पछिल्ला सामग्री :
किन बन्न सकेन भारत असल छिमेकी ?

लोकसेवा अधिकृतको तयारीमा रहेका करिब सय विद्यार्थीले भरिएको कक्षामा शिक्षकको प्रतीक्षा छ । शिक्षक (सोमराज काफ्ले, सर्वोच्च अदालत, अधिकृत) पनि आइपुगे । कक्षाकोठा शान्त भयो । कक्षा सुरु भयो ‘भारत हाम्रो असल छिमेकी राष्ट्र हो’ भन्ने विषयबाट । लगत्तै विद्यार्थीबीच गाइँगुईं सुरु भयो, यो हुनै सक्दैन भन्दै । केहीबेर यसैमा छलफल भयो । अन्त्यमा भारत नेपालको छिमेकी राष्ट्र मात्र हो भन्नेमा सहमति जुट्यो । बरु चीन नेपालको असल छिमेकी राष्ट्र हो भन्नेमा विद्यार्थीको एकमत बन्यो । आखिर भारत नेपालको असल छिमेकी राष्ट्र किन बन्न सक्दैन ?

भारतले नेपाललाई सहयोग नगरेको पनि कहाँ हो र ? सडक, पुल, विद्यालय भवन तथा स्वास्थ्यचौकी निर्माणदेखि एम्बुलेन्ससम्ममा भारतले सहयोग गर्ने गरेको छ । भारतले नेपालको विकासमा विभिन्न संरचना निर्माणमा सहयोग पुर्‍याएको छ । नेपालकै पहिलो राजमार्ग अर्थात् त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गका विभिन्न खण्ड, सिद्धार्थ राजमार्ग, एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पतालमा रहेको ट्रमा सेन्टरलगायत निर्माण गर्न सहयोग गर्‍यो । पेट्रलियम पदार्थ, मेसिनरी सामग्री, फलाम स्टिल, मललगायत सामग्री आयातका लागि नेपाल भारतमै निर्भर छ ।

शिक्षामा पनि उत्तिकै सहयोग छ । नेपालको अर्थतन्त्रमा भारतले महत्त्वपूर्ण भूमिका पनि नखेलेको कहाँ हो र ? यति मात्र नभएर नेपालको राजनीतिमा पनि भारतको ‘उच्चस्तरीय सहयोग’ रहँदै आएको छ । नेपालमा हुने आन्दोलनको निष्कर्ष तथा सरकार फेरबदलदेखि राष्ट्रमुखको चयनमा पनि उत्तिकै भूमिका छ । यसरी विभिन्न क्षेत्रमा सहयोग गर्ने छिमेकी मुलुक भारत नेपालीको मनमा ‘असल छिमेकी’ का रूपमा दर्ज हुन नसक्नु, कमजोरी भारतको हो कि नेपालको ?

प्रसंग पहिलो
हुन त १५ राष्ट्र सम्मिलित आइसिजे (अन्तर्राष्ट्रिय न्यायालय)मा नेपाल अहिलेसम्म सदस्य राष्ट्र भएको छैन । नेदरल्यान्डको द हेगस्थित अन्तर्राष्ट्रिय कार्यालयमा रहेको पिस प्यालेसमा एनआरएनको पहलमा २४ जुन २०१३ मा बुद्धको मूर्ति स्थापना गरिएको छ । २.५ फिट उचाइ रहेको ‘बुद्ध वाज बर्न इन ६२३ बिसी, इन लुम्बिनी नेपाल’ लेखिएको बुद्धको प्रतिमा राखिनु नेपालका लागि गौरव हो । अन्तर्राष्ट्रिय न्यायालय अर्थात् पिस प्यालेसमा त्यहाँ विश्वमा शान्तिको सन्देश दिने जिसस क्राइस्ट र महात्मा गान्धीको प्रतिमा भएको र बुद्धको नदेखेपछि एनआरएनको पहलमा त्यहाँ बुद्ध प्रतिमा स्थापना गरिएको हो ।

