पछिल्ला सामग्री :
निर्वाचनले निर्माण गरेको अवसर (रामचन्द्र लामिछाने)

सर्वप्रथम त व्यापक जनताको अपार समर्थन पाएर देशको भविष्य निर्माणजस्तो गरिमामय जिम्मेवारीको लागि सभासद्जस्तो गरिमामय पदमा निर्वाचित हुन सफल हुनुभएकोमा सबै माननीय सभासद्लाई हार्दिक बधाई तथा शुभकामना † अनेकौँ आशंका र चुनौतीका बाबजुद संविधानसभाको निर्वाचनले नेपाली निर्वाचनकै इतिहासमा नयाँ कीर्तिमान कायम गरेर सम्पन्न भएको छ र सबै नेपालीका सामु नयाँ नेपाल निर्माणका लागि अथाह सम्भावनाका ढोका खोलिदिएको छ । अब नेपाली जनताले आशा र भरोसा गरेर आफ्नो अमूल्य मत दिएर निर्वाचित गरेका जनप्रतिनिधिले आफ्नो विजयलाई दाम कमाउने अवसरको रूपमा प्रयोग नगरी नयाँ सामाजिक संस्कार, संस्कृति, मूल्य र मान्यताका निर्माण गर्ने माहान् अवसरको रूपमा प्रयोग गरी समाजको सकारात्मक रुपान्तरण गर्न सक्षम र योग्य प्रतिनिधिको रूपमा प्रस्तुत गर्ने सुअवसरको रूपमा लिनुपर्छ । नेपाली जनता पुराना सामन्ती संस्कारमा आधारित सामाजिक सम्बन्ध, मूल्यमान्यता र परम्पराको अन्त गरी समावेशी र सहभागितामूलक पहिचान र आत्मसम्मानसहितको नयाँ सामाजिक संरचनाको निर्माण गर्न कति लालायित छन् भन्ने कुराको प्रमाण यसपटक जनताले निर्वाचनमा देखाएको सहभागिता र छनोट गरेका राजनीतिक पार्टीको आकारबाट प्रमाणित हुन्छ ।

निर्वाचनदेखि आजका दिनसम्म पनि निर्वाचनको हार र जितका बारेमा व्याख्या, विश्लेषण भइरहेको हुँदा यस आलेखमा कुन राजनीतिक पार्टीले के कारणले जित हासिल गर्‍यो र के कारणले हार्‍यो भन्नेबारे व्याख्या गरिनेछैन । यहाँ त केवल यस निर्वाचनले सिर्जना गराएका अवसरका बारेमा व्याख्या र विश्लेषण गर्ने प्रयास गरिनेछ । यदि २००७ साल र २०७० सालको सामाजिक संरचना, मूल्य मान्यता र प्राविधि तथा सूचनाको उपयोग र यसले ल्याएको परिवर्तनको लेखाजोखा गर्ने हो भने तत्कालीन अवस्थामा परिकल्पना पनि नगरको परिवर्तन यस समाजमा भएका छन् र हाम्रो दैनिक जीवनका अभिन्न अंग भएका छन् । त्यसैगरी आजको मितिमा सोच्नसमेत नसकिएका कुरा भोलिका दिनमा यस समाजमा हामीलाई उपलब्ध हुन सक्छन्, त्यसकारण सोहीअनुरूप हाम्रा सोच र कार्यशैली तय गर्न जरुरी छ । अब हिजो हामी किन पछाडि पर्‍यौँ भन्ने कुराको व्याख्या र विश्लेषण गर्न लाग्याँै भने हामीले हिजोका गलत कुरा आज सच्याउन सक्दैनौँ र हिजोका गल्ती वा कमजोरी सच्याएर नयाँ समाजको निर्माण गर्न पनि सक्दैनौँ । वा भनौँ अगाडि बढ्ने मानिसले पछाडि हेर्न थाल्यो भने अगाडिको बाटो देख्दैन र यथास्थितिबाट अगाडि बढ्न सक्दैन ।

हामीले हिजोका दिनमा गरेका प्रगति र सफलताका कारण केके थिए र केके तत्त्वले ती सफलता प्राप्त गर्न प्रमुख भूमिका खेलेका थिए र के कसरी हामी त्यस्ता तत्त्वलाई अत्यधिक रूपमा बढाउन सक्छाँै भन्ने कुराको लेखाजोखा गर्न जरुरी छ । आज हरेक नेपाली जनताले आत्मसम्मानसहितको सामाजिक संरचना र सामाजिक सम्बन्धहरूको निर्माण गर्न चाहिरहेका छन् र त्यसका लागि जनताले आफ्ना भावना र आकांक्षा पूरा गर्न आफ्ना प्रतिनिधिको छनोट गरेका छन् । जनताले भोट जोसुकै र जुनसुकै पार्टीलाई हाले पनि दैनिक जीवनयापनका आधारभूत आवश्यकता, चुनौती र अवसर समान छन्, त्यसकारण आफ्ना जनप्रतिनिधिले सहज जीवनयापनका लागि प्रभावकारी भूमिका खेलून् भन्ने स्वाभाविक चाहना राख्छन् । जनताको दयनीय अवस्थामा सकारात्मक सुधार ल्याउनु भनेको कुनै एक व्यक्ति वा एक दलको प्रयास मात्रैले हुँदैन । देशका सम्पूर्ण स्रोत र साधनलाई संयोजनकारी रूपमा वैज्ञानिक उपयोगसहितको सामूहिक प्रयासले मात्रै सम्भव छ र यसका लागि सबैसँग समन्वय गरेर जनप्रतिनिधिले नेतृत्वदायी रूपमा उदाहरणीय भूमिका खेल्न जरुरी छ ।

