पछिल्ला सामग्री :
जिल्ला अस्पताल डाक्टरविहीन

सोलुखुम्बु/ जिल्ला अस्पताल फाप्लु डाक्टरविहीन हुन पुगेको छ । तीन जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा दरबन्दिका डाक्टर नभए पनि हालसम्म करारका डाक्टरले सेवा दिँदै आएका थिए ।

तर, अहिले अस्पतालमा एउटै डाक्टर पनि छैनन् । सरकारले स्वास्थ्य क्षेत्रमा खुलाएको विभिन्न पदहरूमा लोक सेवाको परीक्षा दिन र तयारी गर्न भन्दै डाक्टरहरू काठमाडांै हिँडेपछि अस्पताल डाक्टरविहीन हुन पुगेको छ ।

करारमा काम गर्दै आएका तिन जना डाक्टरमध्ये एक जना दुई महिनादेखि नै अस्पतालमा छैनन् भने अर्का एक जना तीन हप्ता अगाडि मात्र परीक्षाको तयारी गर्न भन्दै हिँडेका थिए । त्यसपछि एक जना डाक्टरले धान्दै आएको जिल्ला अस्पतालमा ४ दिन अगाडिमात्र अर्का एक जना डाक्टर पनि हिँडेपछि जिल्ला अस्पताल डाक्टर विहिन भएको हो ।

यसै पनि विकट जिल्लाका रुपमा रहेको सोलुखुम्बुमा रहेको जिल्ला अस्पतालमा डाक्टर नहुंदा जिल्लाका विभिन्न ठाउंबाट उपचारका लागि आउने विरामीहरू समस्यामा पर्ने गरेका छन । डाक्टर नभएपछि उपचार हुने आशामा अस्पताल पुगेका विरामी निराश बन्दै उपचारै नगरी फर्किने र अन्यत्र जाने बाध्यतामा पुगेका हुन ।

कतिपय विरामीको त उपचार नपाएकै कारण ज्यानै समेत जाने अबस्था देखा परेको छ । अस्पतालमा उपचार गराउन आएका विरामी डाक्टर नहुंदा राम्रो चेक जांच हुन नपाएको र हेल्थ असिस्टेण्ट र अहेबका भरमा उपचार गर्नुपर्दा उपचार प्रभावकारी नभएको बताउँछन् ।

यसरी दुई तिन दिनको बाटो हिंडेर अस्पतालमा उपचार गर्न आउँदा डाक्टरै नभएपछि विरामीका आफन्तले आक्रोश समेत पोखेका छन । जिल्लामा हाल हवाई यातायात देखि सडक यातायात समेत बन्द भएको बेलामा एक मात्र अस्पतालमा पनि डाक्टर अभावमा उपचार हुन नपाएर विरामी मर्ने अबस्था आएपछि उनिहरू आक्रोशित बनेका हुन् ।

अस्पतालमा हाल हेल्थ असिसटेण्ट , अहेब , सिएमए र स्टाफ नर्सले विरामीको स्वास्थ्य जांच , उपचार र रेखदेख गरिरहेका छन । तर डाक्टर नहुंदा उपचार गर्नमा समस्या हुने गरेको जिल्ला अस्पताल फाप्लुका सिनियर अहेब समर सिंह राई बताउछन । उनले भने, ‘डाक्टर छैनन् । सामान्य बाहेकका बिरामी हामीले उपचार गर्न सक्दैनौँ । अस्पतालमा डाक्टर नहुंदा अर्को जटिल समस्या पोस्टमार्टम लगायतका काममा परेको छ ।’

जिल्लामा शव पोस्टमार्टम गर्ने डाक्टरसमेत छैनन् । जसले गर्दा विभिन्न समस्या निम्तिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबै डाक्टर परिक्षाका लागि महिना दिन अगाडि देखि नै जाने गरेकाले यस्तो समस्या देखिएको हो । एक त दरबन्दि डाक्टर नहुनु र अर्को करारका डाक्टर सरकारी सेवामा प्रबेशका लागि गएपछि यस्तो समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदार राज पराजुलीले बताए ।

उनले डाक्टर नहुंदा समस्या उत्पन्न भए पनि अस्पतालमा भएका अन्य कर्मचारीले पनि उपचार गरिरहेको र खासै समस्या उत्पन्न नभएको बताए । डाक्टर नहुंदा उपचार नपाएरै विरामी मरेमा यस्को जिम्मेवार कस्ले लिने भन्ने प्रश्नमा प्रमुख पराजुलीले यो अवस्था आउन नदिन स्वास्थ्य मन्त्रालयमा अग्रिम पत्राचार गरे पनि सरकारले ध्यान नदिएको बताए ।

उनले अहिले देशैभरका डाक्टर परिक्षामा केन्द्रित रहेकाले विकल्पमा पनि कोही डाक्टर ल्याउन सक्ने अबस्था नरहेको बताए । पराजुलीले केहि समयको लागि जिल्ला बासीलाई उपचारमा समस्या रहेकाले सोही अनुसार ब्यबस्था गर्न समेत अनुरोध गरेका छन ।

सोलुखुम्बु जिल्ला आफैंमा विकट जिल्ला भएपनि अब त जिल्ला अस्पतालमा डाक्टर समेत नभएपछि झनै विकटमाथिको पनि विकट बन्न पुगेको छ । एकातिर डाक्टर अभावमा विरामीको ज्यानै जाने अबस्था छ भने अर्को तिर सोलुखुम्बुमा हवाई देखि सडक यातायात समेत बन्द हुंदा झनै गाह्रो भएको छ । यसले गर्दा सोलुखुम्बुमा जटिल किसिमका विरामीहरू एपचार अभावकै कारण मृत्युबरण गर्नु पर्ने बाध्यतामा रहेका छन् ।
साभार : नेपालवाणीबाट
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.