पछिल्ला सामग्री :
अलमलमा अभिभावक र विद्यार्थी

काठमाडौं/ विद्यार्थी जीवनको फलामे ढोका मानिने प्रवेशिका परीक्षाको नतिजासँगै विद्यार्थी उच्च माविको खोजीमा चारैतिर भौतारिइरहेका छन् । राम्रो पढाइ हुने, राम्रा भौतिक सुविधा भएकोलगायतका विशेषताका आधारमा विद्यार्थीले उच्च मावि छनोट गर्ने गदर्छन् । तर, राम्रो पढाइ हुने उच्च मावि कसरी छनोट गर्ने आफूले पढ्ने विषय र आफ्नो रुचि र दख्खल भएको विषय कसरी पहिचान गर्ने भन्नेबारे भने विद्यार्थीहरू अलमलमा भएको पाइन्छ । यस्तै अभिभावकहरू पनि कलेजमा के–कस्ता सुविधाहरू छन् भनेर पहिल्यै जान्न चाहन्छन् । यसर्थ नयाँ विद्यार्थी अनुभवी नभएका अभिभावकलाई कलेज छान्न एकप्रकारको तनाव नै झेल्नुपर्ने अवस्था छ ।

राजधानीका केही उच्च माविहरू साँघुरा गल्लीमा खोलिएका छन् । जहाँ मोटरसाइकल पनि छिर्दैन । केही ठूला बिल्डिङका फ्ल्याटहरू भाडामा लिएर सञ्चालन गरिरहेका छन् । सीमित क्षेत्रमा सञ्चालन गरिएका कलेजहरू पनि सुविधा सम्पन्न भएको दाबी गर्न पछि पर्दैनन् । उनीहरूले विभिन्न सुविधा छ भन्दै विद्यार्थीलाई आकर्षित गराइरहेको पाइन्छ भने अर्काथरी व्यावसायिक रूपमै गुणस्तरीय शिक्षाका लागि भन्दै विद्यार्थीलाई सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित विद्यार्थी आकर्षित गराइरहेका छन् । शिक्षा क्षेत्रमा लामो समयको अनुभव भएका व्यक्तित्वको व्यवस्थापनमा सञ्चालित निजी शैक्षिक संस्था भन्दै टेलिभिजन, पत्रपत्रिका तथा रेडियोमा विज्ञापन आउनु अहिले फेसनजस्तै बनेको छ । यस्तै सञ्चारमाध्यमहरूले पनि विद्यार्थीका लागि विषय छनोट र कलेजबारे परामर्श तथा जानकारी दिइरहेको हुँदा अभिभावकले पनि कुन ठीक र कुन बेठीक भन्ने छुट्टयाउनै नसक्ने अवस्था आएको छ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पनि विज्ञापनको पछि लागेर कलेज छनोट गर्नु मूर्खता भएको बताउँछन् । उनले कुरा सबैको सुने पनि विद्यालयको पढाइ, पढाउने शिक्षक, वातावरणलगायतका कुराको आफैँले बुझेर कलेज छनोट गर्नुपर्ने बताउँछन् । उनले अहिले शिक्षाको क्षेत्रमा विकृति बढेको चिन्ता व्यक्त गर्दै भने, ‘बाहिर विज्ञापनको चमकदमक मात्रै हो, भित्र भने अधिकांश कलेज खोक्रा छन् ।’ प्रा.डा. कोइरालाले अभिभावकबाट रकम असुल्नुभन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ कलेज अग्रसर हुनुपर्ने बताए ।  उनले कलेज विद्यार्थीमैत्री हुनुपर्नेमा समेत जोड दिए ।

शान्तिनगरमा रहेको बेबिलोन नेसनल स्कुलले आधारभूत स्वास्थ्य उपचार, यातायातको सुविधा, सुविधासम्पन्न लाइब्रेरी, कम्प्युटर ल्याब, तथा वाइफाई जोन अर्थात् विद्यार्थीलाई नि:शुल्क इन्टरनेटको सुविधा, खेलकुदका लागि खेलमैदानको उपलब्ध गराएको दाबी गर्छ । व्यवस्थापन विषयमा पढाइ हुने बेबिलोनमा सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको प्रिन्सिपल राजु राई बताउँछन् । राईका अनुसार चाँडै आफ्नै सुविधासम्पन्न भवन निर्माण भइसक्नेछ ।

