पछिल्ला सामग्री :
वार्तामा आउन कोइरालाको आग्रह

काठमाडौं/ नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आन्दोलनरत नेकपा–माओवादीलगायतका दलहरूलाई एक हप्ताभित्र वार्तामा आउन आग्रह गर्नुभएको छ ।

देशको जटिल राजनीतिक समस्या समाधानका लागी वार्ताको विकल्प नभएको भन्दै उहाँले माओबादी वार्तामा नआए पनि निर्वाचन भने नरोकिने बताउनुभयो ।

६ दिने लामो भारत भ्रमणमा जानुअघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग सभापति कोइरालाले भन्नुभयो–एक साताभित्र वार्तामा आउन माओबादीलाई मेरो सकारात्मक अल्टिमेटम छ नत्र माओबादीलाई पर्खेर चुनाव स्थगित गर्न सकिन्न ।

भारत सरकारको औपचारिक निमन्त्रणमा सभापति कोइराला आज भारत भ्रमणमा जानुभएको हो । सभापति कोइरालासंग महामन्त्रीहरू प्रकाशमान सिँह र कृष्ण प्रसाद सिटौला पनि भारत जानुभएको छ । एयर इण्डियाको बिमानबाट सभापति कोइराला नयाँ दिल्ली प्रस्थान गर्नु भएको हो ।

भ्रमण सकेर सभापति कोइराला साउन २५ गते नेपाल फर्कनु हुने छ । भ्रमणमा जानु अघि महामन्त्री प्रकाशमान सिँहले नेपालवाणी नेटवर्कसँग आगामी संविधानसभा निर्वाचन र दुईदेशवीचको हितको विषयमा छलफल हुने बताउनुभएको थियो ।

भारतमा रहँदा कोईरालाले प्रधानमन्त्री मनमोहन सिंह, कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाई, नेपाल सोलिड्यारिटी सोसाइटीका अध्यक्ष डिपी त्रिपाठीलगायत उच्च पदस्थ अधिकारीहरूसँग भेटबार्ता गर्ने कार्यक्रम छ ।

दिल्लीको भेटघाटपछि कोइराला उत्तर प्रदेश र बिहार पनि जाने कार्यक्रम छ । कोइराला सभापतिमा निर्वाचित भएपछि पहिलोपटक औपचारिक भारत भ्रमणमा जान लाग्नुभएको हो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.