुपर्‍यो भने पनि त्यहाँ ब्रेनको प्रयोग गर्नुपर्छ । लाठी र बन्दुक बोकेको छ भन्दैमा हान्न पाउने अधिकार छैन । त्यसको सही प्रयोग मूल कुरा हो । कुन वेला के बोल्ने रु कस्तो बोल्ने रु काउन्सिलिङ कसरी गर्ने रु अपरेसन कसरी लन्च गर्ने रु भन्ने सबै दिमागले गर्ने कुरा हुन् । जसमा आँट पनि सामेल हुन्छ ।
प्रहरी बन्न पहिला आफू देशका लागि होमिन तयार छु भन्ने प्रतिबद्धता हुनुपर्छ । त्यसपछि यसलाई कुशलतापूर्वक प्रयोग गरेर आफ्नो क्षमतामा विकास गर्नुपर्छ । हरेक चुनौतीसँग जुध्न सक्नुपर्छ । गरेका काम बुझाउन सक्ने, जनतासँग आफ्नो कुरा राख्न सक्ने, उनीहरूको समस्या सुन्न सक्ने, बुझ्न सक्ने खालको प्रतिभा हुनु जरुरी छ प्रहरीमा ।
मेरो हिसाबमा, नचाहिने काम गर्नेलाई कारबाही गर्ने भनेको प्रहरीले हो । नचाहिने  काम गर्ने अपराधी त प्रहरीसँग डराउनुपर्छ नि । सज्जन मान्छेका अगाडिचाहिँ प्रहरी डराउने वातावरण हुुनुपर्छ । विकसित देशमा यसमा खुबै सुधार भएको देखिन्छ, हाम्रोमा पनि हुनुपर्छ । न्युयोर्क, युएनको स्याट, पाकिस्तानसँग स्याट लिन जाने क्रममा मैले यो अनुभव गरेँ ।
काम धेरै साधन कम
कामको क्षेत्र धेरै छ, तर स्रोत–साधन निकै कमी । नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न सकिराखेकै छैनौँ । बाटो, बिजुलीको अवस्था राम्रो छैन । जनतामा प्रहरीप्रतिको अपेक्षा धेरै छ । सबै काम प्रहरीले नै गरिदिनुपर्छ भन्छन् । राति कसैले कसैलाई जिस्क्याए पनि प्रहरीलाई जिम्मेवार ठहर्‍याइन्छ । त्यहाँ गएर बत्ती बालिदिने काम त प्रहरीको हैन नि । पूर्वाधारले गर्दा काममा अप्ठ्यारो छ । सडक राम्रो होस्, बत्ती प्रशस्त हुन्, अपराध आधा नियन्त्रण भइहाल्छ नि । यति हुँदाहुँदै पनि नेपाल प्रहरीले धेरै उत्कृष्ट काम गरेको छ ।
शम्भु रेग्मी -नयांपत्रिका
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.