कलेजका भीडमा उपयुक्त कलेज छनोट गर्नु अहिले अभिभावक र विद्यार्थी दुवैलाई चुनौती थपिनु स्वाभाविकै हो । विद्यार्थी भर्ना हुँदा कलेजमा रकम फसिसकेकाले विद्यार्थी निकाल्न गाह्रो हुने, अर्को कलेजमा भर्ना हुन नपाइने समस्याले गर्दा अभिभावक पीडित बनेका छन् । पुरानो बानेश्वरमा रहेको न्यु समिट कलेजकी अनिता शर्मा भने आफूले भनेअनुसारकै कलेज फेला पारेको बताउँछिन् । उनी भन्छिन्, ‘पढाइ ठीकै छ, बाबामम्मीले फिस तिरिदिएपछि मलाई के टेन्सन् ?’

यस्तै नासा कलेजमा अध्ययनरत सगुन अधिकारी पनि आफूलाई शुल्क भन्दा पनि पढाइ राम्रो हुनुपर्नेमा जोड दिन्छन् । होस्टेलमा बसेर अध्ययन गरिरहेका उनले भने भने, ‘शुल्क तिर्ने त अभिभावकले हो । हामीलाई बुझाएर पढाइदिने, भौतिक संरचना, खेल्ने ठाउँ राम्रो भए त भइहाल्यो नि, योभन्दा अरू के चाहियो ।’

यस्तै कलंकीमा रहेको काष्ठमाण्डप कलेजले ‘तपाईंको कलेज, तपाईंको भविष्य’ भन्ने नारा लिएर विद्यार्थीलाई आकर्षित गरेको छ । कलेजका सहायक प्राचार्य ऋषिराम कँडेल पर्याप्त क्षेत्रफल, सुविधा सम्पन्न कक्षा कोठा, व्यवस्थित प्रयोगशाला तथा पुस्तकालय रहेको दाबी गर्छन् ।

यस्तै विभिन्न कलेजहरूले विद्यार्थीको सुविधाका भन्दै होस्टेल, क्यान्टिन, आधारभूत स्वास्थ्य उपचार, यातायातलायतका सुविधा प्रदान गरेका हुन्छन् । शैक्षिक गुणस्तर कायम राख्न भन्दै विभिन्न सुविधा बढाएसँगै विद्यार्थीसँग सोहीअनुरूपको शुल्क लिने गरेका छन् ।

उच्च मावि तहको अध्ययनका लागि साथीसंगी तथा विज्ञापनले जता आकर्षित गरे पनि निर्णय भने स्वयंले गर्नुपर्ने अभिभावक दुर्गा भट्टराईले सुझाइन् । कतै चर्को शुल्क, त कतै आफ्नो आवश्यकताअनुसारको कलेज नहुँदा विद्यार्थी अभिभावक मर्कामा पर्ने गरेका छन् ।

विद्यार्थीको अलमलका बीच अभिभावकहरूले दिने दबाबका कारण विद्यार्थीमा थप तनाव हुने गरेको पाइन्छ । आफूले रोजेको, आफ्नो सम्बन्ध भएको विद्यालय वा आफ्नो रुचिअनुसारको विषय पढ्न अभिभावकले विद्यार्थीलाई दबाब दिने गरेका छन् । तर, यस्ता दबाबले विद्यार्थीमा नकारात्मक असर पुर्‍याउने मनोचिकित्सक डा. नन्दिता शर्माको भनाइ छ ।

यस्तै कलेजहरूले चाहिनेभन्दा बढी प्रचारबाजी गरेर विद्यार्थीलाई तान्न खोज्नु नाजायज भएको बताउँछन् अभिभावक संघका अध्यक्ष प्रभातकुमार भण्डारी । उनले कलेजले गर्ने विज्ञापन, भौतिक संरचना, लिएको शुल्कअनुसारको सुविधाको आचारसंहिता हुनु आवश्यक रहेको बताए । कलेजहरूले विद्यार्थीबाट असुल गरिएको शुल्कअनुसारको सुविधा दिनैपर्ने भण्डारीको भनाइ छ । यस्तै काठमाडौं भ्याली कलेजका अध्यक्ष एवं हिसान काठमाडौंका अध्यक्ष स्वागत श्रेष्ठले पनि शिक्षालाई व्यापारभन्दा पनि गुणस्तरीय समाज निर्माणमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिन्छन् ।
प्रस्तुति : शम्भु रेग्मी
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.