पछिल्ला सामग्री :
पूर्वराजा ज्ञानेन्द्रको २०६३ फागुन ७ गतेको सन्देश...!

प्यारा देशवासीहरू, आज हामी ५७ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउँदै छौं । जनताको हकको लागि राजा र जनता मिलेर गरेको सफल प्रयासलाई सम्झाउने यस ऐतिहासिक दिनमा प्रजातन्त्र प्रवर्तक पुज्य जिज्यू बुबाज्यू स्वर्गीय श्री ५ त्रिभुवन तथा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं । नेपालको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र जनताको चाहना नै राजसंस्थाको चाहना रहने गरेको तथ्य हाम्रो गौरवशाली इतिहासको आधारभूत पक्ष हो । तत्कालीन निर्वाचित प्रधानमन्त्रीको सिफारिसमा संविधानबमोजिम प्रतिनिधिसभा विघटन भएको र निजले संविधानले तोकेको अवधिमा निर्वाचन गराउन नसकेको तथा त्यसपछि बनेका सरकारहरूले पनि निर्वाचन गराउन नसकेको तथा त्यसपछि बनेका सरकारहरूले पनि निर्वाचन गराउन नसकेकोले शान्तिसुरक्षा कायम गरी जननिर्वाचित निकायहरूलाई जीवन्त तुल्याउने तत्कालीन परिस्थितिको बाध्यता एवम् जनताको चाहनाबमोजिम २०६१ माघ १९ गते हामीले कदम चाल्नुपरेको कुरा प्रस्टै छ । विभिन्न व्यवधानहरूले गर्दा अठोट गरेअनुसार जनताको प्रतिनिधित्व गर्ने निकायहरू निर्वाचनद्वारा स्थापित गराउन सकिएन । करिब १५ महिनाका अवधिमा भएका कोसिस, सफलता र असफलताको जस अपजस नैतिक रूपमा हाम्रो पनि हो । तर हाम्रो एकमात्र चाहना जनताले आफ्ना निर्वाचित प्रतिनिधिहरूमार्फत शासनभार ग्रहण गर्न पाउनुपर्छ भन्ने नै रहेकोले बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवम् समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने विश्वासमा २०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापित गरिएको कुरा पनि सर्वविदितै छ । बहुदलीय प्रजातन्त्र सुदृढ बनाउन सम्पूर्ण नेपालीको गुनासो, आकांक्षा र भावनालाई सबैको चित्त बुझ्ने गरी परिपक्क ढंगमा सम्बोधन गरेर जननिर्वाचित निकायहरूको स्थापना गर्नुपरेको छ । नेपाल गाउँ, सहर, तराई, पहाड र हिमालमा बस्ने तराईवासी, आदिवासी, जनजाति र दलित सबै नेपालीको साझा फूलबारी हो । यही शाश्वत सत्यलाई पालन गरेर नै नेपालको राष्ट्रियता र अखण्डता जोगिएको कुरा सबैका लागि सधैँ स्मरणीय छ । नेपालका लागि नेपाली जनता नै मार्गदर्शक हुन् । नेपाली जनता बहुदलीय प्रजातन्त्रको सार्थक अभ्यासद्वारा समुन्नत नेपालको निर्माण गर्न चाहन्छन् । इतिहासको सम्मान गरेर मात्रै आफ्नो विशिष्ट पहिचान सुरक्षित रहन्छ भन्ने स्वाभिमान नेपालीहरूको अटल विश्वास छ ।राष्ट्रिय प्रजातन्त्र दिवसले सबै नेपालीको भावनात्मक सहमति र सक्रिय सहभागिता सुनिश्चित गरी, जनताको इच्छाको सर्वोच्चतालाई सुमेरु मानेर बहुदलीय प्रजातन्त्रको माध्यमबाट नेपाल र नेपालीको बृहत्तर हितमा समर्पित रहन सबैलाई प्रेरणा देओस्, यही हाम्रो कामना छ ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.