पछिल्ला सामग्री :
नागरिकका ६ पत्रकारलाई निष्कासनको ‘षड्यन्त्र’


नेपाल रिपब्लिक मिडियाका ६ जना पत्रकारको जागिर चट हुने अवस्थामा पुगेको छ । माघ मसान्तमा करार अवधि सकिन लागेका नागरिकका सुरुवाती कालका ६ पत्रकारको करार नवीकरण नहुने पक्का भएपछि उनीहरुको जागिर धरापमा परेको हो ।
करार थप नगरिएका कारण नागरिकका पत्रकारहरु चंकी श्रेष्ठ, मनोज दाहाल, माधव ढुंगेल, श्याम भट्ट, गोविन्द परियार र नवीन अर्यालको जागिर धरापमा परेको श्रोतले बतायो ।
रिपब्लिक मिडियाबाट निष्कासन गर्नैका लागि उनीहरुको करार अविधि नबढाइएको श्रोतले बतायो ।
हरेकपटक १–१ वर्षको करार थप गर्ने गरेपनि पछिल्लोपटक कात्तिक महिनामा यि पत्रकारको ४ महिनामात्र करार थप गरिएको थियो । ‘माघ मसान्तमा करार सकिन्छ तर नवीकरण नुहुने निश्चित भएको छ’, श्रोतले भन्यो ।
चंकी श्रेष्ठ सुरुमा नागरिकको अपएड पेज हेर्ने गर्थे । सम्पादकका रुपमा किशोर नेपाल आएपछि उनी अक्षर पृष्ठमा थन्क्याइएका थिए । सम्पादनमा दख्खल राख्ने पत्रकार मनोज दाहाल पछिल्लो समय रिपोर्टिङ समेत गर्थे । उनी नागरिक शनिबारको कोअर्डिनेटर थिए ।
पत्रकार माधव ढुंगेल संविधानसभा तथा दलीय राजनीति बिटमा कार्यरत थिए । उनले राष्ट्रपति बिट समेत सम्हालेका थिए । पछिल्लो चरण उनका धेरै समाचार नागरिकमा ‘किल’ भएको श्रोतले जानकारी दियो ।
नवीन अर्याल खेलकूद बिटमा कार्यरत थिए । पत्रकार श्याम भट्ट वातावरण तथा प्रशासनीक विषयमा दख्खल राख्छन् । पत्रकार गोविन्द परियार काँग्रेस बिट हेर्ने गर्थे ।
निष्कासनको लिस्टमा परेका यि पत्रकारले नागरिकमा चार वर्षभन्दा बढी समयदेखि श्रम खर्चेका छन् ।
कुनै पनि उद्योग कलकारखाना, संघ संस्थामा २ सय ४० दिन काम गरेको व्यक्तिलाई स्थायी नियुक्ति दिनु पर्ने व्यवस्था नेपालको श्रम ऐनमा छ । नेपालको श्रम ऐनले यस्तो व्यवस्था गरेपनि झण्डै ५१ महिना काम गरेका नागरिकका पत्रकारहरुको भने जागिर चट हुन लागेको हो ।
‘ओभर स्टाफिङ नियन्त्रणको प्रयास’
नागरिक दैनिकका सम्पादक किशोर नेपालले नागरिकका केही पत्रकारको करार थप नभएको पुष्टी गरे ।
कर्मचारी बाहिरिनु नौलो नभएको र यो सम्बन्धित संस्थाको आन्तरिक मामिला भएको उनले बताए । ‘यो हाम्रो आन्तरिक मामिला हो । केही साथीहरुको कन्ट्रयाक्ट रिन्यू नभएकोमात्र हो’, सम्पादक नेपालले भने, ‘कम्पनीमा पहिलेदेखि नै ओभर स्टाफिङ थियो । त्यसैलाई डाउनसाइजिङ गर्न लागिएको हो ।’
श्रमजीवि पत्रकार ऐन अनुसार कुनैपनि मिडियामा कार्यरत कूल कर्मचारीको १५ प्रतिशतलाई मात्र करारमा राख्न पाइने भएपनि नेपाल रिपब्लिक मिडियाका अधिकांश कर्मचारी करारमा छन् ।
पत्रकारहरु कानूनी लडाईँको तयारीमा
कम्पनीले षड्यन्त्रमूलक ढंगले निस्कासन गर्न खोजेको भन्दै करार नवीकरण नभएका पत्रकारहरु भने कम्पनी बिरुद्ध कानूनी लडाईँ गर्ने तयारीमा छन् । श्रम ऐनले गरेको व्यवस्था कार्यान्वयन नभएको भनेर समाचार प्रकाशित गर्ने सञ्चारमाध्यम आफैले ऐनको धज्जी उडाउएपछि उनीहरुले कानूनी बाटोको विकल्प नदेखेका हुन् ।
‘करार थप नगर्नुको नियत बुझ्दै छौँ । पत्रकारको पेशागत सुरक्षा भनझन् कमजोर बनेको छ । अधिकार रक्षाका लागि कानूनी बाटोमा पनि जान सक्छौँ’, पत्रकार मनोज दाहालले भने, ‘कस्तो बाटोबाट जाँदा हुन्छ, हामी छलफल गर्दै छौँ ।’
सुरुमा प्रेस काउन्सिलमाफर्त न्यायको खोजी गरिने र समाधान ननिस्के सर्वोच्च अदालतको ढोका ढकढक्याउने दाहालले जानकारी दिए ।
नागरिक बहिर्गमनको श्रृंखला
नागरिकबाट पछिल्लोसमय धेरै पत्रकार बाहिरिएका छन् । तत्कालीन सम्पादक नारायण वाग्लेबाट सुरु भएको बहिर्गमनको श्रृंखला अब सामूहिक बर्हिगमनसम्म पुगेको छ । पत्रकार गुणराज लुइँटेल, सुदीप श्रेष्ठ, किरण भण्डारी, गोविन्द अधिकारी, बुद्धिसागर लगायतले नागरिक छोडिसकेका छन् ।
नेपाल रिपब्लिक मिडियामा धेरै पत्रकार लामोसमयदेखि पेन्डुलम भएको श्रोतले बतायो । ‘धेरै साथीहरुलाई लामो समयदेखि जिम्मेवारी बिहिन बनाइएको छ’, श्रोतले भन्यो, ‘असन्तुष्टि झन् चर्किँदो छ ।’
स्रोत :: मिडिया कुराकानी
अब तपाईँको पालो । कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोस् ।
IP

,