छोरालाई सधैं शौचालयमा
ओखलढुंगा/ शौचालय केका लागि प्रयोग गर्ने ? यो प्रशनको जवाफमा एउटै उत्तर आउँछ,
त्यो हो दिशा पिसाब गर्न । तर ओखलढुंगाको ज्यामिरे गाविस ९ गहतेका एक
बालकलाई भने उनका अभिभावकले शौचालयमा थुनेर राखेका छन् ।
जन्मँदै शारीरिक र मानसिक अपांगता भएका ११
वर्षीय फडिन्द्र श्रेष्ठलाई उनका अभिभावकले ६ महिनादेखि शौचालयमा थुनेर
राखेका हुन् । शौचालयमा थुनिएका बालक दिशा पिसाब एकै ठाउँमा गर्ने भएकाले
सधैं फोहोरमा बस्न बाध्य छन् ।
सम्झना र तीर्थ श्रेष्ठका जेठा छोरा
फडिन्द्रको स्थानीय ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार गरिएपनि थप उपचार
गर्ने खर्च नहुँदा उनको परिवारले शौचालयमा
थुनेर राख्ने गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण दैनिक
मजदुरी गर्नुपर्ने भएकाले बालकलाई शौचालयमा थुनेर राख्ने गरिएको अभिभावक
तीर्थ श्रेष्ठले बताउनुभयो ।
‘विहान बेलुका छाक टार्न धौ धौ छ । म सधैं
मजदुरीका लागि सदरमुकाम धाउने गर्छु त्यसैले छोरोलाई खुला ठाउँमा छाड्दा
जताततै दिशा पिसाब गर्ने र लड्ने समस्याले शौचालयमा थुनेर राख्ने गरेका
छौं’ उहाँले भन्नुभयो ।
फडिन्द्रको उपचारका लागि काठमाडौं
लैजानुपर्ने भएकाले आर्थिक अभावका कारण थप उपचार गर्न नसकिएको बालककी आमा
सम्झना श्रेष्ठले गुनासो गर्नुभयो । ‘छोराको अवस्था दिनदिनै बिग्रँदै गएको
छ, डाक्टरले काठमाडौं लैजानू भनेका छन् तर उपचारमा सहयोग गरिदिने कोही
पाइएको छैन ।’ उहाँले भन्नुभयो ।
दाजु भाई नै खोरमा
ओखलढुंगा ४ गोरुमारेभञ्ज्याङका २ दाजुभाइ
१२ वर्षीय निर्मल र ८ वर्षीय निराज विश्वकर्मालाई पनि साढे दुईवर्षदेखि
उनीहरुका अभिभावकले खोरमा राखेका छन् । बालकका अभिभावक शेरबहादुर र रहरी
विश्वकर्माले पनि आर्थिक अभावकै कारण बालकहरुलाई खोरमा राखेका हुन् ।
खोरमा राखिएका बालकहरुलाई जिल्ला बाल
कल्याण समितिको कार्यालय ओखलढुंगाले राहत स्वरुप आर्थिक सहयोग गरेपनि
बालकहरुको अझै उद्दार गर्न सकेको छैन । शारीरिक र मानसिक रुपमै अपांगता
रहेका विश्वकर्मा दाजुभाइलाई खोरमा राखिँदा स्वास्थ्य अवस्था दिनदिनै
बिग्रँदै गइरहेको छ ।
जिल्लामा विभिन्न संघ संस्थाले मंगलबार २२
औँ अन्तर्राष्ट्रिय अपांग दिवस मनाइरहेको बेला यी बालकहरु थुनिँदा
सरोकारवाला निकायहरुको आँखा भने पुग्न सकेको छैन । ओखलढुंगाका लागि अपांग
दिवस नारामा मात्रै सीमित भएको पत्रकार कुलबहादुर तामाङले बताउनुभयो ।
‘अपांगता भएका बालबालिकाको पहिचान भएपनि सरोकावाला निकायले खासै केही
नसकेकोमा दुःख लागेको छ ।’ तामाङले भन्नुभयो ।
ओखलढुंगा जिल्लामा ५९ जना अपांगता भएका बालबालिका रहेको जिल्ला बाल कल्याण समितिको कार्यालय ओखलढुंगाको तथ्यांकमा उल्लेख छ ।
शब्द, तस्वीर साभार : शिव ढुंगाना/उज्यालो अनलाइनबाट
शब्द, तस्वीर साभार : शिव ढुंगाना/उज्यालो अनलाइनबाट
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.