यदि नेपालको चन्द्रसूर्य अंकित झण्डालाई कसैले जुत्ता वा चप्पल बनाएर खुट्टामा लगायो भने हाम्रो रगत उम्लन्छ कि उम्लदैन ? झण्डाकै मोजा बनाएर पैतलाले कुल्चदा मुटुमा कुल्चे जस्तो लाग्छ कि लाग्दैन ? त्यही झण्डालाई चर्पीमा खुट्टा पुछ्ने साधन बनाउदा कस्तो लाग्छ ? झण्डाकै कट्टु वा सुरुवाल बनाएर लाउदा तपाईको दिल दुख्छ कि दुख्दैन ?

माथीका प्रश्नहरुको उत्तर पहिला आफ्नो अन्तरआत्मामा खोज्नुहोस् अनि मात्रै बाँकी कुरा पढ्नुहोस्।
फोटो: मेघराज रसाइली
फोटो: मेघराज रसाइली
गत हप्ता म लण्डनको रात्रीकालिन झिलीमिली र सुन्दरता हेर्दै पिकाडेली सर्कसमा घुम्दै थिएँ। पिकाडेली सर्कस एउटा बजार क्षेत्रको नाम हो। एउटा सुपरमार्केटमा सपिङको लागि छिरें। अनेकौं सामानहरु हेर्दै जाने क्रममा बेलायती झण्डालाई विभिन्न उपभोग्य सामाग्रीहरुमा प्रयोग गरेको दृष्यले मलाई विशेष आकर्षित गर्यो। चप्पल जसलाई पाइतलाले कुल्चिइन्छ, त्यसमा झण्डाको छाप थियो। मोजामा पनि झण्डा नै अंकित थियो। कट्टु र सुरुवाल जसलाई चाकले थिच्दछ, त्यसमा पनि झण्डा नै थियो। झन चर्पीमा त खुट्टा पुछ्नको लागि झण्डा अंकित कपडा ओच्छाइएको समेत देखियो।
फोटो : मेघराज रसाइली
फोटो : मेघराज रसाइली
राष्ट्रिय झण्डाको यस्तो प्रयोगलाई उपयोग भन्ने कि दुरुपयोग ? मैले नेपाल सम्झें। नेपाली राष्ट्रिय झण्डा सर्वसाधारणले प्रयोग गर्न पाउदैनन्। जतिसुकै अराष्ट्रिय किन नहोस, त्यो राष्ट्रिय झण्डा फहराउदै हिड्ने विशेषाधिकार मन्त्री र केही ओहदावालाहरुलाई मात्रै छ। तर बेलायतका प्रत्येक जसो घरहरुमा राष्ट्रिय झण्डा फहराएको देख्न सकिन्छ। जुनसुकै नागरिकले सवारी साधनमा झण्डा फहराउन पाउछ। बेलायतको हाउस अफ पार्लियमेन्ट देखी चर्पीसम्म राष्ट्रिय झण्डा छ।
2
फोटो: मेघराज रसाइली
नेपाली आँखाले हेर्ने हो भने हामी सिंहदरबारमा झण्डा फहराएको देख्न सकौंला तर चप्पल वा चर्पीमा त्यो झण्डा देख्न नसकौंला। यसमा एउटा गहिरो अबैज्ञानिक मनोविज्ञानले जरा गाडेको छ भन्ने मेरो ठम्याई छ। हिन्दु धार्मिक आस्था अनुसार पाइतलालाई हामी शुद्र वा अपवित्र मान्छौं। गोडा बैश्य अर्थात त्यो पनि अपवित्र भन्ने आम बुझाई छ। गुप्ताङ्ग वा वरपरका भागहरुलाई त झन अति नै रहस्यमय र घृणित रुपमा ब्याख्या गरीयो। त्यसैले यस्ता ठाउँहरुमा प्रयोग हुने उपभोग्य बस्तुहरुमा राष्ट्रिय झण्डा अंकित गरिनु नेपालीहरुलाई राम्रो नलागेको होला। तर त्यही झण्डा टाउकोमा प्रयोग गरीयो भने हामीलाई महान लाग्ला। हाम्रो धार्मिक विश्वास अनुसार शिर भनेको ब्राम्हण वा ज्ञानको उत्पत्ति हुने ठाउँ हो।
बेलायतीहरुले शरिरका अंगहरुलाई छुत वा अछुत र पवित्र वा अपवित्र भनेर ब्याख्या गरेनन्। सबै अङ्ग प्रति उत्तिकै सम्मान भाव छ। त्यसैले झण्डालाई चाहे शिरमा प्रयोग गरीयोस् वा पाइतलामा, उनीहरुलाई आपत्ति छैन किनकी उनीहरुहरु आफ्नो राष्ट्रिय झण्डालाई अत्यन्त सम्मान गर्छन्।
तर हामी हाम्रो नेपाली राष्ट्रिय झण्डालाई पाइतलामा प्रयोग गर्न सक्दैनौं। जति सुकै शिक्षित मान्छे किन नहोस्, उसलाई वर्णाश्रम ब्यवस्थाको मनोविज्ञानले सताएको छ र पाइतलालाई घृणित अङ्ग ठानेर त्यसले छुन डराउँछ। यो खोक्रो राष्ट्रियताले हामीलाई खै के दियो ? नेपाली राष्ट्रिय झण्डालाई पनि कण्डम देखि क्यासिनो सम्म प्रयोग गरिनुपर्छ। ता कि रतिक्रिडा देखि जुवाको खालमा सम्म बसेकाले समेत झण्डा देखुन र राष्ट्रियता स्मरण गरुन्।
साभार : aarantimes.com