पछिल्ला सामग्री :
लाजै पचाएर बाबुरामले भने, ‘ग्यासको मूल्य बढेर फरक पर्दैन’

शम्भु रेग्मी, काठमाडौँ, २ फागुन/ प्रधानमन्त्री बाबुराम भट्टराईले खाना बनाउने एलपी ग्यासको मूल्य बढे पनि सर्वसाधारणलाई केही फरक नपर्ने बताएका छन् ।

आफूले कमाउनु नपर्ने जनताकै करमा बाँच्न पल्केका प्रधानमन्त्री भट्टराईले ग्यासको मूल्यवृद्धिपछि ट्विटरमार्फत यस्तो जनाएका हुन् । उनले ग्यासको भाउ आमउपभोक्ताका लागि एक हजार पाँच सय ५० रुपैयाँ मात्रै भएको र व्यावसायिक प्रयोजनका लागि भने दुई हजार एक सय भएको प्रस्टीकरण दिएका छन् । उनले व्यावसायिक प्रयोजनका लागि मात्रै मूल्यवृद्धि भएको भने पनि आम उपभोक्ताले एक सिलिन्डर ग्यासमा हिजोको मूल्यमा ८० रुपैयाँ बढी मूल्य पर्न गएको छ ।

यस्तै ग्यासको मूल्य वृद्धिसँगै यातायातदेखि लिएर चिया पसलमा समेत मूल्यवृद्धि भएकोबारे प्रधानमन्त्री नबुझेजस्तै गरेका छन् । ‘मूल्यवृद्धिले जनतालाई मर्का पर्दैन,’ मूल्यवृद्धिसँगै मुलुकभर आन्दोलन सुरु भएसँगै प्रधानमन्त्रीले ट्विटमार्फत लेखेका छन्, ‘भ्रम नरहोस् ।’

सरकारले ग्यासको मूल्यमा प्रतिसिलिन्डर ६३० रुपैयाँ बढाएको छ । बढेको मूल्यमध्ये ५५० रुपैयाँ बैंक अफ काठमाण्डूमार्फत सरकारले राहत स्वरूप फिर्ता दिने बताए पनि मुलुकभर यसको ३६ वटा शाखाले कसरी कारोबार गर्ला सर्वसाधारणमा अर्को चिन्ता थपिएको छ । यस्तै जनतालाई राहत स्वरूप उपलब्ध गराउने भनेको रकम कहाँबाट जुटाउने भन्नेबारे सरकार नै अन्योलमा छ ।

यता नेपाल आयल निगमले खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेलगत्तै तीव्र विरोध सुरु भएको छ । देशभरका जनता सडकमा ओर्लिंएका छन् । राजधानीका क्याम्पसअघि विद्यार्थीहरूले टायर बालेर सरकारको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

आयल निगमले घरायसी र व्यापारिक प्रयोजनका लागि भन्दै दुई रंगको सिलिन्डर बनाएर बिक्री गर्ने योजनासँगै मूल्यवृद्धि गरेपछि उपभोक्ताहरूले तीव्र विरोध जनाएका हुन् । उपभोक्ता हित संरक्षण मञ्चले ग्यास व्यवसायी र आयल निगमको मिलेमतोमा मूल्यवृद्धि गरिएको भन्दै यो निर्णयले जनता मारमा परेको बताएको छ ।

यस्तै, नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले ग्यासको मूल्य अनपेक्षित रूपमा बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । मूल्यवृद्धिको विरोधमा नेविसंघलगायतका विद्यार्थी संगठनहरूले देशैभर प्रदर्शन थालेको जनाएका छन् । नेविसंघका प्रवक्ता युपी लामिछानेले सरकारले मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने बताउनुभयो । यसअघि विद्यार्थीहरूले आजै बिहान एक घन्टा राजधानीका क्याम्पसअघि चक्काजामसमेत गरेका छन् ।

सरकारले हिजो ग्यासको मूल्य प्रतिसिलिन्डर २१ सय रुपैयाँ बनाएको छ । रातो र नीलो गरी दुई रंगमा बिक्री गरिने ग्यासमा घरायसी प्रयोजनका लागि सरकारले ५५० रुपैयाँ अनुदान दिने बताइएको छ ।

सरकारले अनुदान दिँदा घरायसी प्रयोजनका लागि प्रतिसिलिन्डर १५ सय ५० पुगेको छ । यो मूल्य यसअघिको भन्दा ८० रुपैयाँ महँगो पर्ने भएको छ । तर, व्यापारिक प्रयोजनका लागि भने २१ सय रुपैयाँ नै पर्नेछ । आयल निगमले यसअघि प्रतिसिलिन्डर ५८८ रुपैयाँ घाटा भएको भन्दै मूल्यवृद्धि गरेको हो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.