नेकपा–माओवादी महाधिवेशनमा समूहगत छलफल
काठमाडौँ, २७ पुस/ बुधबारदेखि काठमाडाँैमा सुरु भएको नेकपा–माओवादीको महाधिवेशनमा आज अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ।
काठमाडाँैको प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा आज विभिन्न २१ वटा समूहमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । अध्यक्ष वैद्यले हिजो जनप्रतिरोधसहित संघर्ष गर्ने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिवेदनमा संघीय गणतन्त्र, राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालमा संयुक्त मोर्चा बनाएर अघि बढ्ने तथा दलालनोकरशाह, पुजीपति विरुद्ध जनप्रतिरोध संघर्ष गर्ने उल्लेख छ । समूहगत छलफलपछि आजै बन्दसत्र सुरु हुने भनिएता पनि समयअभावका कारण भोलि बिहान मात्रै सुरु हुने भएको छ ।
भोलि बिहान सुरु हुने बन्द सत्रमा सामूहिक छलफलबाट आएका निष्कर्षहरू प्रस्तुत गर्ने नेकपा माओवादीले जनाएको छ ।
यसैबीच, एकीकृत नेकपा माओवादीको हिजोदेखि राजधानीमा जारी महाधिवेशन आयोजक समितिको बैठकमा आज ७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । पार्टी मुख्यालय कोटेश्वरमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनैतिक दस्तावेजमाथि आज ७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका हुन् ।
बैठकको दोश्रो दिन पार्टी अध्यक्ष प्रचण्डले लगभग एक सय पृष्ठको राजनितिक दस्तावेज प्रस्तुत गर्नु भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । देशको अवस्था बारे केन्द्रीय सदस्यहरूको जिज्ञासाबारे अध्यक्ष प्रचण्डले जनताको परिवर्तनको चाहना र पार्टी पनि सोही बमोजिमअगाडि बढ्ने धारणा व्यक्त गरेको सापकोटाको भनाइ थियो ।
सहमति कायम गरी बैशाख वा जेष्ठमा निर्वाचनमा जानु पर्ने भन्दै प्रवक्ता सापकोटाले त्यसका लागि जनपरिचालन मात्र नभइ आन्दोलनमा पनि जान सकिने बताउनुभयो । आगामी माघ २० गतेबाट मकवानपुरमा हुन लागेको महाधिवेशनका विषयमा छलफल गर्न हिजोबाट सुरु बैठकमा अधिकांश सदस्यहरूले सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका थिए ।
![]() |