तर, अहिले छनोट गरिएका प्रतिनिधिले पनि विगतमा जस्तै व्यक्तिगत लोभ लालच, पार्टीगत स्वार्थ, सीमित जातीय, लिंगीय वा क्षेत्रीय घेराभित्र सीमित रहेर आफ्नो भूमिका खोज्ने प्रवृत्तिले निरन्तरता पायो भने फेरि पनि यसपालिको निर्वाचनको परिणामले कुनै पनि परिवर्तन आउन सक्दैन । त्यसकारण निर्वाचित प्रतिनिधिले आफूलाई स्वमूल्यांकन गर्न आवश्यक छ र नयाँ भूमिकामा जानुभन्दा पहिला आफूले आफूलाई केही प्रश्न गर्नु जरुरी छ र त्यसको उत्तर आफूबाट प्राप्त गर्नुपर्छ । के अहिले आफूसँग भएको सोच, क्षमता, योग्यता र ज्ञानको स्तरले नयाँ भूमिका खेल्न सम्भव छ त ? अहिलेका जनताको प्रतिनिधिले सिंगो समाजका लागि नयाँ सोच, ज्ञान, क्षमताको विकास गर्न सक्नुपर्छ । गणतान्त्रिक लोकतन्त्रलाई सुदृढ बनाउन सबै जनप्रतिनिधि देश र जनताप्रति उत्तरदायी हुनुपर्छ र उनीहरूले गर्ने सकारात्मक वा नकारात्मक दुवै कामको जिम्मेवारी सम्बन्धित राजनीतिक पार्टीले नै लिनुपर्छ ।

सरकारले पार्टी चलाउने परम्पराको अन्त गर्दै सरकारमा को जाने र नजाने भन्ने कुराको निर्णय पार्टीमा संस्थागत तवरले गर्नुपर्छ र इमानदारीता, योग्यता, क्षमताको आधारमा जिम्मेवारी दिने परम्पराको संस्थागत परिपाटी बसाल्नुपर्छ । पार्टीले सरकार सञ्चालन गर्ने परम्पराको थलानी गर्नुपर्छ र सरकारले गरेका गलत र सही कामको नैतिक जिम्मेवारीको भगिदारी पार्टीको गाउँ कमिटीदेखि साधारण सदस्यसमेतले लिने परम्पराको विकास गर्नुपर्छ भने सरकारको आडमा पार्टीका कार्यकर्ताले गर्ने गुन्डागर्दी, बलमिच्याइँ र कानुनी उपहासलाई दण्डनीय बनाउनुपर्छ र त्यस्ता कार्यलाई सामाजिक अपराधको दर्जामा राखेर कडा कारबाही गर्न सक्नुपर्छ । जनप्रतिधिनिधिले भ्रष्टाचारी र कुनै पनि अपराधीको पक्षबाट सिफारिस गर्न नहुने यदि त्यस्तो पाइएमा सभासद्को पदबाट बर्खास्त गर्ने कडा नियम पार्टीले बनाउनुपर्छ । पार्टीका स्थानीय पार्टी कमिटीले स्थानीयस्तरमा सुशासनको प्रत्याभूति दिलाउन उदाहरणीय काम गर्नुपर्छ भने सार्वजनिक निकायमा हुने चरम राजनीतिक हस्तक्षेपलाई नियन्त्रण गरी शून्य राजनीतिक हस्तक्षेपको अवस्थामा पुर्‍याउनुपर्छ । विशेषत: ग्रामीण इलाकामा सरकारी तथा गैरसरकारी निकायबाट प्रदान गरिने गुणस्तरहीन सेवामा आमूल परिवर्तन गर्न प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ ।

अब संविधानसभाको नियमित क्रियाकलाप सुरु हुनुभन्दा पहिला सबै राजनीतिक पार्टीले आफ्ना सभासद्लाई आफ्ना काम, कर्तव्य र अधिकारसहित नयाँ सोच र सकारात्मक भूमिका निर्वाह कसरी गर्न सकिन्छ भन्ने कुरामा प्रशिक्षित गराई सकारात्मक सोचसहित जिम्मेवार र जवाफदेहीताका लागि सक्षम बनाउनुपर्छ । देशमा मुख्य कानुन केके छन् र के कसरी कानुनको पालना गर्ने र कानुन र व्यवस्थाप्रति सर्वसाधारणको विश्वास र भरोसा बढाउन माननीय सभासद्को भूमिका के कस्तो हुन सक्छ भन्ने कुरा पनि पूर्ण रूपले प्रशिक्षित गराउनुपर्छ । मुख्यत: सबै राजनीतिक पार्टीमा आबद्ध सभासद्को सकारात्मक भूमिकाले मात्रै सकारात्मक परिणाम ल्याउने हुँदा व्यक्तिको सकारात्मक रूपान्तरण नै देशको सकारात्मक रूपान्तरणको पहिलो सर्त हो भन्ने कुराको मनन गरी सोहीमुताबिकको भूमिका निर्वाह गर्न चाहना बढोस् भन्ने शुभकामना ।

लामिछाने अधिवक्ता हुन्
साभार : नयाँ पत्रिका दैनिक
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.