पछिल्ला सामग्री :
२५ सय माछाका भुरा बाग्मतीमा

काठमाडौं/ विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौंको बागमती नदीमा आज दुई हजार पाँच सय माछाका भुरा छाडिएका छन् ।

ग्लोबल पिस एसोसिएसनले अधिकार सम्पन्न सभ्यता एकीकृत विकास समितिलगायत १८ वटा गैरसरकारी संघ संस्थासँगको सहकार्यमा सुन्दरीजल र गुह्येश्वरी क्षेत्रमा माछाका भुरा छाडेको हो । बागमतीमा असला, फगटा, सहरे कत्ले र गर्दी नेपाली रैथाने जातका माछा छाडिएको छ ।

पूर्वमन्त्री गणेश साहले माछाका भुरा छाडेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । यसअघि प्रदूषणका कारण बागमती नदीमा माछालगायतका जलचर लोप भइसकेको अवस्था थियो । एसोसिएसनले गुह्येश्वरीदेखि ब्रह्मनालसम्म बागमती नदी सरसफाइ गर्दै आएको छ । नियमित सरसफाइका कारण अहिले त्यसक्षेत्रमा सफा पानी बग्न थालेको छ ।

ढलमतीमा परिणत भएको बागमती नदीलाई सफा गरी पुन: पहिलेकै अवस्थामा ल्याउने अभियानलाई निरन्तरता दिने योजना अनुरूप आफूहरूले काम गरिरहेको एसोसिएसनका कार्यकारी निर्देशक रामरोहन पन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय पशुपालन तथा मत्स्य विकास कार्यक्रमका निर्देशक डा. टेकबहादुर गुरुङले गुह्येश्वरी क्षेत्रको पानी माछाका लागि उपयुक्त भएकाले यो अभियान सफल हुने बताउनुभयो । परिषद्को प्राविधिक सहयोगमा माछा छाडिएको हो ।

यता वातावरणविद्हरूले भने बागमतीमा जलचर प्राणी बाँच्न सक्ने अवस्था सिर्जना भइनसकेको भन्दै माछा बागमतीमा छाड्ने निर्णयप्रति असहमति जनाएका छन् । तर, पहिले र अहिलेको नदीमा धेरै फरक भइसकेकाले यसबारे जानकारी गराउने उद्देश्यले पनि माछा छाडिएको बताइएको छ ।

समितिले गएको माघ महिनादेखि सरकारी तथा गैरसरकारी संस्थासितको सहकार्यमा बागमती नदीको सफाइ गर्दै आएको छ । हरेक वर्ष जुन ५ तारिखमा पर्ने विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी मनाउन थालिएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.