पछिल्ला सामग्री :
सन्ध्याका बुद्ध अनुहार

काठमाडौ/ 'बुद्ध नेपालमै जन्मेका हुन्' भन्ने पुष्टि गराउने अनेकौं अभियानहरू चलिरहेका छन् । अमेरिकाबाट आएर रमित ढुंगानाले 'बुद्ध बर्न इन नेपाल' भनेर फिल्म नै बनाएका छन्, सञ्चारकर्मी रवि लामिछाने विश्वभर नै अभियान पुर्‍याउने दौडमा छन् । चित्रकार सन्ध्या रेग्मीले भने अलिक फरक काम गरेकी छन् । 'बुद्धका अनुहारहरू' शीर्षकको उनको एकल कला प्रदर्शनी नियाल्न बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा पुग्नुभयो भने धेरै प्रश्नका सिर्जनात्मक जवाफ भेट्टाउनुहुनेछ ।

पेसाले उनी इन्जिनियर हुन् र भियतनाममा कार्यरत छिन् । तर उनले यो बीचमा जुन पेसागत यात्रा गरिन्, त्यसले उनलाई कलाकारको छविमा उभ्याइदियो र यतिबेला उनले कोरेका बुद्धका सेमी एब्स्ट्रयाक अनुहारहरू बोधिज्ञान, सिद्धान्त र दर्शनको गहनता बोकेर ग्यालरीमा भित्तामा बहस गर्न आएका छन् । सिंगापुर, भियतनाम र नेपालमा कलाका कोर्स गरेका उनले चित्रमार्फत भनेकी छन्- बुद्ध सर्वत्र छन् र बुद्धको ज्ञानलाई कुनै पनि देशको सिमाना र राष्ट्रियताले छेक्न सक्दैन ।

'कम्बोडिया, थाइल्यान्ड, जापान लगायत बुद्धधर्म मान्ने थुप्रै देश घुमें,' हालैको दिन ग्यालरीमा भेटिएकी उनले सुनाइन्, 'जहाँजहाँ पुगें, त्यहाँका हरेक बौद्ध धर्मालम्बीहरूले बुद्ध हाम्रा हुन् भने । र, बुद्धप्रति उनीहरूको विशाल आस्था पनि भेट्टाएँ ।' बुद्धको दर्शनको उच्चतामा पुगेर महसुस गर्दा सबैतिर बुद्ध नै बुद्ध पाउने दाबी गर्दै उनले सत्कर्म, त्याग र महानता देखाउन सके हामी स्वयं पनि बुद्ध हुने धारणा सुनाइन् । 'बुद्ध लुम्बिनीमै जन्मेका हुन् भन्ने सत्य हो । सत्यलाई बारम्बार पुष्टि गरिरहनु पर्दैन,' उनले भनिन्, 'बरु यो जोस र जाँगर बुद्धबारे किताब लेख्ने, फिल्म बनाउनेजस्ता सिर्जनात्मक कार्यमा लगाउनुपर्छ । मुख्य कुरा बुद्ध कहाँ जन्मे भन्दा पनि बुद्धको ज्ञानको अनुशरण गर्न महत्त्वपूर्ण हो ।'

यही मान्यतामा टेकेर कलाकर्म गर्नेबेला उनले हाम्रै समाजभित्र थुप्रै बुद्धहरू भेट्टाएकी छन् । तैल र मिक्स मिडियामा सजिएका चित्रहरूको लस्करमा बुद्धका अनुहार मात्रै हैन, महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखिका झमककुमारी घिमिरेदेखि जीवित र त्यागी भिक्षुहरूको समेत प्रोट्रेट हेर्न सकिन्छ । 'क्यान्सरले पीडित भइन्जेलसम्म पनि देवकोटाले कविता लेखिरहे,' उनले सुनाइन्, 'यो एउटा ठूलो र महान् तपस्या थियो । उनको साहित्यिक तपस्या व्यक्तिगत स्वार्थ र सांसारिकताभन्दा निकै माथि छ, यसकारण मैले उनमा पनि बुद्ध भेट्टाएँ ।'

बुद्धको थिममा चित्र कोरिरहेकै बेला एक दिन सन्ध्याको हातमा झमककुमारीको आत्मकथा 'जीवन काँडा कि फूल' पर्‍यो । पढ्दै जाँदा किताबमा सन्ध्याले झमकभित्र थुप्रै विद्रोह र असन्तुष्टि रहेको थाहा पाइन् । 'हो, उनीभित्र आगो पाएँ,' सन्ध्याले भनिन्, 'तर उनले यो शक्तिलाई सकारात्मक रूपले प्रयोग गरिन् र सिर्जनात्मक कार्यको रूपमा किताब लेखिन् । नेपाली साहित्यमा उनी अहिले जसरी ध्यानमग्न छिन्, यो व्यक्तिगत स्वार्थभन्दा निकै माथि छ । त्यसकारण उनलाई पनि बुद्धकै रूपमा उतारें ।'

यसअघि छरिएको थिममा एकल प्रदर्शनी गरेकी सन्ध्या यसपटक बुद्धकै थिममा केन्दि्रत भएकी हुन्, तर उनले कोरेकी बुद्धका अनुहारमा थुप्रै विविधता पाइन्छ । लेडी बुद्धदेखि बेबी बुद्धसम्म उनले उतारेकी छन् । बुद्धलाई स्त्री अनुहार र टीकामा उतारेकी उनले यसलाई युवतीहरूको निश्छलताको प्रतीक मानेकी छन् । 'हरेक बच्चाका अनुहार छलकपटरहित देखिन्छ,' उनले भनिन्, 'त्यसकारण बच्चाको अनुहारमा पनि कुनै नै कुनै रूपमा बुद्धलाई देख्न सकिन्छ ।' यी थिमका बुद्ध अनुहारहरू प्रदर्शनीको दोस्रो दिनमै बिक्री भइसकेका छन् । तिनवटा चित्रलाई अमेरिकी नागरिकले तीन लाख रुपैयाँ हालेका छन् भने एउटा चित्रलाई नेपालीले ७५ हजार । यो रकमबाट लुम्बिनी लगायत बुद्धसँग जोडिएको थलो घुम्ने र अर्को कलाकर्म गर्ने उनको योजना छ ।

ग्यालरीमा उनले कम्बोडियामा भेटिएका ब्रम्हा आकारको तीनटाउके बुद्धलाई पनि उभ्याएका छन् । १२ औं शताब्दीमा सम्राट जयबर्द्धनको पालामा बनेको हिन्दु मूर्ति कालान्तरमा बौद्ध प्रभावका कारण कालिगडले त्यसलाई कसरी बुद्धको स्वरूपमा ढाले भन्ने सन्दर्भ यो चित्रले प्रस्ट्याउँछ । शैलीमा पनि यसपटक उनले धेरै नयाँ काम गरेकी छन् । क्यानभासमा कलर स्ट्रोकहरू लोभलाग्दा देखिन्छन् । ब्रस मात्रै हैन, चक्कु समेत प्रयोग गरेर उनले स्ट्रोक सिर्जना गरेकी छन् । अनुहारमै विभिन्न भाषामा बौद्ध मन्त्र र अक्षरहरू कोरेका छन् । यो उनको सातौं एकल प्रदर्शनी हो । दर्जनौं मुलुक घुमेका उनले आधा दर्जन सम्मान पाइसकेका छन् । प्रदर्शनी आइतबारसम्म जारी रहनेछ ।

- कान्तिपुरबाट
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.