पछिल्ला सामग्री :
आदेश छाँट्ने प्रवृतिले शैक्षिक क्षेत्रमा सुधार नभएको गुनासो

फिदिम/ विगतमा हाकीमहरू कार्यालयमै बसेर आदेश छाँट्ने प्रवृतिले जिल्लाको शैक्षिक क्षेत्रको अपेक्षकृत सुधार हुन नसकेको सरोकारवालाले बताएका छन्।
पाँचथरको पौवासार्तापस्थित जलसिंह माविमा बुधवार आयोजीत विद्यालयको शैक्षिक अवस्था सुधार र सरोकारवालाको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो कुरा वताएका हुन्। 
 
कार्यक्रममा बोल्दै जलसिंह माविका शिक्षक अभिभावक संघका अध्यक्ष देवेन्द्र राईले यस अगाडिका जिल्ला शिक्षा अधिकारीहरू कार्यालयमै बसेर आदेश छाँट्ने गरेको तर यस पटक भने जिल्ला शिक्षा अधिकारी विद्यालय–विद्यालयमा पुगेर शिक्षक विद्यार्थी अभिभावक व्यवस्थापन समिति र सरोकार वालाहरुसँग अन्तक्रिया तथा शैक्षिक सुधारमा लागेकोले शिक्षाको गुणस्तरमा  अभिवृद्धि भएको वताए।
 
विद्यालय क्षेत्रको सुधार गर्ने सवाल चानचुने नभएको भन्दै राईले प्राथमिक तहमाभन्दा मावि तहमा विद्यार्थीको गुणस्तर खस्केकोमा चिन्ता व्यक्त गरेका थिए।
 
अर्का बक्ता तथा जलसिंह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम आचार्यले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दा आइपर्ने जस्तोसुकै चुनोति व्यहोर्न आफूहरू तयार रहेको भन्दै आफ्ना सन्ततिको भविश्य निर्धारणको लागी बन्द हड्ताल जस्ता पश्चागामि कार्यलाई सदाका लागी बन्द गर्नु पर्ने बताए।
 
त्यस्तै पौवासार्ताप उच्च माविका शिक्षक अभिभावक संघका अध्यक्ष राजेश नेम्वाङले विद्यालय व्यवस्थापन समितिले आफूहरुको अधिकारलाई पूर्ण रुपमा प्रयोग गर्ने वातावरण सृजना हुनुपर्ने र अनियमितता गर्नेलाई दया माया नगरी नियमन निकाय समक्ष पुर्‍याउनु पर्ने धारणा राखेका थिए।
 
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल ,जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिसहित गाविसका ५ वटै विद्यालयका प्रधानाध्यापक, महिला शिक्षक , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका अध्यक्ष श्रोतव्यक्तिलगायत सरोकारवालाको उपस्थिति रहेको थियो।
 
भेलाले पौवासार्ताप गाविसलाई विद्यालय शान्ति क्षेत्र घोषणा गर्दै विद्यालय हाताभित्र कुनैपनि राजनीतिक गतिविधि  गर्न नपाउने, गाविसको समग्र शैक्षिक गुणस्तर र उपलव्धि हासिल गर्नका लागी सरोकारवालाबीच सम्वन्वय र सहकार्य गर्दै विद्यार्थीलाई विद्यालयमा नियमित गराउने ,पाठ्यक्रममा आधारित शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने गराउने, विद्यालयको नियमित अनुगमनको लागि एक समिति निर्माण गरी परिचालन गर्ने गराउने, विद्यालमा शिक्षण सामाग्रीको व्यवस्थापन र घरमा शैक्षिक वातावरण निर्माणमा सघाउ पुर्याउने, वाल वालिकाको समग्र शैक्षिक वातावरण निर्माणमा आमाहरुको महत्वपूर्ण भूमिका रहने भएकोले आमा समूह निर्माण गरी परिचालन गर्ने साथै आगामि शैक्षिक सत्रमा विद्यमान सिकाई उपलव्धिमा उल्लेखनिय प्रगति गर्ने निर्णय भएको छ। 
 
कार्यक्रममा बोल्दै जिशिअ नेपालले जिल्लाको शैक्षिकस्तर अभिवृद्धिका लागि आइपर्ने चुनौतिको सामना गर्ने बताउँदै शिक्षकहरू विद्यालयमा नियमित भए नभएकेा अनुगमन मात्र होईन व्यवस्थापन समितिको सम्पूर्ण अधिकार प्रयोग गरी त्यसको जानकारी जिल्ला शिक्षा कार्यालयमा पठाई शिक्षा क्षेत्रको सुदृढिकरणमा सघाउन सबैलाई आग्रह गर्दै त्यसो गरेमा मात्र असल नागरिक ठहर्ने बताए।
 
जिशिअ नेपालले बालबालिकाको भविश्य बर्बाद पार्ने व्यक्ति अपराधि भएको भन्दै बालबालिकाको भविश्य बर्बाद गर्ने अधिकार कसैलाई नभएको र तिनलाई कसैले छोड्नु नहुनेमा जोड दिएका थिए।
 
योसँगै पाँचथरका ४५ विद्यालयहरुमा विद्यालय शान्ति क्षेत्र घोषणा भईसकेका छन्।
 
सोमवार नांगीन श्रोतकेन्द्र अन्तर्गत नांगीन र लुङरुपाका २५ विद्यालय  तथा मंगलवार रानिटार गविसका १५  विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेका र निरन्तर जिल्लाका सबै विद्यालयहरु शान्ति क्षेत्र घोषणा गरीनेसमेत जिशिअ नेपालले जानकारी गराए।

समाचार, तस्वीर साभार : सेतोपाटीबाट
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.