दिव्योपदेशका प्रमुख अंश::

▪ बूढा मरे भाषा सरे भनी भन्छन् । तिमीहरू सबैछेउ सुनाई गएमा तिम्रा सन्तानलाई सुनाउलाउ र तिम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउनन् र यो राज्य थामी खानन् ।
▪ दुनियाँ जसदेखि राजी रहन्छन्, उसैलाई कजाइँ दिनू ।
▪ यो राज्य दुई ढुङ्गाको तरूल जस्तो रहेछ ।
▪ चीनबादशाहसित ठूलो घा राख्नू ।
▪ दख्खिनका समुद्रका बादशाहसित घा ता राख्नू, तर त्यो महाचतुर छ । हिन्दुस्थान दबाइराखेछ । सरजमीनमा परिरहेछ । हिन्दुस्थान जम्यो (मिल्यो) भने कठिन पर्ला भनी किल्ला खोज्न आउनेछ । सन्धिसर्पन हेरी गढी तुल्याई राख्नू र रस्तारस्तामा भाँजा हालिराख्नू । एक दिन त्यो बल आउनेछ । जाई (गई) कटक (लडाईं) नगर्नू, झिकी कटक गर्नू ।
▪ यो नेपालको तखत (राज्य) किल्ला हो । यो किल्ला पायो भने चारै बादशाहलाई ओह्रालो लाउन्यैछ (हराउनेछ) । ईश्वरले रचना गरेको किल्ला रहेछ । ......... किल्लापिच्छे तोप लम्छट गरी राखिदिनू ।
▪ उप्रान्त राजा राम शाहले बाँधेका स्थिति पनि हेरिसकेँ । राजा जयस्थिति मल्लले बाँधेका स्थिति पनि हेरिसकेँ । राजा महेन्द्र मल्लले बाँधेका स्थिति पनि हेरिसकेँ । ईश्वरले दियो भने म पनि यस्ता बन्देजका बाह्रहजारको (आफ्नो राज्यका दुनियाँको) स्थिति बाँधी जाउँला भन्ने अभिलाषा थियो ।
▪ पूर्व-पश्चिमका रस्ता बन्द गरी नेपालको रस्ता चलाइदिउँला ।
▪ आफ्नाआफ्ना जातविशेषका कर्म (काम) गर्नू (भन्ने) बन्देज गरी जाउँला ।
▪ उप्रान्त देशका (विदेशका) महाजनलाई गढ-पर्सा (पर्सा-गढ) देखि उँभो (मास्तिर) आउन नदिनू । देशका (विदेशका) महाजनहरू हाम्रा मुलुकमा आए भने दुनियाँ(लाई) कङ्गाल गरी (पारी) छाड्दछन् ।
▪ हामीले च्याँगापाँगा लाई तीन शहर नेपाल र नौलाख किरात र हिन्दूपतिको राज आर्जेथ्यौं । देशका (विदेशका) कपडा लगाउनालाई मनाई गरिदिनू । आफ्ना देशका कपडा बुन्न जान्नेलाई नमूना देखाई सधाउनू र बुन्न लाउनू । यसो भए नगद देश (विदेश) जाँदैन ।
▪ आफ्नो देशका जिनिस जरीबूटी देश (विदेश) लैजानू र नगद खैंचनू । नगद खैंची राख्नू । प्रजा मोटा (धनी) भए दरबार बलियो रहन्छ ।
▪ राजाका भण्डार भनेका रैतानहरू हुन् ।
▪ मुलुकमा इजारा (ठेक्का) पनि नदिनू र सरकारबाट अमानत (अड्डा) राखी सरकारिया तहसील (कर उठाउने अड्डा) राखी सालबसालको कच्चा (कच्चावारी.आम्दानीखर्चको फाँटवारी) लिनू ।
▪ मेरा साना दुःखले आर्जेको मुलुक होइन । सबै जातको फूलबारी हो । सबैलाई चेतना भए यो फूलबारीका छोटा बडा चारै वर्ण छत्तीसै जातले यो असल हिन्दुस्थान (नबिटुलिएका हिन्दूहरूको देश) हो (भनी) आफ्नो कुलको धर्म नछोड्नू ।
