पछिल्ला सामग्री :
रोकिएन एमाओवादीको गृहकार्य

काठमाडौं/ उम्मेदवार चयन र घोषणापत्रका विषयमा नेताहरूविच सहमति हुन नसकेपछि एकिकृत माओवादीले थप गृहकार्यपछि मात्रै यस विषयमा निर्णय गर्ने भएको छ ।

नेता नारायणकाजी श्रेष्ठको निवास हरिसिद्धी ललितपुरमा बसेको केन्द्रीय कार्यालयको बैठकले घोषणापत्र निर्माण र उम्मेदवार चयनमा थप गृहकार्य गर्ने निर्णय गरेको हो । आवश्यकता भन्दा पाँच गुणा बढी उम्मेदवार सिफारिस भएपछि एकीकृत माओवादी समस्यामा पर्दै आएको छ ।

आफूपक्षीय नेताहरूलाई उम्मेदवार बनाउन पार्टिभित्रै लबिङ सुरु भएपछि माओवादीले संख्या घटाउन प्रारम्भिक छनोटका लागि थप गृहकार्य गर्ने भएको हो । गएको साउन १० गतेदेखि गत भदौ १० गतेसम्म मुलुकभर सञ्चालन गरिएको जनसम्बन्ध अभियानका क्रममा माओवादीले सम्भावित उम्मेदवारको नामावली संकलन गरेको थियो ।

यस्तै घोषणापत्र निर्माणमा पनि माओवादीभित्र बहस जारी छ । यसअघिको चुनावी घोषणापत्र अव्यवहारिक र प्रचारमुखी भएको भन्दै आलोचना भएपछि माओवादीले यसपटकको घोषापत्र निर्माणलाई विशेष ध्यान दिएको बताउँदै आएको छ ।

बैठकले केही दिनअघि एकीकृत माओवादीमा प्रवेश गरेका कञ्चन खनालसहित अर्का एकजनालाई केन्द्रीय समितिमा थप गर्ने निर्णय पनि गरेको छ ।

यसैबीच, झन्डै पाँच गुणा बढी सम्भावित उम्मेदवारको नाम सिफारिस भए पनि एकीकृत नेकपा माओवादीले केही दिनभित्रै प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाउने बताएको छ । त्यस्तै समानुपातिकतर्फको उम्मेदवार पनि एक साताभित्रै टुंगो लगाउने माओवादीको भनाइ छ ।

आज नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छनोट समितीलाई उम्मेदवार टुंगो लगाउन निर्देशन दिइसकेको उल्लेख गर्दै दुई–तीन दिनभित्रै उम्मेदवारको अन्तिम टुंगो लाग्ने बताउनुभयो ।

एकीकृत माओवादीले उम्मेदवारसँगै पार्टी घोषणापत्र निर्माण पनि अन्तिम चरणमा पुगेको जनाएको छ । यसैबीच एकीकृत नेकपा माओवादीले निर्वाचनको प्रचार–प्रसारका लागि केन्द्र जिल्ला र राज्य तहमा स्वर्गीय पत्रकार कृष्ण सेनको नाममा कृष्ण सेन न्युज सर्भिस स्थापना गर्ने जनाएको छ ।

त्यस्तै निर्वाचनमा हुने घटनाहरूबारे पार्टीको धारणा दिन तीव्र प्रतिक्रिया टोली गठन गर्ने पनि माओवादीले जनाएको छ । एकीकृत नेकपा माओवादीले पार्टीको घोषणापत्रमा समावेशी सहभागितामूलक प्रणालीमा जाने, समाजिक न्यायसहितको तीव्र आर्थिक विकास, प्रगतिशील राष्ट्रवाद तथा स्थिर र भ्रष्टाचारमुक्त सरकार निर्माण गर्नेलगायतका मुद्दा समावेश गर्न लागेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.