पछिल्ला सामग्री :
सहमति गरी तत्काल मुलुकलाई निकास दिनुस् : राष्ट्रपति

काठमाडौँ, २४ पुस/ राष्ट्रपति डा. रामवरण यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल सहमति गरी मुलुकलाई निकास दिन आग्रह गर्नुभएको छ ।

आज (मंगलबार) बिहान राष्ट्रपतिको कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति यादवले एकीकृत माओवादी ठूलो दल भएकाले सहमतिका लागि प्रमुख भूमिका माओवादीकै भएको बताउनुभएको हो । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दलहरूलाई दिएको समयसीमा सकिँनै लाग्दा राष्ट्रपति यादवले दलहरूबीच छलफल नै नभएको गुनासो गर्नुभएको स्रोतले जनाएको छ ।

जवाफमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले दलहरूबीच सकारात्मक रूपमा छलफल अघि बढिरहेकाले भोलि (बुधबार)सम्ममा सहमति हुने जानकारी गराउनुभएको थियो । उहाँले आफूहरूले हदैसम्मको लचकता अपनाएर पनि सहमतिका लागि अग्रसर भएको बताएको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ ।

राष्ट्रपति यादवले राष्ट्रिय सहमतिका लागि दलहरूलाई अन्तिमपटकका लागि दिएको समयसीमा भोलि सकिँदै छ ।

यसैबीच, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले तीन दलको हालीमुहालीका कारण देशले निकास पाउन नसकेको बताउनुभएको छ । राष्ट्रपति यादवलाई भेट्न शीतलनिवास पुग्नुभएका अध्यक्ष थापाले मधेसी मोर्चा र तीन दलले अव देशलाई निकास दिन नसक्ने भन्दै राष्ट्रपतिले सम्पूर्ण दलहरूसँग परामर्श गरी निकास खोज्न आग्रह गर्नुभएको हो ।
IP

,