पछिल्ला सामग्री :
हत्यामा संलग्नलाई कारबाही गर्न माग

जीवन भण्डारीकाठमाडौँ/ डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्तहरूलाई तत्काल गिरफ्तार गरी कारबाही प्रक्रियाअघि बढाउन नेपाल प्रेस युनियनले माग गरेको छ ।

पत्रकार थापाको हत्यामा संलग्नहरूको कारबाही प्रक्रिया अवरुद्ध भएपछि दैलेख पुगेको युनियनको मिसन टोलीले फरार अभियुक्तहरूलाई कारबाही नगर्दासम्म आन्दोलन रोक्न नहुने निष्कर्षसमेत निकालेको छ । युनियनका उपाध्यक्ष हेमन्त काफ्लेको नेतृत्वमा २७ पुसमा दैलेख गएको टोलीले पक्राउ परिसकेका र फरार भएका सबैलाई कारबाही नगर्दासम्म यस्ता घटना दोहोरिईरहने ठहर गरेको छ ।

युनियनको केन्द्रीय कार्यालयमा आज स्थलगत अध्ययनको लिखित प्रतिवेदन सार्वजनिक गर्दै उपाध्यक्ष काफ्लेले अन्य पत्रकारका हत्याराहरूलाई पनि तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । हत्याराहरूलाई कारबाही गर्दा शान्तिप्रक्रियामा नकारात्मक असर पर्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार र दण्डहीनतालाई प्रशय दिने खालको भएको टोलीले ठहर गरेको छ ।

जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिँदा अख्तियार दुरुपयोगसम्बन्धी ऐनहरू आकर्षित हुने भएकाले प्रधानमन्त्रीलाई पनि पदीय दुरुपयोगसम्बन्धी मुद्दा लगाउन सकिने टोलीको तर्क छ । शान्तिप्रक्रिया खल्बलिने नाममा सबै प्रकारका हत्यामा संलग्नलाई छुट दिन नमिल्ने जिकिर गर्दै युनियनको टोलीले शान्ति सम्झौता अपराधीहरूलाई उन्मुक्ति दिने दस्ताबेज नभएको टिप्पणी गरेको छ ।
सरोकारवालाहरूसँग छलफल गरी तयार पारिएको चार पृष्ठ लामो प्रतिवेदनमा आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएको छ । कार्यक्रममा युनियनका महासचिव शिव लम्सालले मिसन टोलीको सिफारिसअनुसार युनियनले पत्रकारका हत्यामा संलग्नहरूलाई कारबाही नगर्दासम्म विभिन्न स्वरूपमा आन्दोलन र दबाबमूलक कार्यक्रमहरू गरिरहने बताउनुभयो ।

- Nepalbani
IP

,