उसो त भारतले विहार राज्य, पिपरहवामा नक्कली लुम्बिनी, नक्कली कपिलवस्तुको निर्माण ८० प्रतिशतभन्दा धेरै गरिसकेको बताइन्छ । भारतले विश्वमा फैलाएको दिग्भ्रम र कुप्रचारलाई निस्तेज पार्ने हरेक नेपालीको दायित्व हो । हेगमा बुद्धको मूर्ति राख्न पाउनु नेपालीका लागि पनि गौरवको विषय हो नै भारतले गरेको कुप्रचारको सफल प्रमाणसमेत मान्न सकिन्छ । भारतीय विद्यालयमा पढाइ हुने पाठ्यक्रममा समेत बुद्ध भारतमा जन्मेका हुन भन्ने कुप्रचार पनि व्यापक रूपमा बढिरहेको छ । यसैले त नेपालले बाध्य भएर अन्तर्राष्ट्रिय अदालतपरिसरमा बुद्धको मूर्ति राख्नुपरेको हो ।

प्रसंग दोस्रो
नेपाल संयुक्त राष्ट्रसंघको ७२औँ सदस्य राष्ट्र हो । राष्ट्रसंघको सदस्यताका लागि नेपालले १३ फेब्रुअरी १९४९ मा निवेदन प्रस्तुत गरेको थियो । तर, १४ डिसेम्बर १९५५ मा मात्रै नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र बन्यो । हालसम्म संयुक्त राष्ट्रसंघमा १९३ राष्ट्रले सदस्यता पाएका छन् । संयुक्त राष्ट्रसंघमा सदस्यताका लागि नेपालले नेपाल भाषा अर्थात् रञ्जना लिपिमा निवेदन दिएको थियो । यसको एक मात्र कारण भनेको भारतलाई सहज गराउनु हो । भारत नेपालभन्दा अघि नै राष्ट्रसंघको सदस्य बनेको थियो । भारतले संयुक्त राष्ट्रसंघको सदस्यताका लागि हिन्दी अर्थात् देवनागरिक लिपिमा निवेदन दिएको हुँदा भारतकै दबाबमा नेपालले नेपाली भाषामा नलेखी नेपाल भाषामा निवेदन बुझाउन बाध्य भयो ।

प्रसंग तेस्रो
नेपाललाई तीनतिरबाट भारतले घेरेको छ । उत्तरतिर मात्र चीन अवस्थित छ । सायद चीनलाई आफ्नै भूभाग पर्याप्त भएर होला आफ्नो सिमानाभन्दा नेपालको एक इन्च जमिन चाहिएको छैन । तर, अर्कोे तीनतिरबाट गरी एक हजार एक सय ८५ किलोमिटर भूभाग जोडिएको छिमेकी मुलुक भारतले भने नेपालका हजारौँ हेक्टर जमिन मिचेको छ । केही प्राकृतिक रूपमै मिचिएका छन् भने केही भारतीय मनोवृत्तिले । गाडिएका जंगेपिलर उखेलेर सारिएका छन् । हजारौँ नेपाली नागरिकलाई घरबारविहीन बनाइएका छन् । क्षेत्रफलका हिसाबले नेपालभन्दा २२ गुणा ठूलो भारतलाई अझै क्षेत्रफलको अभाव भएकै होला र ? विडम्बना, १ लाख ४७ हजार १८१ वर्गकिमि क्षेत्रफल रहेको नेपाल अहिले खुम्चिँदो क्रममा छ भने नेपालभन्दा २२ गुणा ठूलो अर्थात् ३२ लाख ८७ हजार २६३ वर्गकिलोमिटर क्षेत्रफल रहेको भारत फराकिलो हुने क्रममा छ ।

