पछिल्ला सामग्री :
जोखिममा महिला कामदार

काठमाडौं/ वैदेशिक रोजगारमा जाने नेपाली महिलाहरूका लागि सूचना र सुरक्षाका सवालमा पहुँच नभएको सरोकारवालाले बताएका छन् ।

नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एसोसिएसन र सञ्चारिका समूहले आज (शनिबार) राजधानीमा गरेको छलफल कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखेका हुन् । ०६३ सालदेखि नेपाली महिला कामदार विदेश जान थालेका हुन् । महिला कामदार युएई, मलेसिया, कुवेत, कतार, ओमान, साउदी अरब र बहराइनलगायतका मुलुकमा जाने गरेका छन् ।

पछिल्लो वर्ष संस्थागत रूपमा १७ हजार दुई सय ९७ र व्यक्तिगत रूपमा १० हजार चार सय १६ सय नेपाली महिलाले श्रम स्वीकृति लिएका छन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले वैदेशिक रोजगार प्रतिनिधि एजेन्टहरू म्यानपावर कम्पनीले आफूहरूलाई ढाल बनाई गल्ती वा कमजोरीको दोष पन्छाउने प्रवृत्ति देखिएको गुनासो गर्नुभयो ।

उहाँले स्वास्थ्य परीक्षणमा असफल भएको कामदारलाई पनि जबरजस्ती सफल बनाई जसरी पनि विदेश धकेल्ने परिपाटी, अन्तर्वार्तामा अयोग्य भए पनि उत्तीर्ण गराई नक्कली भिसाबाट पठाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का कार्यपत्र प्रस्तोता कान्तिपुर दैनिकका पत्रकार दिनेश रेग्मीले वैदेशिक रोजगारका नाममा मानव बेचबिखन भइरहेको, आर्थिक र यौनशोषण भएको र मृत्युको सिकारसमेत हुनुपरेको चर्चा गर्दै सूचना, शिक्षा र सचेतनाका लागि सञ्चार माध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

पौरखी संस्थाका मञ्जु गुरुङले महिलाभित्र पनि विपन्न र पीडित महिलाहरू कामका लागि विदेश जाने गरेको बताउँदै उनीहरूका लागि सूचना तथा तालिम पाउन र सुरक्षित काममा खट्नका लागि उपर्युक्त वातावरण नभएको बताउनुभयो । उहाँले एक्कााइसौं शताब्दीको बधुवा मजदुरका रुपमा रहन बाध्य महिलाको सुरक्षित अप्रवासका लागि राष्ट्रिय सञ्जालबाट पनि सुरक्षा र सेवमूलक कार्य अघि बढेको जनाउनुभयो । सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले वैदेशिक रोजगारका महिलाका पीडामा मलम लगाउन सञ्चारमाध्यमले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.