पछिल्ला सामग्री :
काञ्जिहाउसमा पशुकै अभाव


नमस्कार शाह
बाँके, माघ २८/
कहिलेकाँही जनावरले भरिएर ठेलमठेल हुने नेपालगञ्ज नगरपालिका फुलटेक्रा- ७ स्थित काञ्जिहाउस हिजोआज पशुको अभावमा रित्तो रहेको छ ।

२०६५ साउनदेखि कात्तिकसम्म दुइ सय २१ पशु थुनामा परे पनि मङसिरदेखि यता भने कुनै पशु थुनामा नपरे पछि अहिले रित्तो भएको छ । छाडा चौपायालाई थुनामा राख्न निर्माण गरिएको सो काञ्जिहाउसमा सुङ्गुर, बङ्गुर र खच्चड प्रतिदिन थुनामा राखेको तीन सय रुपैयाँ, गाई, गोरु, भैसी, राँगा र घोडाको प्रतिदिनको दुइ सय रुपैयाँ, खसी, बाख्रा, बोका, भेडा, बाच्छा, बाच्छी र पाडा, पाडीको प्रति दिनको एक सय पचास रुपैयाँ जरिवाना लिने गरिएको छ । गत वर्ष मात्र काञ्जिहाउसको आम्दानी १ लाख ५६ हजार १ सय ८ रुपैयाँ रहेको थियो भने यो वर्ष २०६५ साउनदेखि मङसिरसम्म ७ हजार ४ सय २५ रुपैयाँ मात्र आम्दानी भएको छ ।

जाडो महिनामा गधा, खच्चडलाई काममा बढि प्रयोग गर्ने भएकाले अहिले यी पशुहरूलाई छाडा नछाडिने भएकाले काञ्जिहाउसमा पशु कम भएको काञ्जिहाउस इञ्चार्ज राम भारती बताउँछन् । उनका अनुसार, पशु मालिकहरू सेवा र सुविधा पाउँदासम्म घरमा राख्छन् मतलब पूरा भएपछि सडकमा लगेर छाडिदिन्छन् । जसले गर्दा अरुको खेतीबारी नोक्सान गरिदिने, सडक नै जामगरी दुर्घटनासमेत निम्त्याउने र सडकमा हिड्ने सर्वसाधारणलाई हान्ने जस्ता थुप्रै समस्या निम्त्याउने गरको छ । सडकमा छाडा चौपायालाई तह लगाउने र पशुधनिलाई सचेत गराउने जिम्मासमेत नगरपालिकाको हो । तर पनि सडकमा पशुको भिँड भने कम भएको छैन ।

प्राय: गरेर दुध दिन छाडेका गाई, भैसी असक्त भएका बिरामी परेका खच्चड, घोडा, गोरु गधाहरूलाई छाडा रूपमा सडकमैँ छाडिदिने गर्दछन् । आवश्यकता परेमा फेरी सडकबाट उठाएर उपभोग गर्ने गर्दछन् । यसरी पशुधनिको लापरबाही एवम् गैरजिम्मेवारीपनले गर्दा विभिन्न दुर्घटना हुने गर्दछन् । सडकमा हिँड्ने यात्रुलाई समेत हैरानी भएको छ । यसको समाधानका लागि नगरपालिका र प्रशासनले विशेष पहल गर्नुपर्ने र्सवसाधारण बताउँछन् ।

सर्वसाधारणको गुनासो त छदैछ । अर्कातिर काञ्जिहाउस इञ्चार्ज राम भारतीको पनि त्यस्तै गुनासो छ । काञ्जिहाउसमा पशु आएमा आम्दानी हुने भए पनि कहिलेकाहीँ त उनी दिक्क मान्छन् । उनी भन्छन् -एक्लो मान्छे भएकाले धेरै पशु हुँदा उनीहरूको स्याहार सुसारमा निकै हैरानी पर्दछ । पशुधनि लामो समयसम्म पनि पशु छुटाउन आउँदैनन् । के गर्ने स्याहार गर्नै पर्यो, मर्न दिनु पनि भएन । करिब एक सय बढि पशु काञ्जिहाउसमा राख्न सकिएता पनि त्यसको उचित व्यवस्थापन भने हुन सकेको छैन ।

काञ्जिहाउस इञ्चार्जका अनुसार- पर्याप्त मात्रामा पशुलाई खाने व्यवस्था, पानीको व्यवस्था, डुँडको व्यवस्था छैन । साथै छाप्रोको व्यवस्थासमेत नहुँदा वर्षातमा त पशुलाई साह्रै हैरानी पर्ने गरेको छ । आफूले काञ्जिहाउस सुधारका लागि नगरपालिकालाई पटकपटक निवेदन पेश गरेपनि काम भने अझै नभएको उनको दुखेसो छ । काञ्जिहाउसमा अझै थप कर्मचारी आवश्यक रहेको उनी बताउँछन् ।

छाडा चौपायलाई तह लगाउन काञ्जिहाउसको निर्माण गरेता पनि कहिले काहीँ त लामो समयसम्म पनि पशु छुटाउन नआउँदा लिलाम बोल्ने गरिन्छ । पशु थुनामा परेको १ हप्तासम्म छुटाउन नआएमा लिलाम बोल्ने व्यवस्था रहेको छ । लिलाम का लागि पनि ३, ४ पटक सूचना निकाल्नु पर्दछ । त्यति गर्दा पनि कहिले त लिलाम बोल्ननैँ नआउने हुंदा झन्झट हुने गरेको भारती बताउँछन् । यस वर्षमात्र गधा, गाई, बाच्छा, बाच्छी गरी ३३ वटा पशु लिलाम भएका छन् ।

लिलाममा पनि प्राय: बढिमा प्रति पशु पाँच सयसम्म दिने गर्दछन् । काञ्जिहाउस कार्यालयका अनुसार, यस वर्ष३६ गाई, पाँच भैसी, एक राँगा, ३९ गधा, सात खच्चर, चार भेडा, तीन गोरु, सात घोडा, थुनामा राखिएका थिए । पहिले गधाको प्रतिदिनको जरिवाना ५० रुपैयाँ थियो अहिले बढाएर पाँच सय रुपैयाँ तोकपछि भने गधाहरू कम आउने गरेका छन् । छाडा चौपाय तह लगाउन जिम्मेवार पक्षले काञ्जिहाउसको राम्रो व्यवस्थापन र पशुधनी सचेत नभएसम्म समस्या ज्यूँ का त्युँ नैँ रहिरहन्छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.