‘शान्ति क्षेत्र’मा असहयोग
तत्कालीन राजा वीरेन्द्र शाहले ०३१ फागुन १३ मा नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि संयुक्त राष्ट्रसंघमा प्रस्ताव लगेका थिए । यो प्रस्तावलाई पहिला पाकिस्तान र लगत्तै चीनले समर्थन जनाएको थियो । नेपालको यो प्रस्तावलाई अहिलेसम्म ११६ राष्ट्रले समर्थन गरेका छन् । तर, भारत र भुटानले भने हालसम्म समर्थन गरेका छैनन् । यसबाट पनि भारतको नियत प्रस्टिन्छ कि ऊ नेपालमा न त शान्ति, न विकास वा राजनीतिक स्थिरता चाहन्छ । नेपालमाथि गरिने व्यवहार भुटानमाथिको व्यवहारजस्तै होस् भन्ने भारतको चाहना रहेको यो यथार्थबाट समेत बुझ्न सकिन्छ ।

बुद्ध जन्मभूमिबारे भ्रम
नेपाललाई ठूला सहयोग गरिरहेको भारतले दिनप्रतिदिन आफ्नो हेपाहा प्रवृत्ति घटाउनुको साटो बढाउँदै लगेको छ । बुद्ध नेपालमै जन्मेको घामझैँ छर्लंग भए पनि भारतमा जन्मेको भनी कुप्रचार गर्नु भारतको बदनियत प्रस्टै झल्किन्छ । नेपालीले यो त भनेका छैनन् नि बुद्धले नेपालमै ज्ञान प्राप्त गरे, महापरिनिर्माण (भौतिक शरीरको अन्त्य) गरेको स्थान नेपाल हो भनेर । बुद्ध नेपालमै जन्मेका हुन्, बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्ने कुरालाई भारतले किन गलत सावित गर्न खोज्दै छ ? विश्वभर ५.६ प्रतिशतले मान्ने बौद्ध धर्म हिन्दु धर्मबाट प्रभावित भएको मानिन्छ । हिन्दु धर्म मान्नेले पनि त यसलाई आस्थाकै रूपमा पुज्ने गरेका छन् ।
बौद्ध धर्मका चार प्रमुख तीर्थस्थल लुम्बिनी, बोधगया, सारनाथ र कुसीनगरमा लुम्बिनीबाहेक तीनवटा स्थान त भारतमै छ नि यसैको विश्वभर प्रचार गरे त भइहाल्यो नि यसलाई भने नेपालले पनि खुला हृदयले स्वागत गर्ने नै छ । तर, लुम्बिनी नै भारतमा छ, बुद्ध भारतमै जन्मिएका हुन् भनेर भारतीय पाठ्यक्रममै समावेश गरिनुलाई भारतको हेपाहा मानसिकताको उपज मान्न सकिन्छ । यस्तै भारतको बिहारमा नक्कली बुद्धजन्मस्थलको स्थान बनाउनु पनि नेपालमाथि भारतको ठाडो हस्तक्षेप मान्न सकिन्छ ।

निष्कर्ष
भारतका यी र यस्तै हेपाहा र मिचाहा प्रवृत्ति घट्नुको साटो बढ्दै गएकाले पनि नेपालीले भारतलाई असल छिमेकी मान्न सकिरहेका छैनन् । चीन पनि हाम्रो छिमेकी मुलुक हो । उसले पनि नेपाललाई विगतदेखि नै सहयोग गर्दै आएको छ । तर, सहयोग गरेकै आधारमा उसले अनावश्यक कुरामा चासो राख्नुभन्दा पनि असल छिमेकीको भूमिका निर्वाहमै मग्न रहेको छ । भारतले चीनबाट यो कुरा सिके हुन्थ्यो । चीनजस्तै नेपालको असल छिमेकी राष्ट्र बने नेपालले भारतलाई पनि सहृदयी बनाउन सक्थ्यो नि । नेपाली जनताले जति चीनलाई असल छिमेकी राष्ट्रमा दर्ज गरेका छन्, उति नै भारतलाई पनि असल छिमेकीका रूपमा हेर्न चाहन्छन् ।
शम्भु रेग्मीसाभार : नयाँ पत्रिकाबाट
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.