▪ राजाले ठूलो निञानिसाफ हेर्नू, अन्याय मुलुकमा हुन नदिनू ।
▪ नियानिसाफ बिगार्ने भनेका घूस दिने र घूस खाने हुन् । यी दुवैको त धन र जीउ हरी लिए पनि पाप छैन । यी राजाका महाशत्रु हुन् ।
▪ उप्रान्त जड कुरो राजालाई चाहिने सिपाहीहरू हुन्, तिनलाई घर खेत मिलाईदिनु र मल जल गर्छन् र दुवै बोटी (मोही तल्सिङ दुवैको भाग) भित्र्याउन पाउँछन् र जहानबच्चाको निस्फिक्री हुन्छ ।
▪ हजारौं धनु, हजारौं पत्थरकला (बन्दूक), हजारौं खुँडा, हजारौं तोप भए इन्द्रको आसन पनि डगाइन्छ ।
▪ राजाले विवेक राखिदिए देशदेशका सिपाही पनि आशा राखी आउँछन् । यसो भए तरवारिया सिपाही हात लाग्छन् ।
▪ राजाका सार भनेका सिपाही र रैतीहरू हुन् । राजा चतुर भए सिपाही र रैतीलाई हातहात गरी लिई राख्नू र हूलदङ्गा हुन पाउँदैन ।
▪ सिपाही भनेका तिखारिराख्नू । तिखारिराखेका सिपाही कसैका मुलाहिजामा पस्तैनन् र आफ्नो काज फत्ते हुन्छ ।
▪ राजाको हुकूम जफत (आफ्नै अधीन) गरी राख्नू ।
▪ राजाको चतुर्याइँ भए सिपाही, रैतीलाई हात गरी लिई राख्नू । कसैको मोलाहिजापछि गुणपछि लाग्न नदिनू, नूनपछि लाउनू ।
▪ टकसार पनि चोखो चलाउनू ।
▪ अदालतमा पनि ठकुरी जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थाप्नू । कचहरीपिच्छे एक एक पण्डित राखी न्यायशास्त्रबमोजिम अदालत चलाउनू ।
▪ अदालतका पैसा दरबारभित्र नहुल्नू । फकीर, फकीरा, अतिथि, जोगी, सन्न्यासी, ब्राह्मणहरू यिनैलाई दछिना भोजन चलाइदिनू । उप्रेका पैसाले दछिना चलाई धोती रूमाल चलाइदिनू । यसो भए असत्यको दोष लाग्दैन ।
▪ खानी भएका ठाउँमा गाउँ भएपनि गाउँ अरू जग्गामा सारीकन पनि खानि चलाउनू ।
▪ गह्रो बन्ने जग्गा खेती योग्यमा घर भएपनि घर अरू जग्गामा सारी कुलो काटी खेत बनाई आबाद गर्नू ।
▪ मुगलान नजीकै रहेछ । त्यस जग्गामा अल्लारे ठिटा पातर्नी रहेछन् । चित्रकार भरेका कोठामा ढोलक सितारका रागतानमा भुल्नन् । रागतानमा बडो ठूलो मोह हुन्छ र दौलथ पनि रित्तिन्छ । देशको भेद पनि तिनैले लैजान्छन् र हरीपले दगा गर्छ । रागको अभ्यास कसैले पनि नगर्नू । ती जातलाई पहाडमा आवातजावत पनि कसैले गर्न नदिनू अथवा फागुलाई एक दुई गरी झिकाई चाँडै बिदा गराइदिनू र देशको भेद पनि पाउँदैनन् । आफ्ना सोखसयललाई त शास्त्रबमोजिमको तीनै शहर नेपालका नेवारहरूका नाच झिकाई हेरे पनि हुन्छ । यिनमा त दिएको पनि आफ्नै देशमा रहन्छ । यसो भए आफ्नो देश अगम (सुरक्षित) रहन्छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.