पछिल्ला सामग्री :
देउडा गाउँदै डेकेन्द्र (भिडियोसहित)


पृष्ठभूमिमा घरहरु । कलिलो अनुहार, कालो किनारा भएको सेतो ह्याट, अलि परतिर केही खोजिरहेजस्ता एकजोर आँखा । केही छड्के पारेर खिचिएको तस्बिर । उही तस्बिर, कतै रंगीन त कतै श्यामश्वेत । स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको चर्चित तस्बिर ।
उनलाई सम्झन यही तस्बिर, उनीबारे लेखिएका समाचार/ लेख अनि हिंसात्मक बिद्रोहमा भएको उनको क्रुर र दुःखद हत्याको झझल्को त छ हामीसँग । dekendra-raj-thapa
बगेको कर्णाली फर्किन सक्दैन र, सबैका प्रिय बनेका डेकेन्द्रपनि अब फर्किँदैनन् । तर स्वर्गीय पत्रकार डेकेन्द्र अचानक कर्णालीलाई फर्कन आग्रह गर्दै गरेको भेटिए ।
एउटा देउडा गीतमा उनी भन्दैछन् – ‘घुम कर्नाली फर्की यता…….।’
ढाका टोपी लगाएको डेकेन्द्रको माथिको तस्बिर यही देउडा गाउँदै गरेको भिडियोबाट निकालिएको हो ।
स्वर्गीय डेकेन्द्रले २०५९ सालमा गाएको देउडा गीतको भिडियो यतिबेला युट्यूबमा चर्चित छ । देउडा गाउँदै डेकेन्द्र भन्छन् – ‘फेरी भेट अर्दै रौँला……..।’ 
डेकेन्द्रले गाएको ‘धान पयाँलै, मकै सेता……’ बोलको देउडा गीतको भिडियो हेरौँ अनि यो भिडियोको रचनाबारे छोटो चर्चा गरौँला ।


यसरी खिचियो भिडियो
यो भिडियो २०५९ चैत ३ गते खिचिएको हो ।
२०५९ सालको फागुन/ चैततिर ध्रुव बस्नतेसहितका पत्रकारको टोली दैलेख पुगेको थियो । उद्देश्य थियो, दैलेख जिल्ला विकास समितिका लागि दैलेखको परिचय समेटिएको एउटा डकुमेन्ट्री निर्माण गर्ने ।
उनीहरुलाई दैलेख बुझेको र दैलेखमै भिजेको सहयोगी चाहिएको थियो । यस्तैमा भेटिए दैलेखका जुझारु पत्रकार डेकेन्द्र । र, डकुमेन्ट्री निर्माण भयो । माथिको भिडियो सोही डकुमेन्ट्रीको एक भाग हो ।
यो भिडियोले डेकेन्द्रको सम्झना झन् ताजा बनाइदिएको छ ।
द्वन्द्वका पीडा हरेकसँग छन् । झन् यसमा मारिने र बेपत्ता पारिने नागरिकका आआफ्ना पीडा छन्, कथा छन् । ति यसैगरी सार्वजनिक हुनेछन् र हामीलाई हिंसातिर हैन, निर्माणतिर लाग्न प्रेरित गर्नेछन् । आशा गरौँ ।
स्वर्गीय डेकेन्द्रलाई सलाम !
सलाम, यो भिडियो युट्यूबमा राखिदिने पत्रकार ध्रुव बस्नेतलाई पनि ।

स्रोत : मिडिया कुराकानी

र यो पनि हेर्नुहोस्
IP

, ,